सत्तारूढ गठबन्धनका बाबजुद नेपाली कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका मनोज साहले बटुलिरहेको मतले सबैको ध्यान खिचेको छ।
हालसम्मको गणनामा मनोजले फराकिलो अन्तरले सुरूदेखि नै अग्रता कायम राखेका छन्। हालसम्मको गणनमा उनले ३१५९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले १४५१ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार बलराम महतोले ८६३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले ७३१, गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले ४२९ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ३५८ मत पाएका छन्।
जनकपुरको वडा नम्बर १ देखि ५ सम्मको मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्बर ६, २४ र २५ को गणना अहिले भइरहेको छ।
गणना सम्पन्न भएका वडाहरूमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले पनि मत ल्याएका छन्। तर अब गणना हुने वडामा आफ्नो एकलौटी भोट आउने अहिलेसम्म अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार मनोज बताउँछन्।
‘गणना सम्पन्न भएका वडामा एमाले र अन्य दलहरूको अलिअलि संगठन भएर त्यति मत आयो। अब वडा नम्बर ६ बाट सूर्य छाप पनि समाप्त हुँदैछ। ६ हजारभित्रै सबै उम्मेदवार समेटिनेछ,’ उनले भने।
मनोजले भनेझैं अन्य वडामा पनि उनैले अग्रता बनाइराख्ने देखिन्छ। किनकि सबै उदम्मेदवार आआफ्नो काममा लागेका बेला झन्डै मनोज भने टोलटोल पुगेका छन्। पाँच वर्षअघिदेखि जनतामाझ भिजेका छन्। उनको स्वच्छ छवि र स्पष्ट कुरा राख्ने शैली मतदाताले मन पराएका छन्।
२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार लालकिशोरसँग फराकिलो मतान्तरले पराजित भएका थिए। अघिल्लो चुनावमा लालकिशोरले २१९०३ मत ल्याउँदा मनोजले १११६४ मात्र पाएका थिए।
यसपछि नै हो उनले जनताका बीच पुगेर काम गरिरहेका। आफूले त्यही बेलादेखि काम गरेरै आफ्ना लागि भोट मागिरहेको उनी बताउँछन्।
‘प्रायः सबै उम्मेदवारले १०/१२ दिन भोट माग्छन्। तर मैले २०७४ मा चुनाव हारेदेखि नै मत माग्न थालेँ। वर्षको ३६५ दिन जनताको सेवा गरिरहेँ, पूजा गरिरहेँ र मत पनि मागिरहेँ,’ मनोजले सेतोपाटीसँग भने, ‘रुझानले पनि देखिसकेको छ यहाँ मेरो कोही प्रतिद्वन्द्वी छैन। मेरो २५ हजार भोट आउँछ। बदर मतले समस्या भएको छ। रूख छापमा पनि धेरै मत खसेको छ। वास्तवमा उनीहरूले पनि मनोजलाई नै सोचेर मत दिएछन्। यस्तोमा म बीस हजारमै अट्किन सक्छु।'
जनकपुरधाम उपमहानगरमा ५९९७० मत खसेको थियो। मनोजको दावी सही हुने अर्को आधार हो संगठन।
कांग्रेसको सभापति भएर पछिल्लो साढे चार वर्षयता उनले उपमहानगरमा निरन्तर संगठन पनि विस्तार गरिरहे। सत्तारूढ गठबन्धनले जसपाबाट निवर्तमान मेयर लालकिशोरलाई नै उम्मेदवार बनाउने निर्णयविरूद्ध मनोजसँगै कांग्रेसका कार्यकर्ता र समर्थकले पनि मतमार्फत विद्रोह गरेका छन्।
