राजनीतिक दलका धरानस्थित नेताहरू त भइगए, कार्यकर्ताधरी हर्क साम्पाङलाई सधैं बेवास्ता गर्थे।
दलहरूलाई सधैंजसो तीखो प्रश्न गर्दै आएका हर्कलाई ‘अराजक’ को सजिलो ट्याग लगाएर प्रश्नको उत्तर दिने लेठोबाट दलहरू भाग्दै आएका थिए।
धरानका सबैजसो राजनीतिक दलका नेता-कार्यकर्ताले कहिल्यै नपत्याएका हर्क साम्पाङ धराने मतदाताको विश्वासको बलमा दलहरूलाई हायलकायल पारिरहेका छन्।
धरान उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हर्कले दलहरूलाई आच्छुआच्छु पार्ने गरी मत ल्याइरहेका छन्। मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रोमा पर्दै आएका उनले एमाले उम्मेदवार मन्जु भण्डारीसँगको दूरी फराकिलो पार्दा शीर्षस्थानमा रहेका कांग्रेसका किशोर राईसँगको मतान्तर घटाउँदै लगेका छन्।
धरानमा एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ भने अर्कातिर एमाले उभिएको छ। ठूला दलहरूको चेपुवामा स्वतन्त्र उम्मेदवार साम्पाङ हराइजाने दलहरूको पूर्व घोषणाविपरीत उनले उल्लेख्य मत पाइरहेका छन्।
धरान उपमहानगरमा गठबन्धनका मेयर उम्मेदवार किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको मत अन्तर घटेको छ।
यो समाचार तयार पार्दासम्म धरानमा २७ हजार ९ सय ६६ मत गणना भएको छ। हर्क २२ मतले मात्रै किशोर राईसँग पछि छन्। हर्क एमाले उम्मेदवारभन्दा १३६४ मतले अघि छन्। अहिलेसम्म कांग्रेसका राईले ७९६४ मत ल्याउँदा ७९४२ मत ल्याएर हर्कले टक्कर दिइरहेका छन्।
एमाले उम्मेदवार मन्जु भन्डारी ६५७८ मत सहित तेस्रोमा छिन। उपमेयरमा गठबंधनका माओवादी उम्मेदवार अइन्द्र बेघा ८९७३ मतसहित अग्रता जोगाइराख्न सफल छन। एमालेका पदम लिम्बू ८६२३ मतसहित बेघालाइ पछयाइरहेका छन्।
संयोग नै मान्नुपर्छ काठमाडौंमा कांग्रेस र एमाले उम्मेदवारलाई पछि पारिरहेका बालेन शाह र साम्पाङको चुनाव चिन्ह एउटै छ, लौरो।
यसरी मत ल्याइरहँदा पनि दलहरूको हर्कप्रतिको दृष्टिकोण अहिले पनि उत्ति फरक परिसकेको छैन। मेयर पदकी एमाले उम्मेद्वार मन्जु भण्डारीले ‘आफूमाथि पार्टीभित्रैबाट अन्तरघात भएको’ बताउँदै ‘त्यही मत हर्कले पाएको’ टिप्पणी गरिन्।
‘मलाई त पार्टीभित्रैबाट अन्तरघात भएको देखिएको छ’, हर्कभन्दा हजारभन्दा बढी मतले पछि परेकी निवर्तमान उपमेयर उनले भनिन्, ‘हाम्रा धेरैले उता मत दिएछन्।’ एमालेका उपमेयर उम्मेदवार पदम लिम्बूले पाएको मत र भण्डारीले पाएको मतको अन्तर ठूलो छ। उपमेयर उम्मेदवार लिम्बू एमालेभित्र १० बुँदे पक्षधर हुन् भने भण्डारी संस्थापन पक्षकी हुन्।
एमाले उम्मेदवारको भन्दा केही फरक कुरा छ कांग्रेस नेता तिलक राईको। एमालेको किल्ला मानिने धरानमा २०७६ को उपनिर्वाचनमा जित हासिल गरेर पहिलो पटक कांग्रेसबाट मेयर बनेका तिलक राई हर्कको सफलतालाई काठमाडौं र दिल्लीका मतदातासँग तुलना गर्छन्।
‘दिल्लीका केजरीवालको प्रभाव अघिल्लोपटक काठमाडौंमा रन्जु दर्शनाको मतमा देखियो ,’ उनले भने, ‘त्यो अहिले बालेन शाह हुँदै धरानसम्म आइपुगेको छ।’
