दाङको घोराही उपमहानगरपालिकामा फेरि पनि नरूलाल चौधरी मेयरका रूपमा दोहोरिने संकेत देखा परेको छ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका चौधरी २०७४ सालमा पनि मेयरमा निर्वाचित भएका थिए।
यतिखेर उनले प्राप्त गरेको मत परिणामको नतिजा अनुसार फेरि चौधरी मेयरमा दोहोरिने संकेत देखिएको हो।
मेयरका उम्मेदवार चौधरीले घोराहीमा कृत्रिम जलासय निर्माण, फोहर व्यवस्थापन, बायो ग्यास उत्पादन, सडक निर्माण, खेलकुदको विकासका लागि खेल मैदान खरिद गर्ने जस्ता राम्रा कार्य गरेका थिए।
यो बीचमा उनको आलोचना भएको एउटा प्रसंग बिग्रिएका वा कार्यालयमा महिनौंदेखि रोकिराखेका सवारी साधनका लागि इन्धन छुट्याएको कुराले धेरै आलोचना खेप्नु परेको थियो।
दोस्रो कार्यकालका लागि मेयर बन्न तम्सिएका चौधरीले मंगलबार बेलुकीसम्म ५१ हजार मतगणना हुँदाको प्राप्त परिणाम अनुसार प्रतिस्पर्धीलाई पछि छोड्दै लामो छलाङ मारिसकेका छन्। उनले २१२११ मत प्राप्त गरिसकेका छन्। चौधरी निकटतम् प्रतिद्वन्द्वीभन्दा ३८१९ मतान्तरले अगाडि पुगेका छन्।
यहाँ गठबन्धनबाट मेयरका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) ले हालसम्म १७३९२ मत प्राप्त गरेका छन्।
जबकी शर्माले मतगणना भएको सुरूदेखि नै करिब दुई दिनसम्म एमाले मेयरका उम्मेदवार चौधरीलाई लिड गर्न सुरू गरेर झन्डै १००० सम्मको मतान्तरणले पछाडि पारेका थिए।
शर्माले सोच अनुरूप मत प्राप्त गर्न नसक्नुको कारण निर्वाचनको मुखैमा उक्त पार्टीका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य जीवन गौतमले टिकट नपाएको असन्तुष्टि जनाउँदै पार्टी त्याग्नुलाई पनि मानिएको छ। गौतम २०७४ सालमा माओबादीबाट मेयरमा भिडेर तेस्रो स्थानमा आएका थिए ।
त्यस्तै, अर्को कारण माओवादीकै शब्दमा गठबन्धनको मर्मअनुरूप नेपाली कांग्रेसका कार्यकर्ताले माओवादीलाई मतदान नगरेको आरोप पनि माओवादी नेताहरूले लगाउन थालेका छन्।
यहाँ उपमेयरमा पनि नेकपा एमालेकी हुमाकुमारी डिसीले नै लिड गरिरहेकी छन्। उनले २०४३५ मत प्राप्त गरेकी छन्। डिसी ३६० मतले अगाडि छन्। उनी एक सामाजिक अभियान्ता हुन्।
महिला सशक्तकरणको क्षेत्रमा उनले वर्षौं काम गरेकी छन्। खासगरी एकल महिलालाई रातो पहिरन लगाउन उनले आन्दोलनको नेतृत्व गरेकी थिइन्।
यहाँ नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले २०७५ मत प्राप्त गरेका छन्।
डाँगी २०७४ सालको निर्वाचनमा मेयरमा भिडेका थिए। डाँगी नरूलालसँग पराजित भएका थिए।
डाँगी यसअघि १४ औं महाधिवेशनका क्रममा पार्टीभित्र जिल्ला सभापतिमा पनि भिडेका थिए।
पहिलो पटक कसैको पनि ५१ प्रतिशत मत प्राप्त नभएपछि दोस्रो पटक निर्वाचन हुनै लाग्दा डाँगीले पहिलो भएका अहिलेका सभापति शंकरप्रसाद डाँगीलाई समर्थन जनाएका थिए।
२०७४ सालको निर्वाचनमा एमालेका नरूलालले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए।
उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।
२०७४ सालमा घोराहीमा झन्डै ८० हजारको हाराहारीमा मतदाता थिए। यसपटक ३० हजार बढी मतदाता थपिएका छन्। मतदाता संख्या बढेर १ लाख १२ हजार बढी पुगेको छ।
१९ वडा रहेको घोराहीमा यो पटक ७६ हजार बढी मत खसेको छ।
घोराही मुलुकका ११ उपमहानगरपालिका भन्दा सबभन्दा धेरै मतदाता रहेको उपमहानगर पनि हो।
निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने घोराहीको निर्वाचनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादीका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँगको टकरावको रूपमा अर्थ लगाउँदै आइएको छ।
गत निर्वाचनमा उनीहरू दुबै जना यही क्षेत्रमा चुनावी तालमेल गरी निर्वाचित भएका थिए। महरा संघीय र पोखरेल प्रदेशमा निर्वाचित भएका थिए।
तर, यतिखेर माओवादी र कांग्रेस लगायतका दलहरूका यहाँ समीकरण भएको छ।