दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतका तीन पालिकाहरू नेपाली काँग्रेसले एकैसाथ जितेको छ।
मंगलबार प्राप्त मत परिणाम अनुसार कांग्रेसले यसअघि नेकपा एमालेले जितेका बबई र दंगीशरण गाउँपालिकामा पनि जितेको छ। तुलसीपुर पश्चिमका तीन वटै पालिकाहरूका जितेर कांग्रेसले 'क्लिन स्वीप' गरेको छ।
क्षेत्र नं. ३ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीको निर्वाचन क्षेत्र हो।
कांग्रेसबाट अध्यक्षमा कुलबहादुर केसी र उपाध्यक्ष बमकुमारी खड्का बबई गाउँपालिकामा नेपाली कांग्रेसले जितको झण्डा फहराएको छ।
अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६ सय १५ मत प्राप्त गरेका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे। पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए। यस पटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो।
त्यस्तै, गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका केन्द्रका भिमबहादुर वलीले २ हजार १८ मत मात्रै प्राप्त गरे।
यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४ सय मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरिन्।
उनी पनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
त्यस्तै, माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गरिन्।
बबईका ७ वटा वडामध्ये ४ वडामा नेपाली कांग्रेस र ३ वडामा नेकपा एमाले विजयी भएको छ।
बबईमा २२१४४ मतदाता रहेकोमा १५ हजार ४ सय २४ मत खसेको थियो।
दंगीशरणको अध्यक्षमा कांग्रेसबाट गिरी र उपाध्यक्षमा खड्का निर्वाचित
दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा वली खड्का निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित गिरी पूर्व शिक्षक हुन्। खड्का यसअघि पनि उपाध्यक्ष नै थिइन्।
दंगीशरण कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको पुर्खेउली गाउँ हो। पूर्वमन्त्री समेत रहेका नेता गिरी त्यहीका मतदाता हुन्।
गिरीले ५७६७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ (एमएन)शाहले ४०४९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर १६१८ हो।
त्यस्तै, उपाध्यक्षमा निर्वाचित खड्काले ४७७९ मत प्राप्त गरिन्। खड्काकी निकटतम प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले ४३११ मत प्राप्त गरेकी थिइन्। उनीहरूबीचको मतान्तर ४६८ हो।
यहाँ नेकपा माओवादी केन्द्रका मनिराम चौधरी अध्यक्ष र उपाध्यक्षमा निर्मला चौधरी भिडेका थिए। यहाँ नेपाली कांग्रेसले १, ३ र ७ नं. वडाहरू जितेको छ।
नेकपा एमालेले २, ४, ५ र ७ नम्बर वडाहरू जितेको छ।
दंगीशरणमा १८१०६ जना मतदाता रहेकोमा १००८७ मत खसेको थियो।
शान्तिनगरको अध्यक्षमा कांग्रेसका बस्नेत र उपाध्यक्षमा केसी
शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसले विगतको जस्तै जितको छविलाई जोगाउन सफल भएको छ।
मंगलबार प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा कांग्रेसका ३९ वर्षीय प्रमोद बस्नेत विजयी भएका छन्।
बस्नेत २०७४ सालको निर्वाचन ताकामात्रै राप्रपा परित्याग गरी कांग्रेसमा पार्टी प्रवेश गरेका थिए। उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका विश्वास पात्र मध्यका एक हुन्।
अध्यक्षमा निर्वाचित बस्नेतले ५ हजार ७ सय १६ मत प्राप्त गरेका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले ४ हजार ५ सय २४ मत प्राप्त गरे। त्यस्तै, माओवादीका मोहनलाल वलीले २ हजार ७ सय ९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पाण्डेले १ सय ८ र राष्ट्रिय जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ३ मत प्राप्त गरेका छन्।
यहाँ उपाध्यक्षमा निर्वाचित कांग्रेसकी प्रेमा बुढाथोकी केसीले ५७५० मत प्राप्त गरेकी छन्। केसीकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला भण्डारीले ४०२८ मत प्राप्त गरेकी थिइन्।
यहाँ नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेदवार राधिका परियारले ३०८० मत प्राप्त गरेकी थिइन्।
शान्तिनगरमा तीन वडाहरू ३,५ र ७ नेपाली कांग्रेस, नेकपा एमाले ४ र ६, नेकपा माओवादी केन्द्र वडा नं. १ र वडा नं. २ मा नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारले जितेका छन्।
यहाँ २०७४ सालमा पनि कांग्रेसले नै जितेको थियो। शान्तिनगरमा कुल २० हजार ८ सय ६३ मतदाता रहेकोमा १४ हजार ८ सय १ मत खसेको थियो।
नेपाली कांग्रेसले जितेका यी तीनै वडा दाङ क्षेत्र नं. ३ अन्तर्गत पर्दछन्। यो कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको निर्वाचन क्षेत्र हो।
यसअघि नै जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगतको बंगलाचुली गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ। जहाँ गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार अध्यक्षमा र नेपाली कांग्रेसका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै, जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गको राजपुर गाउँपालिकामा पनि नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष जितिसकेको छ।