२०७४ को निर्वाचनबाट सुर्खेतमा ६ वटा स्थानीय तहमा नेतृत्व गरेको नेपाली कांग्रेस अहिले खुम्चिएको छ।
स्थानीय तह निर्वाचन २०७९ को नतिजाअनुसार सुर्खेतमा नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन गर्दासमेत पहिले जितेका दुईवटा पालिका गुमाएर ४ वटामा खुम्चिएको छ।
नेपाली कांग्रेसले अहिलेको निर्वाचनबाट कांग्रेस बलियो मानिएका र अघिल्लो निर्वाचनबाट नेतृत्व लिएका सुर्खेतका ६ मध्ये तीन वटा पालिका भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चिंगाड गाउँपालिका निर्वाचनबाट गुमाएको छ।
भेरीगंगा नगरपालिकामा कांग्रेसले माओवादीसँग गठबन्धन गर्दासमेत एमालेले नेतृत्व लिएको छ। चिङ्गाड गाउँपालिकामा माओवादीको उम्मेदवार नपर्दासमेत कांग्रेसले एमालेसँग पराजित हुनुपरेको छ। वीरेन्द्रनगर नगरपालिकामा पनि माओवादीसँग गठबन्धन गरेको कांग्रेसले एमालेसँग पराजित हुनुपर्यो।
२०७४ को निर्वाचनबाट नेपाली कांग्रेसले सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा नेतृत्व लिएको थियो।
यीमध्ये पञ्चपुरी, बराहताल, गुर्भाकोटमा गठबन्धन नगरेरै काँग्रेसले पुनः नेतृत्व लिएको छ।
तीन पालिका गुमाएर एमालेलाई सुम्पिएको कांग्रेसले एउटा नगरपालिका भने एमालेबाट खोसेको छ। यसअघिको निर्वाचनबाट एमालेले नेतृत्व लिएको लेकवेशी नगरपालिकामा अहिले प्रमुख कांग्रेसले जितेको छ। उपप्रमुख भने एमालेले नै जितेको छ।
अघिल्लो निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा कांग्रेसले जितेको थियो भने एमालेले उपप्रमुख जितेको थियो। अहिले वीरेन्द्रनगरका ११ वटा वडासहित प्रमुख र उपप्रमुख एमालेले नै जितेको छ।
यसअघि तीन वटा मात्र पालिकाको नेतृत्व लिएको एमालेले अहिले ४ पालिकाको नेतृत्व लिएको छ। यसअघि सिम्ता गाउँपालिका, लेकवेशी नगरपालिका र चौकुने गाउँपालिकामा एमालेले जितेको थियो। अहिले लेकवेशी र चौकुने गुमायो भने सिम्तामा नेतृत्व कायमै राख्यो। वीरेन्द्रनगर र भेरीगंगा काँग्रेसबाट खोसेको छ।
चौकुने गाउँपालिका माओवादी–काँग्रेस गठबन्धनले एमालेबाट खोसेको छ।
नेपाली कांग्रेसले गठबन्धन गर्दा पनि एमालेबाट खोस्न नसकेको पालिका सिम्ता गाउँपालिका हो।
२०७४ को निर्वाचनबाट सुर्खेतको एउटा पनि पालिका नपाएको नेकपा माओवादी केन्द्रले यो पटक एउटा पालिकाको नेतृत्व लिएको छ। योपटक नेपाली काँग्रेससँग गठबन्धन गरी चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादीले जितेको छ। उपाध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित भएका छन्।
सुर्खेतको ९९ वटा वडामध्ये कांग्रेसले ५१ वटामा अध्यक्ष जितेको छ। गुर्भाकोटका ९, चिंगाडका ३, चौकुनेका ४, पञ्चपुरीका ७, बराहतालका ३, वीरेन्द्रनगरका ५, भेरीगंगाका ८, लेकवेशीका ८ र सिम्ताका ४ वटा वडामा कांग्रेसले अध्यक्ष जितेको छ।
यस्तै एमालेले ४१ वटा वडामा जितेको छ। गुर्भाकोटका ५, चिङ्गाडका ३, चौकुनेका ४, पञ्चपुरीका ३, बराहतालका ५, वीरेन्द्रनगरका ११, भेरीगंगाका ३, लेकवेशीका २ र सिम्ताका ५ वटा वडामा एमालेले अध्यक्ष जितेको हो।
बाँकी ७ वडामा नेकपा माओवादीले अध्यक्ष जितेको छ। चौकुने, भेरीगंगा र बराहतालका २/२ र पञ्चपुरीका १ वडामा माओवादीले जितेका छन्।