चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले करिब चार हजार मतको अग्रता लिएकी छन्।
शुक्रबार राति सवा १० बजेसम्मको मतगणनामा दाहालले उक्त अग्रता हासिल गरेकी हुन्।
अहिलेसम्म त्यहाँ ६४ हजार १ सय ८५ मतगणना भएकाेमा गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी दाहालले २४ हजार ६ सय ६० मत ल्याएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २० हजार ६ सय ६३ मत पाएका छन्।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याएका छन्।
उपमेयरमा गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७ सय ९४ मत पाएका छन् भने एमालेको समर्थन रहेको राप्रपाकी हिमला गुरूङले १६ हजार १ सय ६९ मत ल्याएकी छन्।
भरतपुरमा अहिलेसम्म १ देखि १२ नम्बर वडासम्मको मतगणना सकिएको छ भने १३ र १४ को गणना जारी छ।