विराटनगर महानगरमा मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा र स्वतन्त्र उम्मेदवार उमेश यादव केही दिनयता आदर्श मावि परिसरमा नियमित भेटिन्छन्।
बिहान, दिउँसो वा बेलुका मेयरका तीनै जना उम्मेदवार भेट हुनासाथ रमाइलो कुरा गर्छन्।
नागेश र सागरभन्दा ‘सिनियर’ उमेश दुबै जनालाई तँ भनेर सम्बोधन गर्छन्।
नागेश र सागर एकार्कालाई जी भनेर बोलाउछन्।
जब यी दुई उम्मेदवारलाई भेटछन्, उमेश रमाइलो गर्न थालिहाल्छन्।
सोमबार आदर्श मावि परिसरमा उमेश भन्दै थिए, ‘तिमेरू दुई जनै मेरो मत बढोस भन्ने चाहन्छौ, होइन?’
सागर र नागेश हाँस्दै ‘हो हो’ भन्दै थिए।
विराटनगरमा १९७८०मत गणना भएको छ। नागेश कोइरालाले ६६००मत ल्याउँदै अग्रता कायम गरिरहेका छन्। एमालेका सागर थापाले ४८९१ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादवले२०८८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी शिल्पा कार्कीले ५५७७ मत ल्याएका छन्। जसपाका अरमेन्द्र यादवले ३७८९ मत प्राप्त गरेका छन्।