सप्तरीको हनुमानगर नगरपालिकामा जनमत पार्टीले पहिलो मेयर जितेपछि चौतर्फी चर्चा बटुलिरहेको छ। जनमतबाट मेयरका उम्मेदवार वीरेन्द्र माझीले निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहलाई १६१ मतान्तरले हराएका छन्।
माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित भएका हुन्। जसपाका साहले ६ हजार २४६ मत प्राप्त गरे। निवर्तमान मेयर रहेका उनी मधेश प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन्।
हनुमानगरमा जसपाको बलियो संगठन, सत्ता र मन्त्रीका छोरा समेत रहेकाले साहलाई हराउने माझी को हुन्? चर्चाको विषय बनेको छ। निर्वाचनअघि उनी जसपामै थिए। तर मेयरमा टिकटका लागि जसपाभित्र अन्तिमसम्मको प्रयास असफल भएपछि उनी जनमत पार्टीमा प्रवेश गरे। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणु यादवनिकट रहेका उनी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका थिए। तर तत्कालीन राष्ट्रिय जनता पार्टीका शैलेशकुमार साहसित १३५५ मतले उनी पराजित भए। त्यतिबेला साहले ५७२० मत ल्याउँदा माझीले ४३६५ मत ल्याएका थिए।
पछि एकीकरण हुँदा साह र माझी एउटै पार्टीमा रहेर काम गरे। उनी केही महिनाअघिसम्म ठेक्कापट्टाको काम पनि गर्थे। जसपाबाट फेरि आफूले टिकट पाउनुपर्ने भन्दै नेतृत्वसँग माझीले लामै कसरत गरे। प्रदेशका सामाजिक विकास मन्त्रीको अडानले अन्तत: टिकट उनका छोराले नै पाए।
जसपाको टिकट वितरणको क्रममाजनकपुरस्थित पार्टीको प्रादेशिका कार्यालयमा टिकटका लागि माझीले वैशाख १० गते दिनभर धर्ना नै बसेका थिए।
प्रयास असफल भएपछि १० गते राति जनमतका अध्यक्ष सिके राउतले उनलाई टिकट दिएका थिए। माझीका निकटस्तका अनुसार उनी पहिलेदेखि पनि राउतको सम्पर्कमा थिए। गाउँमा विद्यालय व्यवस्थापन समितिको चुनावमा पनि राउतका उम्मेदवारलाई नै माझीले सघाएका थिए।
उनका विचारबाट प्रभावित भएका थिए। मेयरमा फेरि उठ्ने भन्दै केही दिन अघिदेखि नै उनी चुनावको तयारी थालिसकेका थिए। मधेश आन्दोलनबाट उदाएका माझी सहज र मिलनसार स्वभाव स्वभावका नेताका रूपमा आफूलाई परिचित गराइसकेका थिए। पछिल्लो मधेश आन्दोलनको क्रममा सप्तरीको भारदहमा उनले नेतृत्व नै गरेका थिए। आन्दोलनको क्रममा पटक-पटक पक्राउ परेका उनी घाइतेसमेत भएका थिए। आन्दोलनबाट उदाएर जनतामा भिजेका छवि, सिके राउतप्रति जनताको झुकाव र निवर्तमान मेयर साहको कम सक्रियताले माझीको विजयी भएको देखिन्छ। माझीका चुनावी अभियानमा खटिएका श्यामसुन्दर मण्डलका अनुसार सुरुवाती दिनमा धेरैले उनी चुनाव जित्ने विश्वासै गर्दैनथे। किनकी जनमत पार्टीको यहाँ तुलनात्मक रूपमा बलियो संगठन छैन्।
समाजमा भिजेकोको नेता र सिके राउतका मुद्दाले विस्तारै उनलाई जनताले पत्याउन थाले। जसपाका उम्मेदवार साह निरन्तर बिरामी परिरहने भएका कारण प्रचार प्रसार पनि उनले धेरै गर्न सकेनन्। तर माझीले भने सिके राउतको एजेन्डालाई लिएर प्रचार प्रसारलाई तीव्रता दिए।
‘युवाहरूको पूरा मेहनतका कारण यो नतिजा आएको हो। हाम्रो पार्टीमा पढेलेखेको ठूलो जमात छ। उनीहरूले व्यापक अभियान गरे जो जुन भाषामा सम्झिन्थे उनीहरूलाई त्यहीँ भाषामा बुझायौँ, आफ्ना मुद्दा राख्यौँ,’ मण्डलले भने।
माझी र उनका समर्थकले साढे चार वर्षे कार्यकालमा नगरपालिकामा करोडौं भ्रष्टाचार भएको मुद्दा जोडतोडले उठाए।
‘महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन लिएर हामी घर-घर पुग्यौं। कति भ्रष्टाचार भएको छ हामीले बतायौं। आफ्ना एजेण्डाहरू चुनावी प्रतिवद्धता पत्र बाँडेर हामीले जनतालाई बुझायौं। जनता राज स्थापना गर्ने, नागरिक सुशासन, नागरिक निर्माण गर्ने मुद्दाहरूले जनता एकदमै प्रभावित भए,’ मण्डलले थपे।
जनप्रतिनिधिलाई राइट टु रिकल, समाजवाद, जनता राज लगायतका जनमत पार्टीका मुद्दाहरूलाई सहज भाषामा जनतालाई बुझाउन सफल हुँदा समेत माझी जितेको परिणाम आएको उनको भनाइ छ।