सात गाउँपालिका र दुई नगरपालिका रहेको प्यूठान जिल्लामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ। दुई ठाउँ पुरानै अनुहार दोहरिएका छन् ।
ऐरावतीमा कांग्रेसका शाह निर्वाचित
सार्वजनिक भएका मत परिणाम अनुसार प्यूठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नविल विक्रम शाह निर्वाचित भएका छन्। शाहले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई पराजित गरेका हुन्।
शाहले ४ हजार ६ सय ६९ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी माओवादीका बस्नेतले २ हजार ६ सय ५० मत प्राप्त गरेका थिए। यहाँ नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार स्यामबहादुर थापाले १ हजार ५ सय ८६ मत प्राप्त गरेका थिए।
गाउँपालिका अध्यक्षमा निर्वाचित शाहको यो दोस्रो कार्यकाल हो।
यहाँ नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।
गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६ सय ४७ मत प्राप्त गरि निर्वाचित भएका छन्। सोही पदमा स्वतन्त्र उम्मेदवार टिकाबहादुर गुरूङले १ हजार ७ सय २१ मत र एमालेकी कमला कुमारी ज्ञवालीले १ हजार ५ सय ४७ मत प्राप्त गरेकी थिइन्।
मल्लरानीको अध्यक्षमा राजमोका खड्का
जिल्लाको मलारानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा पनि यहाँ राजमोले नै जितेको थियो। अहिले भने यहाँ नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बिचमा चुनावी तालमेल भएको थियो।
खड्काले ३ हजार २ सय ३८ मत प्राप्त गरि गाउँपालिका अध्यक्ष जितेका हुन्। यहाँ नेकपा एमालेका शिवराज श्रेष्ठले २ हजार ८ सय २ मत प्राप्त गरेका थिए।
यो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार श्रेष्ठ ३ हजार ७० मत प्राप्त गरि विजयी भएका छन्। प्रतिष्पर्धी नेकपा एमालेकी ईश्वरा आचार्यले २८०० मत प्राप्त गरेकी थिइन ।
यो गाउँपालिकामा ५ वडामध्ये ४ वडा गठबन्धन दल र १ वडा ३ नम्बर एमालेले जितेको छ ।
सरूमारानीमा एमालेका विश्वकर्मा निर्वाचित
जिल्लाको सरुमारानी गाउँपालिका अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा ४ हजार २ सय ८० मत प्राप्त गरि निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो।
गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका मुकुन्दराज शर्माले ४ हजार १ सय ४ मत प्राप्त गरेका थिए।
यहाँ गाउँपालिका उपाध्यक्षमा पनि एमाले कै उम्मेदवार वसन्ता खड्का निर्वाचित भएकी छन्। खड्का ४ हजार ३ सय ९४ मत प्राप्त गरि निर्वाचति भएकी हुन ।
गठबन्धनका गुप्तबहादुर रानाले ३ हजार ९ सय ४७ मत प्राप्त गरे। यो गाउँपालिकामा चार वडा एमाले जितेको छ ।