दोस्रो कार्यकालका लागि इलाम सूर्योदयको मेयरमा चुनिएका रणबहादुर राई हुन् वा मोरङ रंगेलीका दीलिप बगडिया नै किन नहुन्, फेरि उही पदमा छानिएपछि दुबैले दिएको प्रतिक्रिया एकै थियो, ‘जनताले अघिल्लो कार्यकालमा गरेको कामका लागि पुरस्कृत गरे।’
यी दुई मेयरबीचको संयोग के छ भने २०७४ को चुनावमा उनीहरूले जुन दलबाट जितेका थिए, अहिले दुबै ती दलमा छैनन्। २०७४ मा माओवादीबाट रंगेलीमा जितेका बगडिया यसपालि एमालेबाट निर्वाचित भए। पहिले एमालेबाट जितेका सूर्योदयका राई यसपटक एकीकृत समाजवादीबाट चुनाव लडेका थिए। आ-आफ्नो स्थानीय सरकार प्रमुखमा पुनः छानिएपछि उनीहरूले आफू जनताबाट पुरस्कृत भएको अनुभव गरेका हुन्।
उनीहरू जस्तै दोहोरिन चाहेका प्रदेश १ का धेरैले भने त्यस्तो सुखद अनुभव संगाल्न पाएनन्। पहिलेकै पदमा दोहोरिन चाहेका अधिकांश उम्मेदवार पराजित भए। यसपटकको स्थानीय तह निर्वाचनमा प्रदेश १ का १०३ जना उम्मेदवारले स्थानीय तह प्रमुख-उपप्रमुखमा दोहोरिएर उम्मेदवारी दिएका थिए। तीमध्ये हालसम्मको नतिजामा ३८ जना प्रमुखमा पराजित हुँदा ३२ जनाले जितेका छन्।
अहिलेसम्म प्रदेशका १३४ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये कांग्रेसले ६७ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ। एमालेले अहिलेसम्म ४६ स्थानीय तहमा प्रमुख जितेको छ। माओवादी केन्द्रले प्रमुख १२ , राप्रपाले २, जसपाले २ तहको प्रमुख प्रदेश १ मा ३ जना स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा जित हासिल गरेका छन्। नेकपा एकीकृत समाजवादीले २ पालिकामा प्रमुख जितेको छ। अब झापाको मेचीनगर तथा उदयपुरको त्रियुगा र कटारी नगरको नतिजा आउन बाँकी छ।
प्रदेश १ मा दोहोरिएर प्रमुख पदमा उम्मेदवारहरूमध्ये धेरैले हारेका छन्। हार्नेमध्ये धेरैले आफ्नो कार्यकालको समीक्षा गर्नेभन्दा अन्तरघातलाई मुख्य कारण बताएका छन्। मोरङ सुन्दरहरैंचा नगरका कांग्रेसका शिवप्रसाद ढकाल मतगणनाको सुरुआती दिनहरूमा एक हजारभन्दा बढी मतले अगाडि थिए।
मतगणना सकिँदै जाँदा उनी पछाडि पर्दै गए। आफू पछाडि पर्न थालेपछि उनले फेसबुकमा कांग्रेसका स्थानीय नेताहरूको नामै किटेर उनीहरूले अन्तरघात गरेको आरोप लगाए। २०७४ मा कांग्रेसबाट जितेका ढकाल यसपटक एमालेका केदारप्रसाद गुरागाईंसँग पराजित भए। उर्लाबारीमा यसअघि चुनाव जितेर पाँच वर्षे कार्यकाल पूरा गरेका कांग्रेसका खड्ग फागो पनि यसपटक एमालेका गंगाप्रसाद खरेलसँग पराजित भए।
स्थानीय तहको प्रमुख पदमा दोहोरिएर उम्मेदवारी दिएका अन्य पराजितहरूमा सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादव पनि हुन्। २०७४ मा संघीय समाजवादी फोरमबाट जितेका उनी यसपटक एमालेबाट उम्मेदवार बनेका थिए। उनी कांग्रेसका अजमल अख्तर मियाबाट पराजित भए। सुनसरीकै बर्जु गाउँपालिकामा कांग्रेसका रघुनन्दन चौधरी पराजित भएका छन्।