सहरी इलाकामा सामाजिक सन्जालको प्रभावले पनि काम गरेको उनको दाबी छ।
यति भन्दाभन्दै पनि हालका मेयर राईले यति चाहिँ थपिहाले ‘यहाँ हर्कले भन्दा पनि लौरो चिन्हको आकर्षण जस्तो पनि देखिन्छ।’
तिलकको यही भनाइले पनि उनी स्वयं हर्कको सफलतालाई नजरअन्दाज गर्न खोज्दैछन् भन्ने देखाउँछ। यसका पछि उनको कार्यकालमा हर्कले दिएको ‘दुःख’ मुख्य कारण हुनसक्छ। तिलक तिनै मेयर हुन्, जसले जनस्तरबाट विभिन्न मुद्दामा हर्कको सबैभन्दा धेरै प्रश्नको सामना गरेका थिए।
२०७६ मंसिरको उपनिर्वाचन अघिसम्म धरानलाई ‘वामपन्थी किल्ला’ भनिन्थ्यो। धरानले यो राजनीतिक उपनाम पाउनुका आधार थिए। बहुदलीय व्यवस्था पुनर्स्थापना भएयता धरानमा संघ र स्थानीय तहका सबै चुनाव कम्युनिस्ट पार्टीले जितेका थिए। सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा २०४८ सालमा नेकपा (एमाले) का नेता मनमोहन अधिकारी निर्वाचित भए। यो क्षेत्रमा २०६४ को संविधान सभा निर्वाचनबाहेक हरेक संघीय चुनाव एमालेले नै जित्यो। २०७४ सम्म मेयर पनि उसैले हात पारेको थियो।
सधैंभरि कम्युनिस्टलाई जनप्रतिनिधि बनाउने धरानवासीले साढे दुई वर्षअघि भने पहिलोपटक गैरकम्युनिस्टलाई मेयर चुने। २०७४ मा निर्वाचित मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले ‘लालकिल्ला’ भनिने धरानमा जितको खाता खोले।
२०७४ मा मेयर उठ्दा १६ हजार एक सय दुई मत ल्याएका राईले दुई वर्षपछि उपनिर्वाचनमा २६ हजार सात सय नौ मत पाए। राईको जित यस्तो बेला भएको थियो जति बेला एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको थियो। विशाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई हराएर कांग्रेसका राई विजयी बनेपछि उनको जित राष्ट्रिय चर्चाको विषय भएको थियो।
वर्षौंदेखि ठूला संगठन र संरचना चलाएका यी पार्टीका नेता/कार्यकर्ताले मेयर जित्छु भन्ने हर्क साम्पाङको दाबीलाई हल्का रूपमा लिएका थिए। साम्पाङले केही हजार भोट ल्याए पनि मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै भएको उनीहरूको ठम्याइ यतिबेला गलत सावित भइरहेको छ।
चुनावअघि सेतोपाटीले धरान उपमहानगरका २० वटै वडाका विभिन्न टोल पुगेर करिब सय जना मतदातासँग कुराकानी गर्दा यसपालि ४० वर्षीय हर्क साम्पाङप्रति धरानवासीमा अभूतपूर्व आकर्षण देखिएको थियो।
कांग्रेस र एमालेले साम्पाङलाई जति हलुका रूपमा लिएका छन्, त्यसको ठीक उल्टो मतदाताले उनलाई गम्भीरतापूर्वक लिएको हामीले पाएका थियौं। त्यसबेला हामीले कुरा गरेकामध्ये झन्डै ३६ प्रतिशत मतदाताले यसपालि साम्पाङलाई मत दिने बताएका थिए।
हामीले त्यसबेला लेखेका थियौं ‘साम्पाङप्रति अहिले देखिएको आकर्षण चुनाव हुने दिनसम्म कायम रहेमा धरानले यसपालि ‘दोस्रो सरप्राइज’ दिनेछ। साढे दुई वर्षअघि सदावहार वामपन्थी किल्ला तोडेर सरप्राइज दिएको धरानले यसपालि कांग्रेस-एमालेजस्ता प्रमुख दललाई हराउँदै स्वतन्त्र उम्मेदवार साम्पाङलाई जिताएर अर्को सरप्राइज दिन सक्नेछ।’
हामीले थपेका थियौं, ‘साम्पाङले चुनाव जितेनन् भने पनि उनले यति धेरै मत ल्याउने छन्, त्यो धरानवासी र बाहिरका लागि पनि सरप्राइज नै हुनेछ।’
