देशभरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तिक्तता छ। माओवादीले एमालेविरूद्ध नेपाली कांग्रेससँग, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग मिलेर चुनावी तालमेल गरेको छ।
नुवाकोटको किस्पाङ र प्युठानको झिमरूक गाउँपालिकामा भने भिन्न दृश्य देखियो।
नुवाकोटको किस्पाङमा माओवादीको सहयोगमा एमालेले अध्यक्ष जितेको छ भने प्युठानको झिमरूकमा एमालेको समर्थनमा एमालेले अध्यक्ष जितेको छ।
किस्पाङमा एमालेका विरवल तामाङले अध्यक्ष जितेका छन् भने नेकपा माओवादी केन्द्रका अर्जुनप्रसाद न्यौपानेले उपाध्यक्ष जितेका छन्।
अध्यक्षमा एमालेका तामाङले ३ हजार ६ सय ३८ मत ल्याएका छन। दोस्रोमा रहेका कांग्रेसका छत्रबहादुर लामाले ३ हजार ४ सय ५२ मत पाएका छन्।
माओवादीका अर्जुनप्रसाद न्यौपाने ३ हजार ७ सय १२ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले कांग्रेसकी दिल कुमारी मोक्तानलाई हराएका हुन्।
प्युठानको झिमरूका एमालेको समर्थनमा माओवादी केन्द्रका सितबहादुर महतरा क्षेत्री अध्यक्षमा विजयी भएका छन्। उनले ५ हजार ९ सय २९ मत पाएका छन्। उनले राष्ट्रिय जनमोर्चाका टीकाबहादुर जिसीलाई हराएका हुन्। जिसीले ५ हजार ६ सय ९० मत पाएका छन्। माओवादीले एमालेको मतले जिते पनि एमालेका विष्णु घर्ती मगर भने उपाध्यक्षमा विजयी हुन सकेनन्। उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोख्रेल विजयी भएका छन्। उनले ६ हजार ४ सय १९ मत ल्याएका छन्। यो गाँउपालिकामा कांग्रेस र राष्ट्रिय जमोर्चाको तालमेल थियो।
यो गाँउपालिकामा एमाले र माओवादीबीच वडा तहमा समेत तालमेल भएको थियो।