मध्यपुर थिमिका नवनिर्वाचित मेयर सुरेन्द्र श्रेष्ठलाई चुनावअघिसम्म आफ्नो पार्टी कांग्रेसबाट टिकट पाउने–नपाउनेमा दुविधा थियो। जब टिकट पाए, उनी ढुक्क थिए, ‘योपटक जित्ने त मैले नै हो।’
सुरेन्द्रले अघिल्लोपटक नेकपा एमालेबाट मेयर निर्वाचित र यसपालि फेरि उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले हराएका छन्।
उनले १५ हजार ९८ मत ल्याए भने उनका निकट प्रतिस्पर्धी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे।
निर्वाचन परिणाम घोषणा भएपछि जितको खुसी साट्दै सुरेन्द्रले सेतोपाटीसँग भने, ‘एमालेबाट मदनसुन्दरलाई दोहोर्याउने कुरा आएपछि अब उनलाई सुरेन्द्रले मात्र काउन्टर दिनसक्छ भनेर पार्टीले मूल्यांकन गरेजस्तो लाग्छ।’
उनले अगाडि भने, ‘म राजनीतिमा लाग्नुका साथै खेलाडी पनि भएकाले युवाहरूमाझ लोकप्रिय छु। त्यही भएर मलाई क्रस भोट आएजस्तो लाग्छ। मान्छेले उम्मेदवारको पृष्ठभूमि र इमानदारी पनि खोज्दा रहेछन्। आजसम्म मेरो इमानदारीमा कुनै प्रश्नचिह्न आएको छैन। मेरो सबभन्दा ठूलो प्लस प्वाइन्ट यही हो।’
वडा नम्बर ४, बालकुमारी निवासी सुरेन्द्रलाई कक्षा आठ पढ्दादेखि नै राजनीतिमा चासो बढेको थियो। त्यो २०४६ सालको कुरा हो। त्यस बेला पञ्चायती व्यवस्थाविरूद्ध भएको जनआन्दोलनमा टोलका दाजुभाइ र बुवा–हजुरबुवासँगै सुरेन्द्र पनि झन्डा बोकेर सडकमा निस्केका थिए।
२०४८ सालमा कक्षा १० पढ्दा उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको इकाई सचिव भएर राजनीतिमा लागे।
त्यसयता २०५३ सालमा क्षेत्रीय कोषाध्यक्ष बनेका उनी २०५४ को स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा वडा सदस्य निर्वाचित भए। त्यति बेला उनी जम्मा २१ वर्षका थिए।
उनी २०६२–६३ सम्म विद्यार्थी राजनीतिमै रमे। कलेजको चुनावमा पनि पटकपटक लडे। त्यसपछि भने कांग्रेसमा लागेर निरन्तर काम गरिरहेका छन्। पार्टीको १२औं महाधिवेशनसम्म उनी मध्यपुर थिमि नगर समितिको नगर सचिव भएर काम गरेका थिए।
‘तेह्रौं महाधिवेशनमा मैले जिल्ला सभापति जितेँ। अहिले पार्टीबाट मेयर भएको छु,’ यसरी ४६ वर्षीय सुरेन्द्रले आफ्नो करिब तीनवर्षे राजनीतिक इतिहास सुनाए।
राजनीतिबाहेक उनी सानैदेखि खेलकुदमा पनि सक्रिय थिए। उनी फुटबल, क्रिकेट, दौड र टेबलटेनिस राम्रो खेल्थे। फुटलबमा भने एकताका उनी ‘स्टार’ खेलाडी नै रहे। २०५२–५३ सम्म आरसिटीबाट खेल्थे। स्थानीय खेल हुँदा पनि उनैलाई मान्छेहरूले सम्झन्थे।
२०६० सालपछि उनी राजनीतिमै बढी लागे। खेल जीवन छुट्यो। तै पनि धेरैले खेलाडीका रूपमा चिन्ने गरेको उनी बताउँछन्।
‘राजनीतिमा परिवारको प्रेरणाले र खेलकुदमा आफ्नो इच्छाले लागेको थिएँ। राजनीति र खेलकुद दुवैसँग जोडिँदा मलाई धेरेले चिने,’ उनले भने।
