२०७४ को स्थानीय निर्वाचनमा राजेशमान सिंह मेयरको उम्मेदवार बनेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)को तर्फबाट उम्मेदवार बनेका सिंह तेस्रो भए। तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) का विजय सरावगी विजयी भए।
पाँच वर्षपछि उनै सरावगीलाई राजेशमानले निकै फराकिलो मतान्तरले हराए। यो पाँच वर्षमा वीरगन्जको राजनीतिमा धेरै बदलाव आएको छ। राजेशमानले विभिन्न उतारचढाव व्यहोर्दै जसपा रोजे अनि मेयरको उम्मेदवार बने भने सरावगीले एमाले रोजे।
सत्ता गठबन्धनबीच महानगर/उपमहानगर बाँडफाँट हुँदा जसपालाई वीरगन्ज पर्यो। वीरगन्जमा एक्लै पनि बलियो रहेको जसपालाई कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनको साथ पाएपछि अझै सजिलो भयो। त्यसो त एमालेले पनि लोसपासँग वीरगन्जमा तालमेल गरेको थियो। वीरगन्जमा सबैभन्दा बलिया प्रतिस्पर्धी जसपा र कांग्रेस नै एक ठाउँमा उभिएपछि निवर्तमान मेयर धेरै तल परे।
यसअघि एउटा संसदीय निर्वाचन र महानगरको मेयरको निर्वाचन हारेका राजेशमानले भने सानदार ढंगले यो निर्वाचन जिते। उनले आफ्ना प्रतिस्पर्धीलाई २२ हजार ५ सय ४४ मतले पछि पारे। राजेशमानले ४६ हजार २ सय १५ मत ल्याउँदा सरावगीले २३ हजार ६ सय ७१ मतमात्र ल्याए।
अहिलेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार यो निर्वाचनमा यति फराकिलो अन्तरले विजयी हुने व्यक्ति राजेशमान नै हुन्। यस अर्थमा उनले यसअघिका सबै हारको बदला लिएका छन्। उनको लागि अर्को पनि सुखद संयोग परेको छ। उनले ३२ वटै वडामा आफ्ना प्रतिस्पर्धीलाई अघि हुन दिएनन्।
वीरगन्जको मेयरमा जितेपछि सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै राजेशमानले वीरगन्जवासीले विश्वास गरेर जिम्मेवारी दिएको र यसलाई पूरा गर्ने बताए।
'मैले धेरै ठूला कुरा गरेको छैन। वीरगन्जवासीको दैनिक समस्या समाधान गर्न कोसिस गर्छु। जनताले खोजेको स्वास्थ्य, शिक्षा र सरसफाइमा पहिलो प्राथमिकता हो। पहिला जनतालाई यसैमा राहत दिन्छु,' उनले भने,'वीरगन्जको सरसफाइमा भोलिदेखि नै लाग्छु। मैले विज्ञहरूको टोली बनाइसकेको छु। मेरो प्रमुख चुनौती यसमै छ। नाली बनाउनेदेखि सफा गर्नेसम्मको काम छ। यो मेरा लागि अवसर र चुनौती हो।'
राजेशमानले चुनावमा राखेको अर्को प्रमुख एजेन्डा भनेको वीरगन्जको औद्योगिक करिडोरमा स्थानीयलाई रोजगारी दिने हो। निर्वाचनअघि हामीले कुरा गरेका कतिपय सर्वसाधारणको पनि यही गुनासो थियो। उनीहरूले औद्योगिक करिडोरमा आफूहरूले रोजगारी नपाएको बताएका थिए।
'वीरगन्जको औद्योगिक करिडोरमा यहाँका स्थानीयले काम पाएका छैनन्। योभन्दा पहिला मैले यो कुरा गरेको छु। त्यसको निवारण गरेर वीरगन्जवासीलाई रोजगारी दिन प्रयास हुन्छ,' उनले भने, '६ महिनाभित्र त्यहाँ रोजगारीको व्यवस्था हुन्छ। रिक्सा चालकलाई समेत महानगरपालिकाले ठूलो कर लगाएको छ। उनीहरूले ममाथि भरोसा गरेका छन्। मैले यो भरोसा टुट्न दिने छैन।'
राजेशमानमाथि वीरगन्जका सीमान्तकृतहरूको ठूलो आशा छ। उनीहरूले राजेशमान आएपछि आफ्ना धेरै समस्या समाधान हुने अपेक्षा गरेका छन्। सँगै उद्योगी व्यवसायीले भने त्रास व्यक्त गरेका छन्। राजेशमानले भने विरोधीहरूले त्यस्तो हल्ला फैलाएको बताए।
'मलाई विरोधीहरूले फैलाएको हल्ला हो। मैले व्यवसायीलाई कुनै डर देखाएको छैन। व्यवसायीहरू मसँग ढुक्क छन्,' उनले भने,'चुनावअघि मैले व्यवसायीलाई पनि भनेको छु। मैले कुनै कलकारखानामा गएर धम्क्याएको छु कि भनेर भनेको समेत भनेको थिएँ। उहाँहरूले केही भन्नुभएको छैन। व्यवसायीहरूको वडाबाट समेत मैले धेरै मत ल्याएको छु। त्यसैले मैले उहाँहरूको विश्वास जितेको छु र त्यही अनुसारको काम पनि गर्छु।'
राजेशमान वीरगन्जको राजनीतिमा निरन्तर लागिरहेका छन्। तर उनको स्वभाव अस्थिर छ। २०५४ सालमा कांग्रेसबाट वीरगन्जको वडा सदस्य जितेका राजेशमानले त्यसयता राप्रपा, राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा),राजपा, लोसपा र जसपामा लागिसकेका छन्। लोसपाबाट जसपा जानुअघि उनी एमाले प्रवेश गर्न चाहेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट पनि गरेका थिए। एमाले अध्यक्ष ओलीले बहालवाला मेयर विजय सरावगी रोजेपछि उनी जसपामा प्रवेश गरेका हुन्।
आफूले मधेस केन्द्रित दलबाटै राजनीति गरेको र अब पनि यसमै रहने उनको दाबी छ।