पोखरा महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापालाई पार्टीकै मतदाताले भोट नदिएको खुलेको छ। एमालेको बलियो किल्ला मानिएको पोखरा वडा नम्बर ५ को प्रारम्भिक मत परिणाम विश्लेषण गर्दा पनि यसको पुष्टि हुन्छ।
कतिपयले कार्यकर्ताले नै अन्तरघात गरेको आरोप लगाएका छन्।
पोखरा–५ मा मंगलबार साँझसम्म १३ सय मत गनिएको छ। जसमा एमालेका मेयर उम्मेदवार थापाले ५८७ मत पाएका छन्। जबकी, उपमेयर मञ्जुदेवी गुरूङले ७१३ मत पाएकी छन्।
यो वडामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले ४८१ मत पाएका छन् भने उपमेयर उम्मेदवार कोपिला रानाभाटले ४०१ मत पाएकी छन्।
यहाँ एमालेका वडा अध्यक्ष उम्मेदवारले ७२४ मत पाउँदा कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले ३५२ र नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवारले जम्मा १३२ मत पाएका छन्।
उक्त परिणामले एमालेका उपमेयर र वडा अध्यक्ष उम्मेदवारभन्दा थापाले कम मत पाएको देखाएको छ। यसको अर्थ एमालेकै मतदाताले थापालाई मत दिएनन्।
पोखरा वडा नम्बर–५ मा जस्तै अहिलेसम्म मतगणना सकिएका वडा नम्बर १, २, ३, ४, १२ र २३ मा पनि त्यस्तै प्रवृत्ति देखिन्छ। अहिले मत गनिरहेको वडा नम्बर ५, ६, २४, २५, २६ वडाको मत परिणाम एमालेका मेयर उम्मेदवारलाई भन्दा उपमेयर, वडा अध्यक्ष लगायतका उम्मेदवारलाई धेरै मत आएको छ।
पूर्वएमाले नेता एवं गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले केही मत काट्ने आकलन एमालेका नेताहरूले पनि गरेका थिए। तर यति धेरै मत काट्लान् भनेर उनीहरूले सोचेका थिएनन्।
‘हाम्रो २ हजार भोट काट्छन् भन्ने आकलन थियो, तर अहिलेसम्मको परिणामले नै त्यो भन्दा धेरै भोट काटेको देखियो,’ एमालेका कास्कीका एक नेताले भने।
यता, गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले भन्दा पनि मेयर उम्मेदवार धनराजले धेरै मत पाइरहेका छन्।
गठबन्धनका कारण मेयरमा झर्ने बदर मतको भर्पाइ एमाले मतदाताको मत तानेर पूरा गर्ने धनराजको योजना थियो। उनको त्यो योजना अहिलेसम्मका परिणामले पूरा गरिरहेको छ। एमालेमा झण्डै ४५ वर्ष बिताएका धनराजले एमाले मतदाताको सद्भाव पाउने त सबैले आकलन गरेका थिए।
तर सोचेभन्दा धेरै एमाले मत धनराजलाई गएपछि थापालाई पार्टीभित्रैका नेता कार्यकर्ताले अन्तर्घात गरेको आशंकालाई बल पुर्याएको छ।
एमालेभित्र अन्तर्घातका आशंकालाई पुष्टि गर्नेगरी एमाले कार्यकर्ताका २ वटा फोन वार्ता सार्वजनिक भएका छन्। जहाँ थापालाई हराउन र धनराजलाई जिताउन मोलमोलाई भएको सुनिन्छ। एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सांसद राजीव पहारीका स्वकीय सचिव मनोज पहारीले धनराजका नजिकका व्यक्तिसँग गरेको कुराकानीमा २ सय मत आफूसँग रहेको र उक्त मत धनराजलाई दिन पैसाको बार्गेनिङ गरेका छन्।
