कीर्तिपुर भन्नसाथ कम्युनिष्टहरूको किल्लाको रूपमै लिइन्छ। कीर्तिपुरको विगतलाई हेर्ने हो भने त्यस्तै पनि देखिन्छ। तर यो किल्लालाई यसपटक नेपाली कांग्रेसले भत्काएको छ। कीर्तिपुरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी मेयर निर्वाचित भएका छन्। उनी अघिल्लो पटक पराजित भएका थिए।
उपमेयरमा रूख चिन्ह लिएर निर्वाचन लडेकी जसपाकी शुभलक्ष्मी शाक्यले जितेकी छन्। कीर्तिपुरमा कांग्रेस र जसपाबिच चुनावी तालमेल थियो। जसपाको पकड धेरै नभएकाले कीर्तिपुर कांग्रेसकै बलबुतामा जितेको भन्ने प्रष्ट हुन्छ।
यस अर्थमा कांग्रेसले कीर्तिपुरमा कम्युनिष्टको किल्ला भत्काएको मात्रै छैन, कीर्तिपुरका १० मध्ये ९ ओटा वडामा जितेको छ। कीर्तिपुरको वडा नम्बर ४ स्वतन्त्र उम्मेदवारले जितेका छन्।
२०७४ मा नेकपा एमालेका रमेश महर्जन मेयर र सरस्वती रिजाल उपमेयरमा निर्वाचित भएका थिए। एमालेले ७ ओटा वडा समेत जितेको थियो। तर यसपटक एमालेले कुनै पनि वडामा जितेको छैन।
२०५४ सालमा समेत कीर्तिपुर नगरपालिकामा एमालेले जितेको थियो। त्यो बेला हिराकाजी महर्जन मेयर बनेका थिए।
कीर्तिपुर २०५३मा नगरपालिका घोषणा भएको हो। बाहिरी गाउँ,पालीफल,लायकु, चिठुबिहार, पाङगा विष्णुदेवी,पाङ्गा बालकुमारी, चम्पादेवी र चोभार गरी ८ ओटा गाविसलाई गाभेर नगरपालिका बनाइएको थियो। २०४९ को स्थानीय निर्वाचनमा कांग्रेसले लायकु र चम्पादेवी गाविस मात्रै जितेको थियो। अहिलेको कीर्तिपुरको मुख्य क्षेत्र एमालेले नै जितेको थियो।
कीर्तिपुर यस्तो ठाँउ हो, जुन ठाउँबाट २०४८ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले निर्वाचन जितेका थिए। २०६४ को पहिलो संविधासभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। २०७० मा भने उनलाई कांग्रेसका राजेन्द्र केसीले हराएका थिए। २०७४ मा समेत केसी नै निर्वाचित भए।
कीर्तिपुरमा मेयर जितेपछि नकर्मीले जनताले परिवर्तन र विकासलाई संस्थागत गर्न चाहेको बताए।
'यो क्रान्तिकारीहरूको ठाउँ हो। यहाँका जनता परिवर्तन चाहन्छन्। एमालेले पटक-पटक अवसर पाएर पनि कुनै काम गर्न सकेन,' उनले भने,'अब हाम्रो सम्पूर्ण प्रयास जनताको विश्वास टुट्न नदिने भन्ने हो। त्यसैका लागि हाम्रो सम्पूर्ण शक्ति लगाउँछौं।'
कीर्तिपुर नेवार बहुल क्षेत्र भए पनि नकर्मीको जनसंख्या निकै कम छ। अहिले मेयर जितेका नकर्मी २०३६ सालदेखि कांग्रेसमा सक्रिय हुन्। उनी प्रतिबन्धित कालमा समेत कांग्रेसमा सक्रिय थिए। उनी अहिले नेपाली कांग्रेसको काठमाडौं जिल्ला उपसभापति छन्। यसअघि उनी जिल्ला सचिव थिए।
नेपाली कांग्रेसका काठमाडौं १० का सांसद राजेन्द्र केसीले नकर्मी अत्यन्त जुझारू र संघर्षशील व्यक्ति भएको बताए।
'उहाँ बौद्धिक तथा संघर्षशील व्यक्ति हो। प्रतिबन्धित अवस्थामा समेत कांग्रेसमा सक्रिय हुनुभएको हो,' उनले भने,'उहाँको नेतृत्वमा कीर्तिपुरले सुशासन सहितको स्थानीय सरकार पाउनेछ भन्ने मेरो आशा छ।'