मतदाता शिक्षामा भएको खेलाँची, दलहरूबीच गठबन्धन हुँदाको बहुरंगी चुनाव चिन्ह र कार्यकर्ता तहमा आफ्नै दलप्रतिको आक्रोश जस्ता कारणले स्थानीय तह निर्वाचनमा बदर मतको संख्या बढेको बढ्यै छ।
विराटनगर महानगरमा बदर मतको समस्या यसपटक पनि उही शैलीमा दोहोरिएको छ जसरी २०७४ को स्थानीय तहको निर्वाचनमा मत बदर भएको थियो।
अघिल्लो निर्वाचनमा २४.०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिले जारी मतगणनामा मेयर पदमा ३१.४८ र उपमेयरको ४४.१२ प्रतिशत मत बदर भएको छ।
महानगरमा सोमबार दिउँसो २ बजेसम्म १६ हजार ३४४ मत गणना हुँदा मेयर पदमा ५ हजार १४६ र उपमेयर पदमा ७ हजार २११ म बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार मेयर पदमा सबैभन्दा धेरै विराटनगर १७ को मत बदर भएको छ।
विराटनगर १७ मा १ हजार ७०१ मत, विराटनगर १ मा ५५४, २ मा ३०१, १६ मा ७५६, १८ मा ९८१ र १९ मा ८५३ मत बदर भएको छ। यस्तै उपमेयर पदमा विराटनगर १७ मा १ हजार ७६१, विराटनगर १ मा ९५६, विराटनगर २ मा ५३५, विराटनगर १६ मा १ हजार १०२, विराटनगर १८ मा १ हजार ३१६ र विराटनगर १९ मा १ हजार ५३८ मत बदर भएको छ।
सोमबार विराटनगर महानगरपालिकाको १६, १७ र १९ वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ। विराटनगर १६ मा वडाअध्यक्ष पदमा २६७ मत, १७ मा २५४ र विराटनगर १९ नं। वडामा ३०८ मत बदर भएको सूचना अधिकारी बुढाथोकीले बताए।
महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७।३५ प्रतिशत अर्थात ८९ हजार ६७८ मत खसेको छ। अघिल्लो निर्वाचनमा महानगरमा ८० हजार ६८९ मत खसेको थियो। त्यसमध्ये मेयरमा १९ हजार ४ सय १९ मत बदर भएको थियो।
विराटनगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन्। यस्तै नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार छन्।
जसपा परित्याग गरी स्वतन्त्रबाट उमेश यादव मेयरमा र माओवादी परित्याग गरी नमिता न्यौपाने उपमेयरको उम्मेदवार भएकी छन्। धेरै मत उनीहरूको चिन्हमा बदर भएको छ। लालटिन चिन्ह लिएर उम्मेदवार भएका उनीहरूलाई मत दिनेले सो पदमा पार्टीको चिन्हमा पनि मत दिएकोले बदर भएको हो।
मतदाता शिक्षा प्रभावकारी नहुँदा मत खासाल्ने बेला मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढेको हो। निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन नगर्दा बदर मत सबैतिर बढेको पाइएको छ। ‘मतदाता शिक्षा कमजोर छ’, अघिल्लो र यसपटक दुवैपटक बदर मतको मारमा परेका मेयर उम्मेद्वार उमेश यादव भन्छन् ‘यसबाहेक गठबन्धनले गर्दा पनि समस्या भएको छ। अर्को कुरा रिसाएका कार्यकर्ताले पनि मत बदर गर्ने ट्रेन्ड देखिएको छ।’
पार्टीले महानगरमान काँग्रेससँग गठबन्धन गरेर आफूलार्इै अन्याय गरेको भन्दै दल त्यागेर स्वतन्त्र बनेका यादवले भने झैं रिसाएका कार्यकर्ताहरूले मत बदर गर्ने पूर्व घोषणा नै गरेका थिए। निर्वाचन अघि मतदाताहरूको कुरा सुन्दै सेतोपाटी टिम घरघरै विराटनगरको दक्षिणी क्षेत्रका केही मतदाताले आफ्नो मत बदर जाने बताएका थिए।
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले महानगरमा छोरालाई उपमेयरको टिकट दिएको आक्रोशमा रहेका विराटनगर १८ का २७ वर्षे प्रकाश यादवले भनेका थिए ‘पार्टीभन्दा बाहिर जान सक्दिनँ। तर, म यसपटक मेरो मत बदर बनाउँछु। पार्टीले गरेको गल्तीको सवक सिकाउन।’
यसबाहेक मत उपयोगहीन हुने अर्को अवस्था पनि देखिएको छ। गठबन्धनका उम्मेद्वारहरूलाई मतदाताले छानिछानि मत दिन नजान्दा मत बदर हुने जोखिम बढेपछि धेरैजसो गठबन्धनका वडाध्यक्षले एकै लहरको चिन्हमा मतदान गर्न सिकाएको पनि पाइएको छ। ‘उपमेयरमा छातामा मत दिनुपर्ने ठाउँमा रुखमा दिएको धेरै पाइएको छ’, जनता समाजवादी दलका एक नेताले भने ‘यसले हाम्रो मत घटेको छ। यो वडाध्यक्षहरूले आफ्नो मत नबिगार्न गरेको चलाखी हो।’
रुखमा मात्रै होइन, उम्मेद्वार नै नभएका चिन्हमा धेरै मत परेको पाइएको छ। काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूका उम्मेद्वार नै नभएको चिन्हमा मत परेको भेटिएको गणनामा खटिने कार्यकर्ताहरू बताउँछन्।
अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेश १ का सबै पालिकामा औसतमा ६.४४ प्रतिशत मत बदर भएको थियो।