कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ।
वीरेन्द्रनगरमा कांग्रेसबाट मेयर र माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार छन्। एमाले, राप्रपा, एकीकृत सामाजवादी लगायत दलहरू दुवै पदमा एक्लै लडिरहेका छन्।
अहिलेसम्मको गणनाअनुसार एमालेकी मेयर उम्मेदवार मोहनमाया भण्डारी कांग्रेसका उपेन्द्रबहादुर खड्काभन्दा १ सय ९० मतले अगाडि छन्। भण्डारीले १२ हजार ३० मत ल्याएकी छन् भने खड्काले ११ हजार ८ सय ४० मत पाएका छन्। राप्रपाका उम्मेदवार मुकुन्दश्याम गिरीले ६ हजार ५ सय ५२ मत पाएका छन्।
उपमेयरमा एमालेका निलकण्ठ खनाल माओवादी उम्मेदवारभन्दा ६ हजार ६ सय ४३ मतले अगाडि छन्। उनले १५ हजार ३ सय ४५ मत ल्याएका छन् भने माओवादीकी शान्ति ढकालले ८ हजार ७ सय २ मत ल्याएकी छन्।
प्रमुख र उपप्रमुख दुवै पदमा एकल उम्मेदवारी दिएको एकीकृत समाजवादीका उम्मेदवारले १ हजार मत पनि पुर्याएका छैनन्।
अहिलेसम्म वीरेन्द्रनगरका १६ मध्ये ११ वडाको मतगणना सकिएको छ। यहाँ ६७ हजार ५६ मतदातामध्ये ४८ हजार ३ सय ४ जनाले मतदान गरेका थिए।
मतगणना सकिएका ११ मध्ये ७ वडामा एमालेले जितेको छ भने ४ वटामा कांग्रेसले जितेको छ।
मतगणना सकिएका वडाहरू १, २, ३, ४, ५, ६, १२, १३, १४, १५ र १६ हुन्। तीमध्ये १६, १४, १२, ५, ४, ३ र २ मा एमालेले वडाध्यक्ष जितेको छ भने १, ६, १३ र १५ मा कांग्रेसले जितेको छ।
वडा नम्बर ४, १४ र १६ मा मेयरका लागि एमालेका भण्डारीको मत धेरै आएको छ। कांग्रेसको राम्रो प्रभाव रहेको मानिएको वडा नम्बर ६ बाट खड्कालाई भण्डारीभन्दा १ सय ९१ मत धेरै आएको छ।
कांग्रेसलाई बढी मत आउने अनुमान गरिएकामध्ये वडा नम्बर ७ को गणना जारी छ भने एमालेलाई बढी मत आउने अनुमान गरिएकामध्ये ८ र ११ नम्बर वडामा गणना गर्न बाँकी छ।
मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर रहे पनि उपमेयरमा एमाले उम्मेदवार खनालको जित सुनिश्चित छ। उनीबाहेक उपमेयरका अरू १२ जना उम्मेदवारको मत जोड्दा पनि खनाल २ हजार ७ सय ९० मतले अगाडि छन्।
नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी कांग्रेसको राम्रो प्रभाव भएका कतिपय वडामा गणना बाँकी रहेकाले अझै जितको आशा रहेको बताउँछन्।
एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत बिसी भने मेयर र उपमेयर दुवैमा एमालेको जित सुनिश्चित भएको दाबी गर्छन्। उनले मतगणना गर्न बाँकी ८ र ९ नम्बर वडामा एमालेको राम्रो प्रभावलाई सुनिश्चित जितको आधार बनाएका छन्।