धनुषामा स्थानीय तहको चुनावमा मेयरमा उठेका नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्षद्वय पराजित भएका छन्।
धनुषाधाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका माओवादीका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव (दिपक) अन्तिम मतपरिणामअनुसार तेस्रो भएका छन्।
यहाँबाट निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका बालेश्वर मण्डल विजयी भएका छन्। ४७१८ मत प्राप्त गरी उनले जितेका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले ४१७९ मत प्राप्त गरे। माओवादीका जिल्ला अध्यक्ष दिपकले भने ३२५९ मत ल्याए।
कमला नगरपालिकामा मेयरमा उठेका जसपाका जिल्ला अध्यक्ष पशुपति यादव नेपाली कांग्रेसका उम्मेदवारसित १०२८ मतले पराजित भएका छन्। कांग्रेसका विश्वेश्वर यादव ३८८७ मत ल्याएर विजयी भएका छन्। पशुपतिले २८५९ मत ल्याए।
मेयरमै उठेका कांग्रेस र एमालेका जिल्ला अध्यक्षहरू समेत पछि परेका छन्। एमालेबाट सबैला नगरपालिकाका मेयरका उम्मेदवार एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव ४७५ मतले पछि परेका हुन्।
हालसम्मको मतगणनामा यहाँ नेकपा माओवादी केन्द्रका कारिराम यादवले २८५० मत ल्याएर अग्रता कायम गरेका छन्। उनी माओवादी नेता मातृकाप्रसाद यादवका भाइ हुन्। एमाले अध्यक्ष राजकिशोरले भने २३७५ मत ल्याएर उनलाई पछयाइरहेका छन्।
लाकतान्त्रिक समाजवादी पार्टीका रामचन्द्र जयसवालले २२५३ मत ल्याएका छन्। त्यस्तै क्षिरेश्वरनाथ नगरपालिकाका मेयर उम्मेदवार कांग्रेसका जिल्ला सभापति योगेन्द्र पंजियारसमेत एमाले उम्मेदवारसँग ३४० मतले पछि परेका छन्।
हालसम्मको मतगणनामा यहाँबाट एमालेका सुखदेव यादवले २१९० मत ल्याएका छन् भने निवर्तमान मेयर समेत रहेका पंजियारले १८५० मत प्राप्त गरेका छन्।
यद्यपि दलहरूबीचको विवादले जेठ ३ गतेदेखि स्थगित भएको मतगणना अझै सुरू हुन सकेको छैन। क्षिरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएपछि निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नआएसम्मका लागि मतगणना स्थगित गरेको थियो।
वडा नम्बर ५ मा एमालेका उम्मेदवार १ मतले विजयी भए पनि निर्वाचन अधिकृतले पक्षपात गरेर कांग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको उनीहरूको आरोप छ। एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने उनीहरूले माग गरे पनि कांग्रेसले मानेको छैन।
विवाद सम्बन्धमा निर्वाचन अधिकृत विकास बस्नेतले केन्द्रीय निर्वाचन आयोगलाई पत्र पठाएका छन्। उताबाट आउने निर्देशन बमोजिम आफूहरू अघि बढ्ने उनले बताए।
जसपाका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव समेत थिए। राजीनामा दिएर उनले मेयरमा उम्मेदवारी दिएका थिए।