इलामको सूर्योदय नगरका मेयर रणबहादुर राई आफ्नो पहिलो कार्यकालमा नगरको शिक्षा क्षेत्र सुधारेको र किसान लक्षित सफल कार्यक्रम आयोजना गरेको भनेर प्रशंसित थिए।
पाँच वर्षमा नगरको सामुदायिक शिक्षामा आमूल परिवर्तनको नेतृत्व गरेका उनै राई फेरि सूर्योदयको मेयर चुनिएका छन्। २०७४ मा एमालेबाट निर्वाचित उनी यसपटक भने नेकपा (एकीकृत समाजवादी) बाट सोही पदमा दोहोरिए। उनलाई कांग्रेसलगायतका गठबन्धन दलले सहयोग गर्दा उनले एमालेका काजीमान कागतेलाई हराए।
एमाले नेता कागते प्रदेश १ को सांसद पद त्यागेर सूर्योदयको मेयर लडेका थिए। तर, एमाले विभाजन अघिसम्मका सहयात्री राईबाट उनी पराजित भए।
दोस्रो कार्यकालका लागि मेयरमा चुनिएपछि सेतोपाटीसँग फोनमा कुराकानी गर्दा राई उत्साही सुनिन्थे। समर्थकहरूको भीडभाडकै बीचबाट उनले पहिलो कार्यकालमा गरेको राम्रो कामका लागि जनताले आफूलाई पुरस्कृत गरेको उनले बताए।
‘मलाई सूर्योदयका मतदाताले पुरस्कृत गर्नुभएको ठानेको छु’, उनले भने ‘नगरमा अझै धेरै काम गर्न बाँकी छ। योजनाहरू धेरै छन्। अबको कार्यकालमा म र मेरो टिम पूर्णतः तिनै काममा केन्द्रीत हुनेछौं।’
उनले नगरलाई नमूना बनाउने, चिया क्षेत्रको समस्या सुल्झाउने, सामुदायिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्ने योजना रहेको सुनाए।
‘यसअघि सामुदायिक शिक्षालयको स्तर उकास्न धेरै मिहेनत गरिएको छ’, उनले भने ‘अब अझै राम्रो बनाउने प्रयासमा लाग्नुछ।’
आफ्नो पहिलो कार्यकालमा नगरको सामुदायिक शिक्षाको मुहार उज्यालो पार्ने कामको नेतृत्व गरेका मेयर राईले के गरेका थिए त?
२०७४ मा नगरको जिम्मेवारी लिएपछि रणबहादुर राईले गरेको पहिलो काम नै सामुदायिक विद्यालयका शिक्षकसँगको लामो छलफल थियो। उनी आफैं प्रत्येक स्कुल पुगेर विद्यार्थी र अभिभावकसँग पनि अन्तरक्रियामा सहभागी भए। शैक्षिक क्षेत्रका विज्ञसहितको टोलीसँग आफैं गएर सबैलाई भेटेर कुरा सुनेपछि मेयरले नगरबाट योजना बनाए र कार्यान्वयनमा लगे।
जसै त्यो योजना कार्यान्वयन भयो, सूर्योदयका सामुदायिक विद्यालयहरू विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थाले। पहिले सामुदायिक विद्यालयबाट निकालेर छोराछोरी निजीमा पठाउने अभिभावकहरूले फेरि सामुदायिकमै फर्काउन थाले। गुणस्तरीय पढाइको खोजीमा सिमानामै रहेको भारतीय सहर दार्जिलिङका विद्यालयमा छोराछोरी पठाएका अभिभावकले यतै ल्याउन थाले।
गएको माघ दोस्रो साता सेतोपाटी टिम सूर्योदयका शिक्षालयहरूमा पुग्दा त्यहाँका शिक्षक, अभिभावक, विद्यार्थी सबैले खुसी व्यक्त गरेका थिए। त्यसबेला हामीले भेटेका सूर्योदयका बासिन्दा दलजित राईले भारतको मिरिकमा एउटा मिसन स्कुलमा कक्षा नौ पढ्दै गरेकी छोरीलाई एक वर्षअघि स्थानीय बौद्धधाम माविमा भर्ना गराएको सुनाएका थिए।