राजनीति र खेलकुदबाहेक सुरेन्द्र पेसाले व्यापारी हुन्। उनको बुवाको पिठोको मिल छ। उनी भने खाद्यान्न डिलरका रूपमा काम गर्छन्। सहकारी पनि चलाइरहेका छन्। सामाजिक कार्यहरूमा उत्तिकै सरिक छन्। नेपाल–कोरिया मैत्रीय आयोजना र जग्गा एकीकरण आयोजनाको कार्यसमिति सदस्य हुन्।
मध्यपुर नगरपालिकाबाट सञ्चालित नेपाल–कोरिया मैत्री अस्पताललाई भक्तपुरमा क्यान्सर अस्पतालपछि सबभन्दा सम्पन्न अस्पताल मानिन्छ। यो अस्पतालको पूर्वाधार व्यवस्थापन गर्न पहिले आफूले भूमिका खेलेको र अब थप काम गर्ने उनी बताउँछन्।
जग्गा एकीकरण आयोजनाको सदस्य भएर उनले जग्गाहरू एकीकरण गर्ने काम पनि गरिरहेका छन्। मध्यपुर थिमिको पुरानो बस्तीलाई पुरानै शैलीमा जीवित राख्ने र यसबाहेक सिन्चाटार, मनोहरा, दिव्यस्वरीजस्ता बाहिरी क्षेत्रलाई आधुनिक सहरका रूपमा विकास गर्ने उनले बताए।
‘हिजो गरेको कामको मूल्यांकन पनि मान्छेहरूले मतदानमा गरेजस्तो लाग्छ,’ उनले भने।
रमाइलो कुरा त के भने, सुरेन्द्रले जसलाई हराएर मेयर भए, ती मदनसुन्दर नाताले उनका ज्वाइँ हुन्। यो निर्वाचन ज्वाइँ–जेठानको लडाइँभन्दा बढी सैद्धान्तिक, राजनीतिक एजेन्डा र विचारको लडाइँ भएको उनी बताउँछन्।
‘नेपालकै इतिहासमा बिपी कोइरालालाई जेल हालेर उनकै दाइ त प्रधानमन्त्री बनेका छन्। त्यसैले राजनीतिमा नाता भन्ने हुन्न। नाता भनेको घरभित्रको पारिवारिक कुरा हो,’ उनले भने।
उनले अगाडि भने, ‘मदनसुन्दर राजनीतिमा आउनुभएको र म आएको सँगसँगैजस्तो हो। उहाँ एमालेमा लाग्नुभयो, म कांग्रेसमा लागेँ। पछि मेयर भएर उहाँले राजनीतिक फड्को मार्नुभयो। अहिले म पनि मेयर भएको छु।’
सुरेन्द्रको आफ्नै परिवार भने सक्रिय राजनीतिमा संलग्न छैन। उनको घरमा सबैले स्नातकोत्तर गरेका छन्। चार दाजुभाइमध्ये तीन जना डाक्टर छन्। उनले भने राजनीतिमा लागेर पढाइलाई निरन्तरता दिएनन्। उनले सुरूमा अमृत साइन्स क्याम्पसमा विज्ञान पढे, पछि कहिले व्यवस्थापन र कहिले कानुन पढे। पन्ध्र वर्ष कलेज गए तर कुनै पनि विषयको पढाइ पूरा गरेनन्।
त्यसरी विभिन्न ठाउँमा भर्ना गर्नु र १५ वर्ष कलेज जानुको कारणबारे उनी भन्छन्, ‘मान्छे चिन्न र राजनीतिक वातावरण बनाउन हो।’
कांग्रेसमा यसरी सक्रिय भएर लाग्नुको कारण उनी २०४८ सालको एउटा प्रशिक्षणलाई मान्छन्। त्यस बेला प्रदीप गिरीले प्रजातन्त्रबारे गरेको व्याख्या सुनेपछि कांग्रेसप्रति आकर्षित भएको उनी बताउँछन्।
‘प्रजातन्त्रमा स्वतन्त्र जीवन बिताउन पाइन्छ भन्ने कुराले म निकै प्रभावित भएँ। म आफू पनि स्वतन्त्रता खोज्ने मान्छे हुँ र त्यो कांग्रेस पार्टीमा पाउँछु जस्तो लाग्यो,’ उनले भने।
यसअघिका मेयरको पाँचवर्षे कार्यकालबाट आफूले धेरै कुरा सिकेको उनी बताउँछन्।
