सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्। सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका पौडेलको जितसँगै इटहरीमा कांग्रेसले नयाँ इतिहास बनाएको छ।
सधैं एमालेले जित्दै आएको स्थानीय निर्वाचन जित्नु २२ वर्षअघि पौडेलले इटहरीकै जनता क्याम्पसमा पनि इतिहास रचेका थिए। जनता क्याम्पसको स्ववियु निर्वाचन सधैं अनेरास्ववियुले जित्दै आएको थियो। अहिले इटहरी कांग्रेस सभापतिसमेत रहेका पौडेल त्यतिबेला अखिलकै कार्यकर्ता थिए।
२०५७ को स्ववियु चुनावको मुखैमा पौडेल नेविसंघ प्रवेश गरे। नेविसंघले उनलाई सभापतिको उम्मेदवार बनायो। त्यहीँ साल पहिलोपटक जनता क्याम्पसमा नेविसंघले जित्यो। त्यो जितको नेतृत्व पौडेलले गरेका थिए।
तिनै पौडेलले यसपटक स्थानीय चुनावमा उस्तै सफलता दोहोर्याएका छन्। उनको जितसँगै इटहरीमा यसपटक दशकौंदेखि जारी चुनावी नियमितता अन्त्य भएको छ। जनता क्याम्पसको स्ववियु सभापति हुँदै उपमहानगरको मेयरसम्मको यात्रा सम्भव तुल्याउन पौडेललाई यसपटक सत्ता गठबन्धनका अन्य दलको सहयोग महत्वपूर्ण रह्यो।
२०४९ यताका हरेक स्थानीय निर्वाचनमा जित्दै आएको एमालेलाई इटहरीमा सत्ता गठबन्धनका अन्य दलको सहायतामा यसपटक कांग्रेसले हराएको छ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका पौडेलले निकटतम प्रतिस्पर्धी एमालेका यामकुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन्। पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याए।
उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन्। ३२ हजार ४ सय ३६ मत ल्याएकी चौधरीले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केशव बिष्टलाई फराकिलो मतान्तरले हराइन्। बिष्टले १८ हजार ३१ मत मात्र ल्याए। उनी राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव हुन्।
इटहरी उपमहानगर समेटिने संसदीय निर्वाचनमा सधैंजसो जित्ने कांग्रेस स्थानीय चुनावमा सधैं हार्दा यसपटक गठबन्धनका कारण आशावादी थियो। परिणाम त्यस्तै आयो।
‘आम इटहरीवासीको सहयोगमा यो जीत सम्भव भयो’, जितपछी पौडेलले सेतोपाटीसँग भने, ‘गठबन्धनका सहयात्री दलहरू, इटहरीवासी सबैले विश्वास गर्नुभयो।’
इटहरीमा भोग्दै आएको पुरानो चुनावी नियति बदल्न सफल बनेका पौडेलले अब ‘सबैलाई मिलाएर सबैलाई जोडेर अघि बढ्ने’ बताए।
'हरेक बर्खामा बाढी र डुबानले इटहरीमा ठूलो धनजनको क्षति हुने गरेको छ। त्यसलाई कसरी अन्त्य गर्ने भन्ने कुरा मेरो मुख्य प्राथमिकता हुनेछ’, ४५ वर्षीय पौडेलले भने ‘त्यसबाहेक इटहरीमा एउटा सामुदायिक अस्पताल निर्माण गर्ने मुद्दा पनि मेरो प्राथमिकतामा रहनेछ।’
इटहरीलाई शैक्षिक हब बनाउने योजनामा पनि आफू केन्द्रीत हुने उनले सुनाए।
स्नातक तहसम्मको अध्ययन गरेका पौडेल इटहरीमा ‘दबंग’ नेताका र"पमा पनि चिनिन्छन्। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार उनको देखिने खालको पेशा व्यवसाय केही पनि छैन। जग्गाको कारोबारमा उनी संलग्न रहँदै आएको निकटवर्तीहरू बताउँछन्। अघिल्लो स्थानीय चुनाव ताका उनी जेल पनि परेका थिए। शरीर बन्धक तथा अपहरण मुद्दामा जेलमा रहेका उनलाई सर्वोच्च अदालतले सफाइ दिएपछि रिहा भएका थिए। सफाइ पाएर जेलमुक्त भएको पाँच वर्षपछि उनले इटहरीमा पहिलोपटक कांग्रेस जिताएको किर्तिमान बनाउँदै मेयरको आसन हात पारेका छन्।