बौद्धधाम माविका शिक्षक पेम्बा शेर्पाका अनुसार नगरका मेयर रणबहादुर राईको उच्च शैक्षिक समझ र शिक्षा क्षेत्र सुधारको प्रतिवद्धताले पछिल्लो पाँच वर्षमा नगरका स्कुलहरु फेरिएका हुन्। पेम्बा भन्छन्, ‘स्थानीय सरकारको प्रमुखले शिक्षा क्षेत्रमा कति काम गर्न सक्ने रहेछ भन्ने प्रमाण हाम्रो नगर हो।’
झन्डै साढे तीन दशकदेखि शिक्षण पेसामा रहेका पेम्बाले पछिल्लो पाँच वर्षमा फरक अनुभव गरेका छन्। ‘३४ वर्षको शिक्षण पेसामा पछिल्लो तीन वर्ष मेरा लागि सम्झनलायक भएको छ,’ पेम्बा भन्छन्, ‘यसअघि पनि धेरै जनप्रतिनिधि भोगियो, शिक्षाका हाकिम देखियो। अहिलेका जनप्रतिनिधिमा जति चासो र चिन्ता कसैमा पनि देखिएन। अहिले सामुदायिक स्कुलको शिक्षक हुँ भन्दा गौरव हुन्छ।’
अभिभावक र विद्यार्थीहरूका अनुसार नगर प्रमुख आफैं हरेक महिना सामुदायिक विद्यालयहरूमा पुग्छन्। कक्षामा पसेर विद्यार्थीसँग छलफल पनि गर्छन्। ‘मेयर सर आएर हाम्रो समस्या सोध्नुहुन्छ, केही अप्ठ्यारो छ भने मलाई भन भन्नुहुन्छ,’ बौद्धधाम माविको प्रयोगशालामा भेटिएका विद्यार्थीले त्यसबेला हामीसँग भनेका थिए ‘उहाँले दिएको नोटबुक पूरा गरे नगरेको पनि चेक गर्नुहुन्छ।
मेयर राईले कक्षा ८ र १० का विद्यार्थीहरूलाई एक पटकमा तीन वटा ठूला कापी दिँदा रहेछन्। ती कापीमा गणित, विज्ञान र अंग्रेजी विषयका अभ्यास गरेर विद्यालयमा बुझाउनु पर्दोरहेछ। ती कापी मेयरले पनि हेर्दा रहेछन् र फेरि सबैलाई तीन–तीन वटा कापी दिँदा रहेछन्।
हालसम्ममा नगरका सबै सामुदायिक विद्यालयले नयाँ जीवन पाएका छन्।
हाल सूर्योदयका सामुदायिक विद्यालयहरू विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थालेका छन्। पहिले सामुदायिक विद्यालयबाट निकालेर छोराछोरी निजीमा पठाउने अभिभावकहरूले फेरि सामुदायिकमै फर्काउन थालेका छन्।
गुणस्तरीय पढाइको खोजीमा सिमानामै रहेको भारतीय सहर दार्जिलिङका विद्यालयमा छोराछोरी पठाएका अभिभावकले यतै ल्याउन थालेका छन्।
सूर्योदयका बासिन्दा दलजित राईले भारतको मिरिकमा एउटा मिसन स्कुलमा कक्षा नौ पढ्दै गरेकी छोरीलाई एक वर्षअघि बौद्धधाम माविमा भर्ना गराए।
‘पहिले यहाँका स्कुल राम्रा छैनन् भनेर अरूसँगै मैले पनि छोरीलाई मिरिक पठाएको थिएँ,’ दलजितले भनेका थिए, ’पोहोर हामी चार जनाले नानीहरू यतै ल्याएर सरकारी स्कुलमै हालेका छौं।’
बौद्धधाम माविका शिक्षक पेम्बाका अनुसार नगरका मेयर रणबहादुर राईको उच्च शैक्षिक समझ र शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता नै मुख्य कारण हो। पेम्बा भन्छन्, ’स्थानीय सरकारको प्रमुखले शिक्षा क्षेत्रमा कति काम गर्न सक्ने रहेछ भन्ने प्रमाण हाम्रो नगर हो।’
झन्डै साढे तीन दशकदेखि शिक्षण पेसामा रहेका पेम्बाले पछिल्लो तीन वर्षमा फरक अनुभव गरेको हामीलाई सुनाएका थिए। ‘३४ वर्षको शिक्षण पेसामा पछिल्लो तीन वर्ष मेरा लागि सम्झनलायक भएको छ,’ पेम्बा भन्छन्, ’यसअघि पनि धेरै जनप्रतिनिधि भोगियो, शिक्षाका हाकिम देखियो। अहिलेका जनप्रतिनिधिमा जति चासो र चिन्ता कसैमा पनि देखिएन। अहिले सामुदायिक स्कुलको शिक्षक हुँ भन्दा गौरव हुन्छ।’