उक्त वार्तामा पहारीले धनराजलाई भोट दिएबापत आफूलाई पार्टीबाट कारबाही नहुने विश्वास व्यक्त गरेका छन्।
उनले भनेका छन्,‘मलाई उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला अध्यक्ष मनबहादुर गुरूङले कारबाही गर्दैन।’
कृष्ण थापालाई हराउन भएको फोन कुराकानीको अर्को अडिओ पनि सोमबार सार्वजनिक भएको छ। जुन अडिओमा थापालाई जसरी पनि हराउने भनिएको छ।
एमाले केन्द्रीय सचिवालय बैठकले सुरूमा पोखराको मेयर टिकट दिएका नेता दीपक पौडेलको हातबाट थापाले आपराधिक तरिकाले टिकट खोसेको उक्त वार्तामा उल्लेख गरिएको छ।
यी दुई फोन वार्ताका सम्बन्धमा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङले पार्टीभित्र छुट्टै छानबिन समिति बनाएर कारबाही गर्ने बताएका छन्।
टेलिफोन वार्ताका विषयमा छानबिन गर्न राज्यका अंगलाई पनि अनुरोध गर्ने गुरूङको भनाइ छ।
यस विषयमा मेयर उम्मेदवार थापाले संक्षिप्त प्रतिक्रिया मात्र दिए।
‘सबै विषय बाहिर आएका छन्, तपाईंहरूले थाहा पाइरहनुभएको छ, मैले बोल्नै पर्दैन,’ उनले भने।
पार्टीभित्र अन्तर्घात भएको भन्दै उनले यस विषयमा पार्टीले उचित निर्णय लिने विश्वास व्यक्त गरे।
कास्कीका एमाले नेता कार्यकर्ता उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको कित्तामा छुट्टिएका छन्।
एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने गरी गुटबन्दी बढेको भन्दै केही कार्यकर्ता चिन्तित छन्।
एमाले सचिवालयले सुरूमा मेयर टिकट दिएका नेता दीपक पौडेल पृथ्वीसुब्बा समूहमा छन् भने पौडेलबाट टिकट खोस्न सफल नेता थापा खगराज समूहमा छन्।
पौडेललाई सुनचोरीको आरोप लगाउँदै ‘अप्रमाणित’ सिसिटिभी भिडिओ सार्वजनिक गरेर व्यापक बनाउन खगराज समूहका कार्यकर्ता लागिपरेका थिए।
त्यही आरोपका अधारमा एमाले अध्यक्ष केपी ओलीले सचिवालय बैठकको निर्णय एकल रूपमा उल्ट्याएर थापालाई टिकट दिलाएका थिए।
उक्त घटनाबाट रूष्ट बनेका पृथ्वीसुब्बा समूहका कार्यकर्ता थापालाई हराउन लागिपरेको खगराज समूहको आरोप छ।
सोमबार सार्वजनिक थापालाई चुनाव हराउन मोलमोलाई गरिरहेको अडिओ पनि खगराज समूहले व्यापक बनाउन भूमिका खेलेको आरोप छ।
एमाले संगठन विभाग प्रमुख समेत रहेका खगराजले पार्टीभित्र भइरहेका अन्तर्घात लगायतका घटनाक्रमका विषयमा पार्टीले गम्भीरतापूर्वक छानबिन गर्ने बताए।
मतगणना सकिएपछि छानबिन गर्दा जो कोही दोषी देखिए पनि कारबाही हुने उनको भनाइ छ।
‘बाहिर आइरहेका विषयमा हामी गम्भीरतापूर्वक छानबिन गर्छौं,’ उनले भने, ‘कोही दोषी देखियो भने कारबाही हुन्छ, मै भए पनि कारबाही हुन्छ।’
एमालेभित्र आफ्नो कुनै समूह नभएको जिकिर गर्दै खगराजले आफू एमाले समूहको भएको बताए।
पार्टीभित्र अनुशासन कायम नगर्ने हो भने पार्टी समाप्त हुने भन्दै सबैलाई अनुशासन लाग्ने बताए।