नयाँ जिम्मेवारीले आफूलाई हर्षित तुल्याएको प्रतिक्रिया दिँदै पौडेलले चुनौती र जिम्मेवारी थपिएको बताए।
कुनैबेला एमाले अखिलका कडा कार्यकर्ता पौडेल किन कांग्रेस प्रवेश गरेका थिए? यसबारे उनी खुल्न चाहेनन्।
‘पुरानो कुरा नकोट्याउँ अब’, पौडेलले सेतोपाटीसँग भने ‘विचार, कार्यक्रम अनेक कुरा मिलेपछि न हो मान्छेले दल बदल्ने। त्यस्तै केही भयो होला।’
त्यसबेलाका उनका सहपाठीहरू भने एमाले अखिललले स्ववियुको टिकट नदिने छनक पाएपछि उनी नेविसंघतिर लागेको बताउँछन्। त्यसबेलाबाट सुरू भएको उनको कांग्रेस यात्रा अहिले उपमहानगरको मेयरसम्म उक्लिन सफल भएको छ।
इटहरीका कांग्रेस कार्यकर्ताहरू यसपटकको चुनावी सफलतालाई ‘ऐतिहासिक’ ठान्छन्।
‘यसअघि कहिल्यै स्थानीय निर्वाचन नजितेको ठाउँमा जित्दा खुसी लागेको छ’, इटहरी कांग्रेसका कार्यकर्ता नवीन कार्कीले भने ‘गठबन्धन यसमा प्रमुख कारण भयो। अब मेयरले टिम मिलाएर अघि बढ्नुपर्नेछ।’
२०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन इटहरी गाविसमा एमालेका प्रमोद श्रेष्ठले अध्यक्षमा जितेपछि यहाँ एमालेको नेतृत्व सुरू भएको थियो। इटहरी २०५३ मा नगरपालिका भयो, ०७१ मा उपमहानगर भयो। गाविसदेखि उपमहानगरसम्मको यात्रामा इटहरीमा सधैं एमाले वर्चश्व कायम रहँदै आएको थियो। अहिले प्रदेश १ का सांसद रहेका एमाले नेता सर्वध्वज साँवा २०५४ को निर्वाचनमा इटहरीको मेयर बनेका थिए। सोही निर्वाचनमा एमाले उम्मेदवारले नै जितेका अन्य चार वटा गाविसहरू हाँसपोसा, पकली, खनार र एकम्बालाई मिसाएर २०७१ मा इटहरी उपमहानगर बनेको थियो।
२०५४ मा हाँसपोसा अध्यक्ष जितेका द्वारिकलाल चौधरी २०७४ को निर्वाचनमा उपमहानगरको मेयरमा निर्वाचित भए।स्थानीय तहको निर्वाचनमा सधैं एमाले हावी हुँदै आएको इटहरीमा प्रतिनिधिसभा र संविधानसभा निर्वाचनको चित्र भने फरक देखिँदै आएको छ।
उपमहानगर हुनु अघिसम्म इटहरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्थ्यो, जहाँ ०४८, ०५१ , ०५६ को प्रतिनिधिसभा र २०६४ को पहिलो संविधानसभा चुनावमा विजयकुमार गच्छदारले जीत हासिल गरेका थिए। तीन वटा चुनाव कांग्रेसबाट जितेका गच्छदारले पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट जिते।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला इटहरी दुइटा क्षेत्रमा बाँडियो। सुनसरी २ र ३ मा बाँडिएको यहाँका दुई क्षेत्रमध्ये दोस्रो संविधानसभामा ३ मा गच्छदारले जित्दा क्षेत्र नम्बर २ मा एमालेका रेवतीरमण भण्डारीले जीत हात पारेका थिए। भण्डारीले एमालेका तर्फबाट केन्द्रमा पहिलो प्रतिनिधित्व जनाए पनि एमालेको यो सफलता लामो समय टिकेन।
२०७४ मा वाम गठबन्धन गरेर चुनाव लड्दा पनि इटहरी क्षेत्र समेटिएको ३ मा कांग्रेसबाट गच्छदारले र २ बाट कांग्रेसकै सीताराम मेहताले जित हासिल गरे। त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो। कांग्रेस एक्लै चुनाव लडेको थियो।
यसरी संसदीय चुनाव कांग्रेसले जित्ने तर स्थानीय चुनावमा सधैं एमालेले बाजी मार्ने इटहरीको चुनावी विशेषता यसपालि फेरिएको छ। त्यसको नेतृत्व कुनैबेला जनता क्याम्पसका स्ववियु सभापति पौडेलले गरेका छन्।
यो पनि हेर्नुहोस्