धनकुटाको सागुरीगढी गाँउपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका योगेन्द्रकुमार ईवाहाङ वडाध्यक्षमा विजयी भए। उनले ५ सय २० मत ल्याउदा एमालेका दल बहादुर इङनाम (लिम्वु)ले ३ सय ६७ मत पाएका छन्।
धनकुटाका ७ पालिकासहित अधिकांश वडामा समेत सत्ता गठबन्धनको तालमेल भएकाले ईवाहाङका निर्वाचन जित्न सजिलो भयो। यो जीत ईवाहाङका लागि त महत्वपुर्ण छ नै, सँगै कांग्रेसका लागिसमेत महत्वपुर्ण छ। यो वडामा यसअघि एमालेकै इङनामाले निर्वाचन जितेका थिए। एमालेले यो वडामा २०४९ सालयता नै जित्दै आएको थियो। २०४९ र २०५४ सालमा तत्कालीन बुढी मोरङ गाविसमा समेत एमालेले जितेको थियो।
ईवाहाङले मात्रै होइन सागुरीगढी गाउँपालिका अध्यक्षमा पनि नेपाली कांग्रेसका
जितेन्द्र राई विजयी भएका छन्। उपाध्यक्षमा भने जनता समाजवादी पार्टीका लिलाराज लावती पराजित भए। उपाध्यक्षमा एमालेकी मुना राई विजयी भएकी छन्।
२०७४ को निर्वाचनमा पाख्रिबास नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित सबै वडामा क्लिन स्विप गरेको थियो। यसपालि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरूङ विजयी भएका छन्। उपमेयरमा भने एमालेका नम्रता गौतमले माओवादी केन्द्रका ओमप्रकाश निरौलालाई हराएकी छन्। नगरपालिकाको ५ ओटा वडामा कांग्रेस विजयी भएको छ भने एमालेले १० मध्ये ५मा विजय हासिल गरेको छ।
पाख्रिबास र सागुरीगढी मात्रै होइन,धनकुटाको छथर जोरपाटी गाँउपालिका समेत एमालेले गुमाइसकेको छ। यो पालिकामा कांग्रेसले अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ।
गत निर्वाचनमा एमालेले ७ ओटा पालिकामा प्रमुख र उपप्रमुख जितेको थियो। ६० वडामा ४३ वडा उसले जितेको थियो। अहिलेसम्म एमालेले चौबीसे गाँउपालिकामा विजय हासिल गरेको छ। यो पालिकामा उसले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ। वटामध्ये ५ मा विजयी भएको छ। धनकुटा नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ भने महालक्ष्मी नगरपालिकमा कांग्रेसले अग्रता लिएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारीले सत्ता गठबन्धनको मत बदर भएकाले सोचेजस्तो नतिजा नआएको बताए।
‘अघिल्लो पटक ६० मध्ये ४३ वडा जितेको एमाले यसपालि ४३ वडामा हार्ने सम्भावना छ,’ उनले भने।
यसपटक धनकुटामा सत्ता गठबन्धनमा रहेका सबै दलहरू मिलेर एमाले विरूद्ध तालमेल गरेका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गृहजिल्ला भएकोले राप्रपाको पनि प्रभाव छ। थापाका छोरा सुनिल थापा नेपाली कांग्रेसमा आएकाले त्यो भोट पनि कांग्रेसकै पक्षमा आएको स्पष्ट हुन्छ।