कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया भण्डारी निर्वाचित भएकी छन्।
नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धनलाई हराउँदै नेकपा एमालेकी भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका छन्।
भण्डारीले गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन्। उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४ मत ल्याएका छन्।
राप्रपाबाट मेयर उठेका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याएर तेस्रो भएका छन्।
यस्तै, उपमेयरमा निर्वाचित खनालले २० हजार ३६४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएकी छन्।
राप्रपाका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ३ हजार ९६७ मत ल्याएकी छन्।
मेयरमा निर्वाचित भण्डारी यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन्। उपमेयर भएर पाँच वर्ष कार्यकाल सम्हालेकी उनलाई एमालेले अहिलेको स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार बनाएको थियो।
मेयरमा निर्वाचित भण्डारीले आफू उपमेयर हुँदा सुरू गरेका कामहरूलाई अब मेयर भएपछि पनि निरन्तरता दिने बताएकी छन्।
‘म उपमेयर हुँदा सुरूआत गरेर पनि पूरा नभएका कतिपय कामहरू छन्, ती कामहरूसँगै अब वीरेन्द्रनगरको समृद्धिका लागि गर्नुपर्ने कामहरू गर्नेछु,’ उनले सेतोपाटीसँग भनिन्।
उनले पार्टीले महिलाको कदर गर्दै आफूलाई मेयरको टिकट दिएपछि यसलाई नगरवासीले अनुमोदन गरिदिएकोले नगरबासीको विश्वासलाई कुनै पनि हालतमा कमी हुन नदिने प्रतिबद्धता जनाइन्।
भण्डारी २०७९ को स्थानीय तह निर्वाचनबाट कर्णालीको पहिलो एकमात्र महिला मेयर हुन्।
२०७४ काे निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकामा मात्र महिला मेयर बनेकी थिइन्। त्यसबेला पनि उनी कर्णालीकी एकमात्र महिला मेयर थिइन्।
यस्तो छ भण्डारीको राजनीतिक यात्रा
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका बालाराम शर्मा मेयरमा पराजित हुँदा उपमेयर उठेकी भण्डारीले जितेकी थिइन्। त्यो बेला मेयरमा नेपाली कांग्रेसबाट उठेका देवकुमार सुवेदीले जितेका थिए।
२०७४ मा भण्डारीले १६ हजार ६८ मत ल्याएर जित्दा प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत ल्याएकी थिइन् भने माओवादीकी हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत ल्याएकी थिइन्।
उपमेयर हुँदा ढकाल कुनै पनि विवादमा मुछिइनन्।
२०५५ सालबाट विद्यार्थी राजनीति सुरू गरेकी ढकाल २०५६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतको सहसचिव भइन्।
अखिल नेपाल महिला संघको जिल्ला हुँदै प्रदेश तहसम्म काम गरेकी ढकाल अहिले एमालेको केन्द्रीय सदस्य छिन्। उनी अहिले अखिल नेपाल महिला संघको सचिवालय सदस्य पनि हुन्।
उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् भने कानुनमा स्नातक गरेकी छन्।
उनी २०३६ चैत २६ गते वीरेन्द्रनगर–१६ मेहेलीमा जन्मिएकी हुन्।
२०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा १६ औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आबद्ध भएकी हुन्।
२०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल २०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व गरेकी थिइन्।
उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–इन्चार्ज पनि हुन्।
उपमेयरमा निर्वाचित खनाल यसअघि वडा अध्यक्ष थिए। २०७४ सालको स्थानीय तह निर्वाचनबाट उनले वडा नम्बर ४ को वडा अध्यक्ष जितेका थिए। खनाल नेकपा एमालेको वीरेन्द्रनगर नगर कमिटी अध्यक्षसमेत हुन्।