साढे चार वर्षे कार्यकालमा कुनै महत्वपूर्ण काम गर्न नसकेको, उपमहानगरको कार्यालयमा आफन्त र कार्यकर्ता भर्ति गरेको र भ्रष्टाचार समेत गरेको आरोप लागेका लालकिशोरलाई नै उम्मेदवार बनाइएपछि उनीहरू आक्रोशित भएका थिए।
चुनावअघि सेतोपाटीसँग कुराकानीमा पनि अधिकांश कांग्रेस कार्यकर्ता तथा समर्थकले आक्रोश पोख्दै मनोजलाई भोट दिने बताएका थिए। सत्तामा हुँदा लाभ लिएकाबाहेक अघिल्लो निर्वाचनमा लालकिशोरलाई भोट दिएका कसैले उनलाई भोट दिने पक्षमा छैनन्।
जनकपुरमा उनको विपक्षमा मतदाताले बलियो स्वच्छ र काम गर्ने उम्मेदवारको खोजीमा थिए। मनोजले विस्तारै आफ्नो छवि र 'भिजन' मतदातासामु राखे र प्रभावित गरे। लालकिशोरबाट असन्तुष्ट धेरैले चुनाव जित्नेलाई भोट दिने बताएका थिए।
केही दिनअघिसम्म मनोजले चुनाव जित्ला भन्ने धेरैले आकलन नै गरेका थिएनन्। तर अन्तिम समयमा उनको पक्षमा माहोल देखेपछि लालकिशोरबाट आक्रोशित भएका जसपा, लोसपा तथा स्वतन्त्र व्यक्तिहरूले पनि उनैलाई भोट दिने पक्षमा लागे।
हुन त रमण कन्सट्रकसन कम्पनी छोरालाई सुम्पेर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार बलराम महतोको पक्षमा पनि केही दिनअघिसम्म राम्रो माहोल बनेको थियो। तर त्यो माहोल उनले टिकाइराख्न सकेनन्। उनी ठेकेदार रहेकाले आम जनताको कुरा नसुन्ने तर मनोजले सहजै सुन्ने बुझाइले पनि अन्तिम समयमा आएर बलरामको पक्षमा बनेको माहोल मनोजतिर लहर बनेर फर्के।
चुनावकै मुखमा आएर बलरामका छोराले जनकपुरमा घुम्न आएका भारतीय नागरिकलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि पनि उनको मतदाता बिच्किएको विश्लेषण गरिन्छ।
चुनावको अन्तिम समयमा पनि बलरामको पोल्टामा गएका मतलाई आफ्नो पोल्टामा तान्न विभिन्न संयन्त्र मार्फत कसरत गरिरहे। त्यसै परिणाम हो मनोजले सुरूआती चरणदेखि नै अग्रता कायम गरेका छन्।
लोसपा र जसपाले पनि अन्तिम समयमा आफ्ना संगठनका मत तान्न कसरत गरे जुन मत बलरामलाई जाने देखिन्थ्यो। वडा नम्बर १५ मा मनोजको आफ्नै गाउँ छ। त्यस वरिपरिका २०, १७, २४, २५ लगायत वडाहरूमा सबै दलका अधिकांश मतदाताले निर्वाचनअघि सेतोपाटीसँगको कुराकानीमा मनोजलाई भोट दिने बताएका थिए।
आफ्नो क्षेत्र र छिमेकी टोलका रहेकाले जुनसुकै बेला उनीबाट काम गराउन सकिने ती मतदाताहरूको बुझाइ थियो।
यसरी अब जनकपुरधाम उपमहानगरपालिकामा मनोज जिततिर लम्किरहेका छन्।
जितेपछि चालु आर्थिक वर्षको बजेट बनाउने पहिलो काम गर्ने उनको भनाइ छ।
‘समग्र गुरुवर्ग र विशेषज्ञहरूलाई बोलाएर छलफल गरी कस्तो बजेट र योजना ल्याउने खाका बनाउँछु। मेरो भिजनअनुसार डिपिआर तयार गर्छु। त्यसैअनुसार बजेट बनाउँछु। उहाँहरूसँग छलफलमै करिब एक महिना बित्नेछ मेरो,’ मनोजले मंगलबार सेतोपाटीसँगको कुराकानीमा भने, ‘जसरी बजेट बनाउँछु, त्यसैगरी वर्षभरि काम गर्छु। छलफलमा फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल साइट, कृषि बजार व्यवस्थापन, शिक्षा र स्वास्थ्यसम्बन्धी कानुन बनाउने, धार्मिक नगरीका रूपमा विकास गर्ने काम प्राथमिकतामा हुनेछ।’