पोखरा महानगरपालिकाको मेयर पदको टिकट पाएर पनि खोसिएका नेकपा एमालेका दीपक पौडेलको वडामा एमाले पराजित भएको छ।
नेकपा एमाले सचिवालयले पोखराको मेयरमा दीपक पौडेललाई टिकट दिने निर्णय गरेको थियो। सचिवालयको निर्णय भुइँमा खस्न नपाउँदै पौडेलले सुन चोरेको आरोपमा भिडिओ बाहिरियो, जसले गर्दा उनको मेयर टिकट खोसिएको हो।
पौडेलले पाएको टिकट खोसेर एमाले अध्यक्ष केपी ओलीले केन्द्रिय सदस्य एवं गण्डकीका सांसद कृष्ण थापाको हातमा थमाएका थिए। जसका कारण पौडेलको वडामा पनि एमालेले अपेक्षाकृत मत पाउन सकेन।
पोखरा–१९ घर भएका पौडेलको टिकट खोसिएको भन्दै एमालेका कार्यकर्ता मात्र नभएर गाउँले समेत रुष्ट थिए। जसको जवाफ मतदाताले मत मार्फत फर्काएका छन्।
एमालेको किल्ला मानिएको उक्त वडामा २०७४ को निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको थियो। त्यसअघिका स्थानीय र संसदीय निर्वाचनमा समेत एमालेले धेरै मत ल्याएको उक्त वडामा यसपटक कांग्रेस उम्मेदवार पुष्पेन्द्र पाण्डे वडा अध्यक्षमा विजयी भएका छन्।
पाण्डेले २ हजार ५५४ मत पाएर विजयी हुँदा एमालेका वडा अध्यक्ष उम्मेदवार इमानराज पौडेलले २ हजार ५०३ मत मात्र पाए। वडा अध्यक्ष हारेपनि बाँकी ४ सदस्य भने एमाले उम्मेदवार विजयी भएका छन्।
उक्त वडाबाट मेयरमा पनि एमाले उम्मेदवार कृष्ण थापाले कम मत पाएका छन्। थापाले २ हजार २६८ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ३५४ मत पाए।
उपमेयरमा भने वडाबासीले एमालेकै उम्मेदवारलाई धेरै मत दिएका छन्। वडा नम्बर–१९ बाट एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले २ हजार ६०० मत पाएकी छिन् भने कांग्रेस उम्मेदवार कोपिला रानाभाटले २ हजार ५०० मत पाइन्।
मेयर र वडा अध्यक्षमा विपक्षी गठबन्धनलाई बहुमत दिएका दीपक पौडेलका गाउँलेले उपमेयर र वडा सदस्यहरूमा एमालेलाई नै मत दिएका छन्।