राजनीतिशास्त्रमा स्नातक गरेका र वैदेशिक रोजगारी सिलसिलामा इराक र अफगानिस्तान पुगेका साम्पाङले केही वर्षदेखि धरानमा विभिन्न काम गर्दै आएका छन्। यसअघि पनि उनी धरानको मेयरमा उठेका थिए। २०७६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनले जम्मा ४२२ मत ल्याए।
उनीप्रति यसरी आकर्षण बढ्नुको कारण हो धरानको खानेपानी समस्या। धरानमा खानेपानीको समस्या बल्झिएको वर्षौं भइसक्यो। जनसंख्या थोरै हुँदा धरानको वल्लो र पल्लो छेउमा बग्ने सर्दु र सेउती खोलाको जलाधार क्षेत्रबाट आउने पानीले पुग्थ्यो। तीव्र सहरीकरणपछि चुरेको फेदीबाट बग्ने यी दुई खोलाले धरानको तीर्खा मेटाउन नसक्ने भए।
धरानमा कसरी खानेपानी पु¥याउने भन्ने विभिन्न विकल्पमा छलफल भए। सन् २०१२ मा एसियाली विकास बैंक (एडिबी) सँग धरानमा खानेपानी पु¥याउनेबारे एउटा सम्झौता भयो। उक्त सम्झौताअनुसार एडिबीले धरानको दक्षिणमा रहेको जंगलमा डिप–बोरिङ गर्ने र त्यो पानी वितरण गर्न दुई अर्बभन्दा बढी ऋण÷सहयोग दिने भयो। त्यो परियोजना लागू गर्न पहिलाको खानेपानी संस्थानलाई खारेज गरी धरान खानेपानी व्यवस्थापन बोर्ड गठन गर्ने र संस्थानको सम्पत्ति र संरचना बोर्डमा गाभ्ने निर्णय भयो।
साम्पाङले सुरूदेखि खानेपानी संस्थान खारेज गरी उसको सम्पत्ति बोर्डमा गाभ्नु हुँदैन भन्ने मत राखेका थिए। उनले भनेको कसैले सुनेनन्।
आयोजना अघि बढ्यो। सन् २०१९ डिसेम्बरमा एडिबीको परियोजनाको म्याद सकियो। आयोजना सम्पन्न भयो तर धरानेले चाहिने जति पानी पाउन सकेनन्। समस्या अहिलेसम्म ज्यूँकात्यूँ छ। साम्पाङले आफूले जिते कोसीको पानी ल्याएर खुवाउने वाचा गरेका छन्। कतिलाई १९ किलोमिटर परको कोसीबाट पानी ल्याउने साम्पाङको योजना हावा लाग्छ। धेरैले भने उनको त्यो कुरा पत्याएका छन्। डिप–बोरिङ गरेर धरानको खानेपानी समस्या समाधान हुँदैन भन्ने साम्पाङको त्यति बेलाको तर्क अहिले जायज देखिएकाले पनि सायद मतदाताहरूमा उनको विश्वसनीयता बढेको छ।
साम्पाङ प्रति आकर्षणको दोस्रो कारण हो उनले बनाएको सामाजिक अभियन्ताको छवि। अस्पतालमा सहयोग माग्नुपर्दा होस् वा सार्वजनिक सेवा क्षेत्रका केही समस्या आइपर्दा, धरानका धेरै सर्वसाधारणले गुहार्ने नाम भएको छ हर्क साम्पाङ।
दिनरात केही नभनी सर्वसाधारणलाई सहयोग गर्न पुग्ने र उनीहरूको समस्या तालुकवाला निकायमा पु¥याउन सामाजिक सञ्जालको उपयोग गर्ने कामले साम्पाङ धरानमा चिनिएका छन्।
दलप्रतिको वितृष्णा अर्को कारण हो। २०४९ देखि २०७४ सम्मको हरेक स्थानीय निर्वाचनमा एमालेले धरानमा प्रभावशाली जीत दर्ता ग¥यो। तै पनि खानेपानी समस्या जस्ताको तस्तै रह्यो। सुकुम्बासी समस्या उही हालतमा छ। सर्दु र सेउती खोला किनारमा अहिले पनि साढे १३ हजार घरधुरी सुकुम्बासी छन्।
खानेपानी र सुकुम्बासी समस्यालाई भोट माग्ने बहाना मात्रै बनाएको भन्दै सर्वसाधारण एमालेसँग रोष प्रकट गर्छन्। जुन मतपत्रमा पनि उत्तिकै व्यक्त भइरहेको देखिएको छ।