सत्ता गठबन्धनका दलहरूलाई ‘एक–एक किलोका ढक’ भनेर उडाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धन दलहरूले उनकै निर्वाचन क्षेत्रमा कमजोर पारिदिएका छन्।
यसपटकको स्थानीय तह निर्वाचनमा देशैभर कमजोर नतिजा ल्याउँदा एमालेले ओलीको गृहजिल्ला झापामा भने २०७४ को तुलनामा सुधारिएको प्रदर्शन गरेको छ।
झापामा यसपटक एमालेले मेचीनगर नगरपालिका कांग्रेसबाट खोसेको छ भने बिर्तामोड, अर्जुनधारा, कनकाई र शिवसताक्षी नगरमा २०७४ मा पाएको सफलता दोहोर्याएको छ। त्यस्तै बाह्रदशी गाउँपालिका पनि एमालेले यसपटक कांग्रेसबाट खोसेको छ।
कांग्रेसले भद्रपुर नगरपालिका एमालेबाट र कचनकवल राप्रपाबाट खोसेको छ। बुद्धशान्ति र झापा गाउँपालिकामा कांग्रेसले दोस्रो पटक पनि जितेको छ। हल्दीबारीमा भने राप्रपाले जितेको छ।
अघिल्लोपटक कांग्रेसले जितेका स्थानीय तहहरू पनि खोसेर एमालेले झापामा राम्रो ‘कमब्याक’ गर्दा ओलीकै क्षेत्रमा भने त्यस्तो नतिजा आएन।
झापा-५ ओलीको निर्वाचन क्षेत्र हो।
यो क्षेत्रमा उनको गृहनगर दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह पर्छन्। यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमात्रै जित्न सक्यो। बाँकी तीन स्थानीय तहमा ‘ओलीविरोधी मोर्चा’ सफल भयो।
सत्ता गठबन्धनका दलहरूले साथ दिएर दमकको मेयर बनेका राप्रपाका नेता राम थापाले चुनाव जितेलगत्तै भनेका थिए, ‘हाम्रो जितले ओलीको अहम् पराजित भएको छ।’
तुलनात्मक रूपमा अरूमाथि कटाक्ष गर्ने सवालमा थापा रूची राख्ने नेतामा पर्दैनन्। तर, यसपटक चुनाव जित्ने बित्तिकै थापाले पहिलो निशाना ओलीतिरै लगाए।
यसको कारणबारे थापाको तर्क छ, ‘ओली आफैं पनि यहाँ चुनाव हारेका व्यक्ति हुन्। २०७४ कै चुनावमा पनि हामी सबैले सघाएर जितेका थिए। तर, त्यो सबै कुरा भुलेर उनले जे-जति दम्भ प्रदर्शन गरे, त्यो जायज थिएन।’
ओली र एमालेको एकछत्र प्रभाव छ भनिँदै आएको दमकमा आफूलाई मतदाताले जिताएर ओलीको दम्भमा ‘ब्रेक’ लगाइदिएको उनको भनाइ छ।
दमकका नवनिर्वाचित मेयर थापाले दाबी गरे जस्तै ओलीको निर्वाचन क्षेत्रमा एमालेले यसपटक चुनावी धक्का व्यहोरेको छ। सबभन्दा ठूलो धक्का एमालेले दमकमा सहनु परेको छ।
दमकका एमालेइतर अधिकांश दलहरू नगरमा जारी एमाले दबदबा अन्त्य गर्न चाहन्थे। तर, बलियो संगठन र उस्तै बलियो विरासतको बलमा एमालेले अरूलाई दमकमा 'चान्स' दिँदैनथ्यो। यसपटक भने सत्ता गठबन्धनका दलहरूले उनीहरूकै भाषामा ‘चौडा छाती’ पारेर राप्रपालाई मेयर दिने प्रस्तावमा सहमति गरे। ‘महागठबन्धन’ बनाएका उनीहरू सफल पनि बने ।
१७ हजार ५२५ मत प्राप्त गर्दै राम थापा दमकको मेयर चुनिए। एमालेबाट उम्मेदवार बनेकी गीता अधिकारीले १६ हजार ९६६ मत मात्रै प्राप्त गरिन्। उपमेयरमा पनि महागठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना भट्टराई १७ हजार ७२ मत ल्याएर विजय भइन्। एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए।
यसरी पहिलो पटक दमकमा एमालेले मेयर र उपमेयर दुवै पद गुमायो। स्थानीय चुनावअघि एमालेले राप्रपासँग सहकार्यको पहल गरेको थियो। तर, एमाले राप्रपालाई उपमेयर मात्रै दिन सकिने अडानमा थियो। त्यहीबेला सत्ता गठबन्धनका दलहरू राप्रपालाई मेयर दिन राजी भएका थिए।
‘जसरी पनि यहाँको एकतन्त्रीय अवस्था तोड्नुपर्ने थियो’, कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी भन्छन्,‘त्यसमा हामी सफल भयौं।’
ओलीको निर्वाचन क्षेत्रमै पर्ने कमल गाउँपालिकामा २०७४ देखि नै एमालेले धक्का सहेको थियो।
आफ्नो पकडस्थल भनेर उसले दाबी गर्दै आएको गाउँपालिकामा त्यसबेला एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबरी मत आएको थियो। मत बराबरी भएपछि कमलको अध्यक्ष छान्न गोला गर्दा चिट्ठा एमालेको भागमा पर्यो। मेनुका काफ्लेले प्रदेशकै एक मात्र महिला प्रमुखका रूपमा पहिलो कार्यकाल पूरा गरिन्।
यसपटक कांग्रेसका हुकुमसिंहले नै अध्यक्षमा जितेका छन्। सत्ता गठबन्धनबीच मात्रै तालमेल भएको कमलमा राप्रपा अलग्गै भिडेको थियो। अन्तिम चुनावी नतिजा अनुसार कांग्रेसका राईले १२ हजार ८६८ मत ल्याएर अध्यक्ष जिते।
