झापाको दमक नगरपालिकामा जननिर्वाचित मेयर बन्ने राप्रपा नेता राम थापाको सपना यसपालि साकार भएको छ।
पटक-पटक चुनाव लड्दै र एमाले उम्मेदवारसँग हार्दै आएका थापाका लागि यो स्थानीय निर्वाचन पुरानो बदला लिने अवसर पनि बनेको छ।
पञ्चायतकालमा ‘मण्डले’ भनेर बद्नाम राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीतिक यात्रा सुरू गरेर अविछिन्न त्यही विचारमा अडानवद्ध थापालाई गणतन्त्रवादी दलहरूले मेयरको आसनमा पुर्याउन सहयोग गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सत्ता गठबन्धनका दलको सहयोगमा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको राजनीतिक नेतृत्व हात पारेका हुन्।
दमकका १० वटै वडाको मतगणना सकिँदा थापाले १७५२५ मत पाएका छन् भने उनकी प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत ल्याएकी छन्।
उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेगिना भट्टराईले जित हात पारेकी छन्। १७०७२ मत पाएकी भट्टराईले एमालेका अम्बिकाप्रसाद खनाललाई हराएकी हुन्। खनालले १६५७४ मत पाए।
‘दमकले परिवर्तन खोजेको थियो’, जितपछि सेतोपाटीसँग कुरा गर्दै थापाले भने, ‘जनताले त्यो मतपत्रमार्फत् व्यक्त गर्नुभयो। अहिले म सबैप्रति आभार प्रकट गर्दछु।’
त्यसो त उनी दमकको मेयर नबनेका हैनन्। राजा ज्ञानेन्द्रको शासनकालमा उनी दमकको मनोनित मेयर बनेका थिए।
दमकमा धेरै मानिसले थापालाई राम दाइ भन्छन्। सबैलाई थाहा थियो राम दाइको ‘घिडघिडो’ जननिर्वाचित मेयर बन्ने छ। हो, ‘घिडघिडो’ किनभने राप्रपाका प्रदेश १ अध्यक्ष थापाले २४ वर्षयता धेरै चुनाव लडिसकेका थिए। तर, उनको भागमा हार मात्रै हात लाग्थ्यो। यसपटक अन्तिम समयमा दमकमा बनेको ‘महागठबन्धन’ उनको ‘घिडघिडो’ पूरा गर्ने टर्निङ प्वाइन्ट सावित भयो।
२०३९ सालमा दमक नगरपालिका बनेदेखि नै उनले मेयर बन्ने सपना बुन्दै आएका थिए। त्यसबेलाको सपना पूरा गर्न झन्डै चार दशक लाग्यो उनलाई। २४ वर्षअघि पहिलो पटक मेयर लडेका उनले त्यसयता प्रयास जारी राखेका थिए। त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए।
थापाले २०३५-०३६ सालमा भद्रपुरको मेची बहुमुखी क्याम्पसमा छँदै उनले राजावादी विद्यार्थीको रूपमा राजनीति सुरू गरेका थिए। उनी त्यसयता उही विचार र उही सपनामा एकाग्रह छन्। एमाले अध्यक्ष ओलीको गृह नगरमा यसपालि एमाले भर्सेस महागठबन्धन बनेको थियो।
२०७४ सालको स्थानीय निर्वाचनमै थापा दोस्रो भएका थिए। २०७४ सालमा एमालेका रामनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा थापाले ७ हजार ६ सय ५५ मत मात्रै पाएका थिए।
चुनावअघि थापा त्रस्त नभएको भने होइन। मेयर बन्ने उनको सपना पूरा हुन गठबन्धनका सबै दलहरूले उनलाई इमानदारीपूर्वक मतदान गर्नुपर्ने थियो, अन्यथा उनले एकै पदमा हारको ह्याट्रिक गर्ने थिए। तर, परिणामले देखाइसक्यो, गठबन्धन दलहरू उनीप्रति इमान्दार देखिए।
अन्य दलहरू थापाप्रति इमान्दार देखिनुका पछि उनीहरूको आफ्नै स्वार्थ निर्णायक बन्यो। उनीहरू जसरी पनि दमकमा एमाले हराउन चाहन्थे। ओलीकै गृहनगरमा उनकै दलका उम्मेदवारलाई हराउन पाए तीन दशकयता एमालेको एकछत्र दबदबा अन्त्य गर्न सकिने स्वार्थ उनीहरूको थियो। यसका लागि उनीहरूले यसपटक राम थापाको नेतृत्व स्वीकारे। र, सफल पनि भए।
एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण दमक हरेकजसो चुनावमा चासोको केन्द्रमा पर्दै आएको छ। २०४६ को परिवर्तनपछि भएका सबै स्थानीय चुनावमार्फत् दमकमा एकछत्र वर्चश्व एमालेको रहेका कारण पनि यो नगरले धेरैको ध्यान खिच्दै आएको छ। यसपटक महागठबन्धन भर्सेस एमाले भएपछि चासो झनै बढेको थियो।
हालसम्मको चुनावी इतिहासको नतिजाअनुसार दमक एमालेको परम्परागत किल्ला मानिन्थ्यो। २०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो। यी तीनमध्ये पछिल्ला दुईटा निर्वाचनमा राम थापा एमालेका रोमनाथ ओलीका निकटतम् प्रतिस्पर्धी थिए। २०५४ मा ओलीसँगै हार व्यहोरेका उनले २०७४ मा पनि दोस्रो स्थानमै चित्त बुझाउनु परेको थियो।
यो चुनाव त्यो इतिहास बदल्ने क्षण पनि भएको छ, जसको नेतृत्व उनै थापाले गर्न पाएका छन्। ओलीकै गृहनगरमा एमाले उम्मेदवारलाई नै हराएर नगरको नेतृत्व हात पार्नुको खुसी साँच्ने अवसर थापालाई मतदाताले जुराइदिएका छन्।
मेयर बन्ने झन्डै तीन दशक लामो सपना साकार पारेका थापाले चुनावअघि सेतोपाटीसँग भनेका थिए, ‘मसँग दमकलाई नमूना नगर बनाउने, यहाँका जनतालाई साँच्चैको सेवा गर्ने सपना र योजना छ। त्यही हुटहुटीले मलाई निरन्तर प्रयास गर्न प्रेरित गरेको हो।’
उनले दमक नगरभित्र ‘अनियमितता र कमिसनतन्त्रको ठूलो जालो लागेको’ आरोप पनि लगाउँदै आएका छन्।
एमालेको ठूलो दबादबायुक्त नगरमा मेयर चुनिएपछि उनले यसअघि वाचा गरे जसरी नगर हाँक्लान्? तीन दशक लामो सपना पछ्याउँदै दमकको मेयर बनेका थापाको सफलता यही प्रश्नको उत्तरमा निर्भर हुनेछ।