मदनसुन्दरले मध्यपुर थिमिको सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण काम गरे। सम्पदा संरक्षणमा राम्रो काम गरेको भन्दै युएन ह्याबिट्याटको एसिया प्यासेफिक क्षेत्रीय कार्यालयले दुई वर्षअघि उनी नेतृत्वको नगरपालिकालाई 'एसियन टाउनस्केप अवार्ड' दिएको थियो। तर उनले नयाँ र पुरानो बस्ती भनेर विभेद गरेको कुरा सुरेन्द्रले स्थानीयबाट सुनेका छन्। त्यही भएर मध्यपुर थिमिलाई विभेदमुक्त सहर बनाउने भनेर उनले घोषणापत्रमा लेखेका छन्।
त्यो भनेको कस्तो हो? हाम्रो यो प्रश्नमा उनले भने, ‘नयाँ बस्तीमै हो विकास निर्माणका पूर्वाधारहरू बनाउनुपर्ने। त्यही भएर त्यहाँ सबभन्दा धेरै बजेट चाहिन्छ। पुरानोमा त सबै पूर्वाधारहरू निर्माण भइसकेका हुन्छन्। त्यसलाई संरक्षण गर्न मात्र जरूरी छ। तर पुरानो मेयरले नयाँ बस्तीमा त्यति काम गर्नुभएन। त्यो मलाई सबभन्दा ठूलो कमजोरीजस्तो लाग्छ।’
उनले अर्को कुरा पनि पहिलेका मेयरबाट सिकेका छन्। त्यो भनेको एकल निर्णय नभई सबैसँग छलफल गरेर काम गर्नुपर्ने।
‘आफैं मात्र सबै होइन भन्ने ठानेर सबैलाई सम्मान व्यवहार गर्नुपर्छ भन्ने मैले सिकेको छु,’ उनले भने, ‘गर्न नसकिने कामलाई हुँदैन भनेर पहिल्यै भन्नुपर्ने रहेछ। हुन्छ–हुन्छ भनेर रोकेर राख्यो भने त्यसले समस्या ल्याउँछ। कानुनले भ्याएसम्म हुने काम गर्छु र जनताको सेवामा दिनरात खट्नेछु।’
सुरेन्द्रलाई आफू मेयर भएको पहिलो छ महिनामै आफूले के गर्छु भनेर जनतालाई देखाउन मन छ। त्यही भएर उनको विज्ञ टोलीले आगामी दिनमा गर्ने कामहरूको रोडम्याप तयार पारिरहेको छ।
उनका अनुसार मध्यपुरको मुख्य समस्या खानेपानी, फोहोरमैला, सडक र ढल हुन्। ज्येष्ठ नागरिकका कुरा, महिला र युवा स्वरोजगारका कुरामा पनि पहिला त्यति ध्यान नपुगेजस्तो उनलाई लाग्छ। ज्येष्ठ नागरिकलाई ७० वर्ष नभई ६० वर्षमै स्वास्थ बिमा गर्ने भनेर नगरपालिकाले घोषणा गर्ने र प्रत्येक वडामा स्वास्थ्य क्लिनक राखेर डाक्टर पठाएर सेवा दिने उनले सोचेका छन्।
त्यसबाहेक शिक्षा, स्वास्थ्य र सहकारी नीति ल्याउन ध्यान पुर्याउनुपर्ने उनले देखेका छन्। शिक्षा मन्त्रालयको शिक्षाविज्ञ र फोहोरमैला व्यपस्थापनबारे युरोपमा अध्ययन गरेका मान्छेसँग पहिलेबाटै उनले परामर्श लिइरहेका छन्। सम्पदा संरक्षणको विषयमा भने मध्यपुरमै दक्ष मान्छे भएकाले बाहिर खोज्नै नपर्ने उनी बताउँछन्।
उनले आफ्नो घोषणापत्रको पहिलो नम्बरमा स्वबासीको घरजग्गाको जग्गाधनीपुर्जा हालसाबिक गरी वितरण गर्ने भनेका छन्। बालकुमारी, चपाचो, नगदेश, बोडेमा परापूर्वकालदेखि बसेका कतिपय मान्छेसँग जग्गाधनीपुर्जा छैन। कतिपय ठाउँमा नापी नै भएको छैन। पुर्जा हुनुलाई स्थानीयले सम्पत्ति फिर्ता पाएजस्तै महसुस गरेकाले पाँच वर्षमा सबैलाई पुर्जा पाउने वातावरण बनाउन प्रयास गर्ने उनी बताउँछन्।
‘यो पाँच वर्ष म जनतासँग प्रत्यक्ष सरोकार भएका विषयमा बढी केन्द्रित हुन्छु,’ उनले भने, ‘मध्यपुर सानो ठाउँ भएकाले यहाँका सबै समस्या मैले बुझेको छु।’