स्थानीय निर्वाचन २०७९ मा नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा मेयरसहित कम्तिमा सातवटा वडा जित्ने अपेक्षा गरेको थियो। अपेक्षाविपरित कांग्रेस पहिलेको भन्दा कम वडामा मात्र सीमित भएको छ।
अघिल्लो निर्वाचनमा कांग्रेसले मेयरसहित वीरेन्द्रनगरका ६ वटा वडामा जितेको थियो। वडा नम्बर ३, ५, ६, ७, ९ र १६ नम्बर वडामा २०७४ मा कांग्रेसले वडा अध्यक्ष जितेको थियो।
अहिले भने पाँचवटा वडामा मात्र अध्यक्ष जितेको छ। अहिले १, ६, ७, १३ र १५ नम्बर वडामा कांग्रेसले जितेको छ। बाँकी सबै वडामा नेकपा एमालेले जितेको छ।
यसपटक कांग्रेसले आफूले पहिले जितेका ३, ५, ९ र १६ नम्बर वडा गुमाएको छ। १, १३ र १५ नम्बर वडा एमालेबाट खोसेको छ।
गत निर्वाचनमा वीरेन्द्रनगरको एउटा वडा जितेका नेकपा माओवादी केन्द्र अहिले भने कुनै पनि वडा जितेन। गत निर्वाचनमा माओवादीले जितेको १४ नम्बर वडा अहिले एमालेले खोसेको छ।
गएको निर्वाचनमा नेपाली कांग्रेसका देवकुमार सुवेदीले वीरेन्द्रनगरमा मेयर जितेका थिए भने उपमेयर एमालेका मोहनमाया भण्डारीले जितेकी थिइन्। अहिले माओवादीसँग गठबन्धन गर्दा पनि कांग्रेसले मेयर हारेको छ। गठबन्धनअनुसार माओवादीबाट उपमेयरको उम्मेदवार बनेकी शान्ति ढकालले पनि हारेकी छन्।
बिहीबार आएको अन्तिम मतपरिणामअनुसार वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमालेले जितेको छ। नेकपा एमालेका मोहनमाया भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका छन्।
भण्डारीले गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन्। उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४ मत ल्याएका छन्।
राप्रपाबाट मेयर उठेका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याएर तेस्रो भएका छन्।
यस्तै उपमेयरमा निर्वाचित खनालले २० हजार ३६४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएकी छन्।
राप्रपाका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ३ हजार ९६७ मत ल्याएकी छन्।
कांग्रेसबाट मेयरका उम्मेदवार खड्काले विज्ञप्ती जारी गर्दै आफू हारे पनि नगरवासीको साथमै रहने प्रतिबद्धता जनाएका छन्। जनप्रतिनिधि नागरिकले आफैं छान्न पाउने लोकतन्त्रलाई सम्मान गर्दै आफूले पाएको जनमत स्वीकार गरेको उनले बताएका छन्।
‘निर्वाचनमा एक पक्षको जित र अर्को पक्षको हार स्वाभाविक हो, आफ्नो नेतृत्व छान्न गर्नुभएको मतदानको नतिजालाई म सहर्ष स्वीकार गर्दछु,’ उनले भनेका छन्, ‘म, मेरो पार्टी र गठबन्धनलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्नुभएकोमा यहाँहरुप्रति आभारी छु।’