नेपाली कांग्रेसको संस्थापकमध्येको एक हो, विराटनगरको कोइराला परिवार। कृष्णप्रसाद कोइराला र उनका छोराहरू मातृका, विपी, गिरिजाप्रसादहरूको थातथलो भएकै कारण विराटनगरको राजनीति लामो समय कोइरालाहरूकै वरिपरि केन्द्रीत रह्यो।
कांग्रेस र कोइरालाहरूको त्यही पुरानो विरासत थाम्ने अवसर नागेश कोइरालाको काँधमा आएको छ। कोइराला परिवारबाट विराटनगरको मेयर बन्ने उनी तेस्रो व्यक्ति हुन्।
यसअघि केशवप्रसाद कोइराला विराटनगरको पहिलो जननिर्वाचित मेयर बनेका थिए। २०१४ सालको निर्वाचनमा मेयरमा निर्वाचित कोइराला कांग्रेस नेता शेखरका बुबा हुन्।
बिपीका भाइ केशवपछि २०४९ मा अशोक कोइराला मेयरमा निर्वाचित भएका थिए। उनी पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन्।
अशोकपछि कोइराला परिवारकै सदस्य नागेश कोइराला विराटनगरको तेस्रो मेयर बनेका छन्।
नागेश र शेखर कोइरालाहरूबीच पारिवारिक साइनो त छ। तर उनीहरूबीच हजुरबुबा पुस्ताभन्दा अघिदेखि हाँगा छुटिन्छ। यद्यपी सिन्धुलीको दुम्जाबाटै आएका उनीहरू एकै परिवार जस्तै भएर रहेका छन्। नागेशभन्दा धेरै सिनियर नेताहरू विराटनगरको मेयरको दौडमा रहँदा शेखर कोइरालाको एकल अडानले नागेशले टिकट पाएका थिए। त्यसैले शेखरलाई परिवारमा केन्द्रीत भएको आरोप पनि विराटनगरमा लाग्यो।
यद्यपी नागेशको राजनीतिक यात्राको सुरूआत भने ‘एन्टी कोइराला’ अभियानबाट भएको थियो। कांग्रेस विभाजनका बेला शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा नागेश सहभागी थिए। पार्टीको तरूण दलको जिल्ला सभापति बनेर राजनीतिक यात्रा थालेका कोइराला पार्टी एक भएपछि तरूण दलकै जिल्ला सभापति भए। त्यसपछि पार्टीको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै अहिले उनी उपसभापति छन्। यसअघि जनप्रतिनिधि नभएका कोइराला एकै पटक महानगरको मेयर बन्ने ‘भाग्यमानी’ बनेका छन्।
उनले कांग्रेसभित्रका धेरै हेभिवेटहरूलाई पछि पारेर टिकट हात पारेका थिए।
महानगरका नवर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला नेता मेयर बन्ने दौडमा सामेल थिए। संस्थापन पक्ष र कोइराला, दुबै पक्षले महानगर प्रमुखको टिकटलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका थिए। त्यसक्रममा कोइराला पक्षले टिकट हात पारेको हो।
महानगरमा उम्मेदवारी र गठबन्धनको निर्णय केन्द्रले टुंग्याएपछि जसपाले उपमेयर पाएको थियो। वडाहरूमा भने कतै पनि तालमेल भएन। जब चुनावी अभियान सुरू भयो, नागेशबारे महानगरमा ‘ज्यादै धनाढ्य भएका कारण भ्रष्टाचार नगर्ने’ भाष्य लगभग स्थापित भएको थियो।
चुनावअघि मतदाताहरूसँग सेतोपाटीले भेट्दा उनलाई अधिकांश मतदाताले यति धनाढ्य ठानेका थिए कि जिते भने उनले भ्रष्टाचार गर्दैनन् भन्ने उनीहरूको विश्वास थियो।
विराटनगर महानगर क्षेत्रमा ठूलो क्षेत्रफलको जमिन, धेरै वटा घर र त्यसबाट आर्जन हुने भाडा, ग्रिनक्रस अस्पताललगायत अरू धेरै व्यवसायमा उनी संलग्न रहेको उनलाई चिन्नेहरू बताउँछन्।
नागेशका हजुरबुवा विराटनगरका जमिनदार थिए। उनीहरूको त्यो जमिन अहिले पनि धेरै बाँकी छ। विराटनगरका मुख्य ठाउँमा घर-जग्गाको भाडाबापत उनको परिवारलाई मासिक लाखौं रुपैयाँ आम्दानी हुन्छ।
जसपाका उपमेयर उम्मेदवार अमरेन्द्र यादवले हार्दा मेयरमा सजिलै जितेका नागेशलाई अब महानगर हाँक्न सहज भने छैन। कांग्रेसले विराटनगरलाई आफ्नो आधार क्षेत्र दाबी गर्दै आएका बेला शनिबार बिहान मेयरमा नागेश कोइरालाले सहज जित हात पारे। सधैंजसो विराटनगरमा बहुमत अवस्थामा देखिने कांग्रेसले यसपटक एमालेभन्दा कम वडा जितेको छ।
१९ वटा वडामध्ये सबैभन्दा धेरै एमालेका भागमा ९ वडा पर्दा कांग्रेसले ६ वटा मात्र जितेको छ। उपप्रमुख शिल्पा निराला कार्कीसहित एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेसले ५, ६, ७, ९, १५ र १६ जितेको छ भने महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन्।
२०७४ को निर्वाचनमा विराटनगरमा कांग्रेसले एक्लै मेयर र उपमेयरसहित ७ वटा वडा जितेको थियो। जसपाले ६ वटा जित्दा एमालेले ३ वटा मात्रै जितेको थियो। माओवादीले एउटा र स्वतन्त्रले दुई वडा जितेका थिए।
२०३० जेठ ३१ मा जन्मिएका नागेशले युनिभर्सिटी अफ बाबियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर गरेका व्यक्ति हुन्। उनले यो शैक्षिक योग्यताको उपयोग जनप्रतिनिधिका रूपमा कति गर्लान्? अब उनको वास्तविक परीक्षा सुरू भएको छ।