अभिभावक र विद्यार्थीहरूका अनुसार नगर प्रमुख आफैं हरेक महिना सामुदायिक विद्यालयहरूमा पुग्छन्। कक्षामा पसेर विद्यार्थीसँग छलफल पनि गर्छन्। ‘मेयर सर आएर हाम्रो समस्या सोध्नुहुन्छ, केही अप्ठ्यारो छ भने मलाई भन भन्नुहुन्छ,’ त्यसबेला विज्ञान प्रयोगशालामा भेटिएका बौद्धधामका कक्षा १० का विद्यार्थीले भनेका थिए ‘अनि उहाँले दिएको नोटबुक पूरा गरे नगरेको पनि चेक गर्नुहुन्छ।’
मेयर राईले कक्षा ८ र १० का विद्यार्थीहरूलाई एक पटकमा तीन वटा ठूला कापी दिँदा रहेछन्। ती कापीमा गणित, विज्ञान र अंग्रेजी विषयका अभ्यास गरेर विद्यालयमा बुझाउनु पर्दोरहेछ। ती कापी मेयरले पनि हेर्दा रहेछन् र फेरि सबैलाई तीन–तीन वटा कापी दिँदा रहेछन्।
नगरको कार्यभार सम्हाल्ने बित्तिकै जनप्रतिनिधिले विद्यालयमा गरेको पहिलो काम थियो अनिवार्य ई–हाजिरी। यसले खेताला शिक्षकलाई बिदा गर्यो र शिक्षकहरुलाई पूरा समय विद्यालयमा राख्यो। यसले कक्षा समयको उपयोग गरेको थियो।
‘अब शिक्षा क्षेत्रलाई अझै उपलब्धिमुलक बनाउने र विद्यार्थीको पठनपाठनलाई अझै उन्नत बनाउने काममा हामी केन्द्रीत हुनेछौं’, मेयर राईले भने ‘शिक्षा हाम्रो सबैभन्दा ठूलो र मुख्य प्राथमिकता हुनेछ। यसका कुनै सम्झौता हुनेछैन।’
ती योजनाबाहेक १२ महिना बाह्रै कार्यक्रम, खेलकुद, हाजिरी जवाफ, वादविवाद, वक्तृत्वकला लगायत गणित, विज्ञान, र अंग्रेजीका विषयगत प्रतियोगिता पनि आयोजना गर्ने योजना मेयरले अघि सारेको र त्यसले राम्रो परिणाम दिएको शिक्षकहरु बताउँछन्। सूर्योदयको इच्छा, छोरीबुहारीलाई शिक्षा भन्ने योजनाले बाह्र कक्षा सकेर बिहे भई सूर्योदय नगरपालिकामा आएका बुहारी र नगरका छोरीहरूलाई छात्रवृत्ति दिएको छ।
शिक्षाबाहेक कृषि क्षेत्रमा भएको कामले पनि मेयर राईसँग सर्वसाधारण खुसी थिए। अपांगता भएकाको परिवार, एकल महिला, विपन्न नागरिक, दीर्घरोगी भएकाको परिवार र वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषिमा अनुदान पाउने व्यवस्था नगरले गरेको थियो। लगानीको ८० प्रतिशत नगरले तिरिदिने र उन्नत गाई किन्दिने योजनाबाट सयौं किसान लाभान्वित भए।
नगरपालिकाले गाई किन्न अनुदानसँगै विभिन्न जातका डालेघाँस र भुइँघाँसका बिरुवा र बिउ पनि दियो। गाईलाई पोषणयुक्त खानेकुरा बनाउने तालिम दियो। गाईका लागि क्याल्सियम र अन्य मिनरलहरू पनि नगरले नै दियो। गाईवस्तु बिरामी हुँदा उपचार सेवा पनि नगरपालिकाले नै दिएको छ। २३६ जना किसानले अहिलेसम्म नगरपालिकाबाट गाईपालनमा अनुदान पाएका छन्।
सूर्योदयका सर्वसाधारण अघिल्लो कार्यकालमा गरेको राम्रो कामकै बलमा राईले फेरि मेयर जितेको बताउँछन्।
‘उहाँले शिक्षा र कृषिमा ज्यादै राम्रो काम गर्नुभएको सबैलाईै थाहा छ’, सूर्योदय ६ का किसान अशोक श्रेष्ठले भने, ‘त्यही कामले उहाँलाई फेरि मेयरको कुर्सीमा पुर्याएको हो।’