२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले दैलेखमा एउटा मात्रै वडा सदस्यमा मात्रै चित्त बुझायो। यसपटक उसले दैलेखमा दुई पालिका प्रमुख जितेको छ। भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिकामा अध्यक्ष जितेको छ। यी दुई पालिका जित्नु उसको लागि आफैंमा उपलब्धी हो। यी गाउँपालिकामा उसले नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर जितेको हो।
पूर्वी पहाडी जिल्ला पाँचथरमा अघिल्लो पटक वडा अध्यक्षमै सिमित रहेको नेकपा माओवादी केन्द्रले यसपटक १ पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको छ। त्यहाँ उसले नेपाली काग्रेससँग गठबन्धन गरेको हो।
गोरखाका ११ पालिकामध्ये गत निर्वाचनमा माओवादीले २ मात्रै जितेको थियो। यस पटक एक्लैले ९ पालिका जितेको छ। धेरै ठाउँमा गठबन्धन गरेर जिते पनि माओवादीले यसपालि कतिपय पालिकामा एक्लैले कांग्रेस र एमाले सहितका गठबन्धनलाई हराएको छ।
रूकुमको चौरजहारी नगरपालिकामा उसले कांग्रेस एमाले गठबन्धनलाई हराएको छ। कालिकोटको पचालझरना गाउँपालिकामा समेत उसले एमाले-कांग्रेस गठबन्धनलाई हराएको छ। रोल्पाको थवाङमा त माओवादीविरूद्ध कांग्रेस, एमाले र विप्लवको पार्टीले समेत मोर्चाबन्दी गरेका थिए। त्यहाँ समेत उसले जित हासिल गरेको छ।
अहिलेसम्म आएको नतिजालाई आधार मान्ने हो भने २०७४ मा भन्दा माओवादी केन्द्रले आफूलाई धेरै सुधारेको छ। उसले विगतभन्दा धेरै ठाउँमा पालिका प्रमुख/अध्यक्ष जितेको छ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले १ सय ६ पालिकामा प्रमुख/अध्यक्ष र १ सय ११ पालिका उपप्रमुख जितेको थियो। यसपटक उसले यो संख्या कटाइसकेको छ। शुक्रबार दिउँसोसम्मको मतपरिणाममा उसले १ सय ११ पालिकामा प्रमुख/अध्यक्ष जितिसकेको छ भने १ सय १९ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ। भरतपुर महानगरसहित १२ पालिकामा उसले अग्रता लिएको छ।
माओवादीले अग्रता लिएका सबै ठाउँमा जित्दा पनि माओवादी दोस्रो स्थानमा रहेको एमालेलाई पछि पार्ने अवस्था छैन। अर्थात् उसको प्रतिष्पर्धा आफैंसँग छ। आफैंसँगको प्रतिष्पर्धामा यसपालि माओवादीले आफैंलाई जितेको छ।
अहिलेको नतिजा समीक्षा गर्न योग्य रहेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सेतोपाटीलाई बताए। यद्यपी आफूहरूले अहिलेको भन्दा राम्रो गर्न सकिने भए पनि त्यस्तो नभएको उनको भनाइ छ।
'माओवादी केन्द्रको अवस्था विगतभन्दा सुध्रेको छ। हामीले योभन्दा अझै राम्रो गर्न सक्थ्यौं। तर अन्तिमसम्म गठबन्धन गर्ने भनेर अलमलिँदा तयारी पुगेन,' उनले भने,'गठबन्धनको नतिजालाई सकारात्मक मान्न सकिन्छ। यद्यपी गठबन्धन हुने हो कि नहुने हो भन्दाभन्दै धेरै ठाउँमा अन्यौल हुँदा चुनाव हारिएको छ।'
उनले गठबन्धनले गर्दा परिणाममा लाभ भए पनि समग्रमा त्योभन्दा राम्रो गर्न सकिने उनको दाबी छ।
'गठबन्धनले घाटा भयो त भन्न मिल्दैन। तर गठबन्धनका पक्षमा इमान्दार नहुँदा जित्ने ठाउँमा पनि हारिएको छ,' उनले भने,'हामीले योभन्दा राम्रो हुने अपेक्षा गरेका थियौं। त्यस्तो हुन सकेन।'