ताप्लेजुङको फुङ्लिङ नगरमा एमालेका छत्रपति प्याकुरेल पनि कांग्रेसका अमिर मादेनसँग पराजित भए। ताप्लेजुङको फक्ताङलुङमा एमालेका सरोज लिम्बूलाई माओवादी उम्मेदवार राजन लिम्बूले हराएका छन्। मैवाखोलाका एमाले उम्मेदवार राजनकुमार थत्लुङलाई पनि माओवादीका विजयप्रकाश बनेमले पराजित गरे। आठराई त्रिवेणीमा कांग्रेसबाट उम्मेदवार बनेका विश्वनाथ सिटौलालाई एमालेका दिपेन्द्र पोमुले पराजित गरे।
पाँचथर हिलिहाङमा एमालेका भुवानीप्रसाद लिङ्देन पनि यसपटक कांग्रेसका समरबहादुर अधिकारीबाट पराजित भए। इलाम सन्दकपुरमा एमाले उम्मेदवार उदयबहादुर राईलाई पनि कांग्रेसका तुलाराम गुरूङले पराजित गरे। संखुवासभाको सभापोखरीमा एमालेका रत्नबहादुर सुब्बाले कांग्रेसका भीमबहादुर लिम्बूलाई पराजित गरे।
तेह्रथुमको फेदापमा एमालेका हरिप्रसाद चोङबाङलाई कांग्रेसका केशवप्रसाद भेटवालले पराजित गरे। भोजपु टेम्कमैयुङमा एमालेका ध्रुवराज राईलाई कांग्रेसका सरोज बस्नेतले हराएका छन्। धनकुटा साँगुरीगढीका एमाले उम्मेदवार कुमारचन्द याख्खा पनि यसपटक पराजित भएका छन्। कांग्रेसका जितेन्द्र राईले उनलाई हराए। धनकुटाकै छथर जोरपाटीका एमाले उम्मेदवार शेरबहादुर लिम्बू कांग्रेसका छत्रबहादुर सुब्बासँग पराजित भए।
दोहोरिएर प्रमुखको उम्मेदवार बनेर पराजित हुनेमा खोटाङ जन्तेढुंगाका एमाले उम्मेदवार शंखरबहादुर राई पनि हुन्। उनलाई माओवादीकी अरूणादेवी राईले पराजित गरिन्। यसैगरी इलाम माङ्सेबुङमा कांग्रेसका डिकेन्द्र इदिङ्बोलाई एमालेका हेमन्त राईले पराजित गरे।
झापाको गौरादहको मेयरमा रोहितकुमार साह पनि यसपटक एमालेका छत्रपति सुवेदीसँग पराजित भएका छन्। एमाले गढ मानिने गौरादहमा पहिलोपटक २०७४ मा कांग्रेसलाई जित दिलाएका साहको दोहोरिने सपना यसपटक पूरा भएन। झापाकै बाह्रदशी गाउँपालिकाका कांग्रेसका खड्गप्रसाद राजवंशीलाई एमालेका देवीन्द्रप्रसाद चम्लागाईंले पराजित गरेका छन्।
भोजपुरको षडानन्द नगरपालिकामा कांग्रेसका वीरवल राई एमालेका सुरेन्द्रकुमार उदाससँग पराजित हुँदा साल्पासिलिचोका कांग्रेस उम्मेदवार महेश राईलाई स्वतन्त्र उम्मेद्वार दौलथकुमार कुलुङ (राई)ले पराजित गरे।
मोरङ केराबारीमा कांग्रेसका रोहितबहादुर कार्की एमालेका सुमन मिरिङचिङ मगरसँग हार्दा जहदा गाउँपालिकामा जसपाका कैलासप्रसाद मण्डल पनि पराजित भए। मण्डललाई कांग्रेसका जितेन्द्रप्रसाद साहले पराजित गरेका हुन्। सोलुखुम्बु महाकुलुङमा माओवादीका सागर राईलाई कांग्रेसका सूर्यबहादुर राईले पराजित गरे। लिखुपिकेका माओवादी उम्मेवार डम्बरबहादुर बस्नेत पनि कांग्रेस उम्मेदवार मिनादेवी कार्कीसँग पराजित भए। माओवादीकै खोटाङ साकेलाका अर्जुनकुमार खड्का कांग्रेसका रविप्रकाश राईसँग पराजय सहन बाध्य भए।
२०७४ मा राप्रपाबाट जितेका झापा कचनकवलका अन्जार आलम यसपटक पराजित बनेका छन्। आलमलाई कांग्रेसका कालेन्द्रप्रसाद सिंहले एमालेसित मिलेर हराउँदा गौरीगन्जका बाबुराजा श्रेष्ठ पनि पराजित बने। कांग्रेसकी फूलवती राजवंशी विजेता बन्दा राप्रपाका श्रेष्ठ तेस्रो मात्रै भए। अघिल्लो चुनावमा एमालेबाट चुनाव जितेका इलाम माइजोगमाई गाउँपालिकाका जीतबहादुर राई पनि यसपटक अध्यक्षमा पराजित भएका छन्। एकीकृत समाजवादीबाट उठेका उनलाई एमालेका कुशबहादुर थेवेले पराजित गरेका हुन्।