दाङको राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन्।
नेकपा एमालेकी कमलापति चौधरी भने उपाध्यक्षमा निर्वाचित भएकी छन्। यहाँ माओवादी र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो।
अध्यक्षमा निर्वाचित विष्टले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगतप्रसाद पोखरेललाई ११९८ मतान्तरले पराजित गरेका हुन्।
पोखरेल राजमो छोडेर निर्वाचनको संघारमै एमालेमा पार्टी प्रवेश गरेका थिए।
उनले पराजय बेहोरे पनि उनकै कारण एमालेले उपाध्यक्ष जित्न सफल भएको हो। पोखरेल राप्तीमा लोकप्रिय नेतामध्येका एक हुन्।
विष्टले ६८९८ मत प्राप्त गर्दा एमालेका पोखरेलले ५७०० मत प्राप्त गरेका थिए।
यहाँ नेपाली कांग्रेसकी अध्यक्ष पदका उम्मेदवार जगदम्बाकुमारी चौधरीले ४१९९ मत प्राप्त गरेकी थिइन्।
दाङ जिल्लामा कांग्रेसले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएकी चौधरी एक्ली महिला हुन्।
जगदम्बाले २०७४ सालमा गाउँपालिकाको उपाध्यक्ष जितेकी थिइन्।
नेपाली कांग्रेसबाटै असन्तुष्टि जनाउँदै गाउँपालिका अध्यक्ष पदमा सहिद श्रीनाराण चौधरीका छोरा बुद्धिप्रकाश चौधरीले यहाँ बागी उम्मेदवारी दिएका थिए।
बुद्धिप्रकाशले ३००० बढी मत प्राप्त गरे। कांग्रेसको मत विभाजन भयो। जगदम्बालाई आउने मत बुद्धिप्रकाशले काटिदिए।
बागी उम्मेदवारीकै कारण गाउँपालिकामा नेपाली कांग्रेसले पराजय भोग्नुपरेको जानकारहरू बताउँछन्।
२०७४ सालको निर्वाचनमा राप्ती गाउँपालिकामा अध्यक्ष/ उपाध्यक्ष दुबै कांग्रेसले जितेको थियो।
त्यस्तै राप्तीको उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापति चौधरी निर्वाचित भइन्। चौधरीले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरि भुसाललाई उपाध्यक्ष पदमा ११७८ मतान्तरले पराजित गरेकी हुन्।
उपाध्यक्षमा निर्वाचित चौधरीले ६६७४ मत प्राप्त गरेकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुसालले ५४९६ मत प्राप्त गरेका थिए।
राप्तीमा गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका केशवराज खनाल तेस्रो स्थानमा आए। उनले ४४६५ मत प्राप्त गरेका छन्।
राप्ती गाउँपालिकामा २०७४ सालमा नेपाली कांग्रेसले पालिका अध्यक्ष/उपाध्यक्षसहित ५ वटा वडा जितेको थियो।
यतिखेर कांग्रेसबाट वडा नंं ३ मा उमेश अधिकारीले मात्रै जित्न सके।
यसअघि माओवादीले राप्तीमा ३ र एमाले १ वडामात्रै जितेको थियो। यसपालि माओवादीबाट वडा नम्बर २ मा पहलमान चौधरी र वडा नं. ९ मा रिमबहादुर सुनारी मगरले जितेका छन्।
त्यस्तै, एमालले यतिखेर पालिका उपाध्यक्षसहित ४ वडाहरू १ नं. वडामा गेमबहादुर खड्का, ५ नम्बरमा देवप्रसाद चौधरी, ७ नम्बरमा सिताराम चौधरी र ८ नम्बरमा चन्द्रबहादुर गुरूङले जितेका छन्।
त्यस्तै, दाङ जिल्लामै पहिलो पटक नेकपा एकीकृत समाजवादीले खाता खोल्न सफल भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ६ मा समाजवादीका दीपककुमार चौधरी निर्वाचित भएर पार्टीको शाख जोगाएका छन्। यो समाजवादीका नेता तथा दाङ निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो।
यहाँ राष्ट्रिय जनमोर्चाका वीरबहादुर चौधरीले वडा नम्बर ४ को वडा अध्यक्ष जितेर पार्टीको शाख जोगाउन सफल भएका छन्।