सत्तारूढ ५ दलीय गठबन्धनबाट पोखराको मेयर उम्मेदवार माग्दा कांग्रेस नेताहरूको तर्क थियो– ‘डालोको मत मानोमा खन्याउँदा पोखिन सक्छ।’
टिकटको रस्साकस्सीमा गठबन्धनका सबभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेर उक्त तर्क पेश गरेका थिए। पोखरामा एमालेलाई हराउन गठबन्धनका तर्फबाट कांग्रेसले मेयर पाउनुपर्ने उनीहरूले जोड दिएका थिए।
कास्की कांग्रेसका नेताहरूले चाहेजस्तो पोखराको मेयर टिकट पाएनन्। गठबन्धनका नयाँ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले मेयर टिकट पाए। उपमेयरमा कांग्रेस गण्डकीका सहमहामन्त्री कोपिला रानाभाटले टिकट पाइन्।
निर्वाचनमा एउटै गठबन्धनबाट लडेका धनराजले मेयरमा ६ हजार ४५ मतले जिते। उपमेयरमा रानाभाट ३ हजार ८८३ मतले हारिन्। गठबन्धनकै मत रानाभाटले नपाउँदा हार्न पुगेको कास्की कांग्रेसका सचिव भानु ढकालले बताए।
‘कांग्रेसको मत गठबन्धनमा इमान्दारपूर्वक गएको छ, माओवादी र समाजवादीको मत हाम्रो उपमेयरलाई आएन,’ उनले भने, ‘डालोको मत मानोमा गयो, मानोको मत डालोमा आउन सकेन।’
गठबन्धनका मेयर उम्मेदवार आचार्य बाल्यकालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए। एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बनेका आचार्यलाई एमालेको मत तान्न मुस्किल परेन।
‘एमालेका १२ देखि २० प्रतिशत मत धनराजले तानेको देखियो,’ ढकालले भने, ‘एमालेको मत हाम्रो उपमेयरमा आएन, यसले पनि हामी पछाडि पर्यौं।’
कांग्रेसनिकट नेपाल महिला संघ कास्कीका २ कार्यकाल सभापति रहेकी रानाभाट उपमेयर दौडमै थिइनन्।
कांग्रेसले मेयर, उपमेयर वडा अध्यक्षदेखि सदस्यसम्मका आकांक्षीको नामावली संकलन गर्दा रानाभाटले आफूलाई कुनै पनि पदमा दाबी गरेकी थिइनन्।
कांग्रेसले सुरूमा पोखराको उपमेयर महानगर कार्यसमिति सभापति सुरेन्द्रमान बिजुक्छेलाई दिएको थियो। बिजुक्छे पनि उपमेयरका आकांक्षी थिएनन्।
मनोनयन दर्ता गर्ने समय बिजुक्छेको टिकट खोसेर सभापति देउवाले रानाभाटलाई टिकट दिएका थिए। जीवनभर कांग्रेसको राजनीतिमा भिजेकी रानाभाटले अहिलेसम्म लाभको पद पाएकी छैनन्।
आकांक्षा नै नराखेको पदमा टिकट पाएकी रानाभाटलाई टिकट दिएर पार्टीले न्याय गरेको कतिपय कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ। तर उनले चुनाव हार्नुमा गठबन्धनभित्रको बेमेल, एमालेको भोट तान्न नसक्नु र रानाभाटको गृहनगर लेखनाथबाट अपेक्षाकृत मत नआउनु कारण मानिएको छ।
कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले माओवादीलगायत गठबन्धनका अन्य दलले मत नदिएको टिप्पणी गरे।
‘गठबन्धन गर्दा वडामा मिलाउन सकिएन, जसको भोट मेयरमा धनराज र उपमेयरमा एमालेलाई गयो,’ उनले भने, ‘एमालेका मतदाताले पनि धनराजलाई भोट दिए तर कोपिलालाई दिएनन्।’
चुनावी अभियानमा पनि गठबन्धनभित्रका तिक्तता प्रष्ट देखिएको थियो।
पोखरा महानगर- ३१ मा गठबन्धनको चुनावी सभा बहिष्कार गरेर माओवादी नेता कार्यकर्ता हिँडेका थिए। उनीहरूले उपमेयरमा रानाभाटलाई भोट नदिन फेसबुकमार्फत अपिल समेत गरेका थिए।
चुनावी अभियानमा रानाभाट मेयर उम्मेदवार आचार्यको छायामा परेकी थिइन्। वडासम्म भोट माग्न जाँदा आचार्यले उपमेयर उम्मेदवार रानाभाटलाई छाडेनन्। गठबन्धनको अभियानमा उपमेयरभन्दा पनि मेयर जिताउन खोजेको जस्तो देखिएको कांग्रेस नेताहरूको टिप्पणी छ।
‘चुनाव प्रचारप्रसारमा मेयर उम्मेदवार मात्र हाबी देखियो, शीर्ष नेता पोखरा आउँदा पनि मेयरमा नै फोकस गरे,’ कांग्रेसका एक नेताले भने, ‘उपमेयरको इमान, व्यक्तित्व र कार्यकौशल कहीँकतै प्रचार भएन, पूरै छायामा परिन्।’
उपमेयरमा रानाभाटले हार्नुका पछाडि एमाले उम्मेदवार मञ्जुदेवी गुरूङको व्यक्तित्वले पनि काम गरेको छ। २०७४ मै उपमेयर बनेकी गुरूङ एमाले केन्द्रीय सदस्य हुन्।
गुरूङ समुदायको बाहुल्यता रहेको पोखरामा उपमेयर उम्मेदवार गुरूङले जातीय भोट तान्न सफल भइन्। एमालेको आन्तरिक राजनीतिमा कतै पनि नखुलेकी गुरूङलाई पार्टीका मतदाताले ढुक्कले भोट दिए।
कांग्रेस उपमेयर उम्मेदवार रानाभाटले भोट कम पाउनुमा कांग्रेस कास्कीभित्रका आन्तरिक किचलो पनि कारण बन्न पुगेको केही कार्यकर्ताको गुनासो छ।
महानगरको मेयर र उपमेयरका टिकट दाबी गरेका झण्डै २ दर्जन नेताहरूलाई पन्छाएर दाबी नै नगरेकी रानाभाटलाई हराउन उनीहरूले भूमिका खेलेको एक कार्यकर्ताको दाबी छ।
‘कोपिला रानाभाटलाई हराउन कांग्रेसका पनि केही नेता खुलेरै लागे,’ ती कार्यकर्ताले भने, ‘अर्को पार्टीको मेयरलाई जिताउन कांग्रेस कास्की एक ढिक्का देखियो, आफ्नो पार्टीका उपमेयर जिताउन देखिएन।’
कास्की कांग्रेसभित्र नेतापिच्छे गुट भएको गठबन्धनका अन्य नेताहरूले पनि अनुभव गरेका छन्।
कास्कीमा दुई तिहाइ बहुमत वडा जितेको कांग्रेसले उपमेयरमा आफ्नै उम्मेदवार जिताउन नसक्नु पार्टीभित्रका गुटबन्दीले काम गरेको गठबन्धनका एक नेताले बताए।
टिकट रस्साकस्सी र चुनावी अभियानमा कास्कीमा ६ वटा कांग्रेस भएको गठबन्धनका ती नेताले बताए।
उनले ठट्टा गर्दै भने, ‘कास्कीमा ६ वटा कांग्रेस रहेछन्, धनराज जीले मिलाउनुभयो, आफ्नै उम्मेदवार जिताउन उहाँहरू आफैं मिल्न सक्नुभएन।’