एमाले उम्मेदवार भीम राईले ९ हजार ६५३ मत पाए। उपाध्यक्ष भने एमालेकी प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत ल्याएर जितिन्।
गौरीगन्ज गाउँपालिकामा यसपटक अध्यक्ष कांग्रेसले जित्दा एमालेले उपाध्यक्षमा चित्त बुझाएको छ।
अध्यक्ष फूलवती राजवंशी ५ हजार ६८९ मत प्राप्त गर्दै विजयी बन्दा एमालेका विजय अग्रवालले ३ हजार ३३० मत पाए। उपाध्यक्षमा एमालेकी पुजन न्यौपाने ४ हजार ७५५ मत ल्याएर जित्न सफल भइन्।
गौरीगन्जमा २०७४ मा राप्रपा विजयी भएको थियो। यसपटक राप्रपा गौरीगन्जमा तेस्रो मात्रै बन्यो।
आफ्नो क्षेत्रका महत्वपूर्ण तीन वटा स्थानीय तह गुमाउँदा एमालेले गौरादह नगरपालिकामा मात्रै जित हासिल गरेको छ।
२०७४ मा कांग्रेसले आश्चर्यजनक जित हात पारेको गौरादहमा एमालले यसपटक राम्रो ‘कमब्याक’ गरेको छ।
१२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए।
उनले नेपाली कांग्रेसका रोहितकुमार साहलाई पराजित गरेका हुन्। साहले ११ हजार ४४८ मत प्राप्त गरे। गौरादहमा यसअघि कांग्रेसलाई साहले नै जित दिलाएका थिए। उपप्रमुखमा पनि एमाले उम्मेदवार जलवर्षा राजवंशी विजयी भएकी छन्।
राजवंशीले ११ हजार ९१४ मत प्राप्त गर्दै जितेकी हुन्।
कस्तो होला ओलीमाथि असर ?
२०७४ को प्रतिनिधि सभा निर्वाचनको मुखैमा ‘आश्चर्यजनक रूपमा’ वाम गठबन्धन भएपछि पुरानो वाम किल्ला झापामा उत्साहको माहोल थियो।
प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० वटै सिट सजिलै जितिने आत्मविश्वास एमाले-माओवादीका नेताहरू प्रकट गर्थे।
जिल्ला तहका नेता-कार्यकर्ता यसरी निश्चिन्त हुँदा ओली स्वयं भने ढुक्क थिएनन्। त्यसैले झापा-३ राप्रपालाई दिलाएर भए पनि उनले आफ्नो क्षेत्रमा पुरानो राजावादी दलको समर्थन लिए। त्यो चुनावमा ओली ५७ हजार १३९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाएका थिए। ओलीले पाएको मत एमाले, माओवादी र राप्रपाको सगोलको मत थियो।
अब यही वर्ष प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन पनि हुँदैछ। स्थानीय चुनावमा आफ्नो क्षेत्रको चारमध्ये दमकसहित तीन स्थानीय तह गुमाएको एमालेलाई यसले कतिको असर पार्ला? एमाले नेताहरू यसले असर नपार्ने दाबी गर्छन्।
झापा-५ कै बासिन्दासमेत रहेका एमाले जिल्ला अध्यक्ष दीपक कार्की अहिले गठबन्धनका कारण यस्तो नतिजा आएको तर संघीय चुनावमा सबैले आ-आफ्नो दल छान्ने हुँदा समस्या नहुने बताउँछन्।
‘अहिले भए जति सबै दल एकातिर, एमाले एक्लै अर्कातिर हुँदा यस्तो भएको हो’, संविधान सभा सदस्य रहिसकेका कार्कीले भने, ‘संघीय चुनावमा सबैलाई आफ्नो दलको चिन्ता हुन्छ। राष्ट्रिय पार्टी बनाउनु पर्ने भएकाले अहिलेको जस्तो अवस्था हुँदैन।’
उनले गठबन्धन नै भए पनि एमालेले त्यसलाई पन्छाउने बताए।
अहिलेकै गठबन्धनले निरन्तरता पाए प्रतिनिधि सभा निर्वाचनमा झापा-५ को अवस्था के होला? यसमा अहिले जितेका र हारेका प्रमुखहरूले पाएको मतको आधारमा एमाले अरूभन्दा पछि नै देखिन्छ।
यी चारवटै स्थानीय तहमा कांग्रेस, माओवादी, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रमुखका उम्मेदवारहरू र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारले पाएको कूल मत एमालेभन्दा धेरै बढी छ। अन्य दल सत्ता गठबन्धनमा छन् । प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च पनि सत्ता गठबन्धनमै सामेल छ। स्थानीय, प्रदेश र संघको गठबन्धनले निरन्तरता पाए ओलीलाई चुनावी यात्रा सहज हुने देखिन्न।
यसपटकको अन्तिम नतिजाअनुसार झापा-५ का एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७ सय ९८ छ। एमाले इतरका दलका प्रमुखहरुले पाएको मत ५५ हजार ७८८ छ।
यही मतलाई आधार बनाएर अघि बढे आउँदो निर्वाचनमा ओली हराउन सकिने आशामा कांग्रेस नेताहरू छन्।
‘चुनाव आउन अझै समय बाँकी छ। यसबारे अहिल्यै बोल्नु हतारो होला’, कांग्रेस नेता भण्डारीले भने, ‘गठबन्धनले निरन्तरता पाउँदा यहाँ अब एमालेको सम्भावना कमजोर भइसकेको छ।’