दुई दशकपछि भएको स्थानीय निर्वाचनलाई नजिकबाट नियाल्दा यसका थुप्रै रोचक पाटाहरू मनमष्तिष्कभरी गाढा बनेर बसेका छन्। उम्मेदवारी दर्ता र चुनाव प्रचारका झाँकीदेखि मतदान र मतगणनाका सबै आयामलाई यसपालि आफ्नै आँखाले अनुभूत गर्ने अवसर पाएँ। पर्यवेक्षका रुपमा सहभागी मैले काठमाडौं महानगरपालिकाको मतगणनालाई १० दिन पूरै नियालेँ।
सायद संसारमा बिरलै यस्तो होला, जहाँ ११ दिनदेखि लगातार मतगणना भइरहेको छ र अझै सकिएको छैन। मतगणनाका विषयमा अनेकन ट्रोल र जोक बने। घर–घरमा गएर कसलाई भोट दिने भनेर सोध्दै टिपोट गरेको भए पनि यतिबेलासम्म त भ्याइन्थ्यो भन्नेसम्मको कुरा आयो।
मतगणना केन्द्रभित्रको वातावरण भने निकै गम्भीर छ। निर्वाचनमा खटिएका कर्मचारी र अधिकारीहरूको गम्भीरतालाई म मनैदेखि सम्मान गर्छु। जनताको एउटा मत पनि खेर नजाओस् र गलत गणना नहोस् भन्नेमा उनीहरू सजग देखिन्थे। तर, विडम्बना काम गर्ने र सबैभन्दा धेरै गाली खाने उनीहरू नै परे। अपेक्षाभन्दा कम भोट आउने र हार्नेहरूका लागि उनीहरू सधै शंकाको घेरामा परिरहे। अलि लामो समयसम्म आफ्नो भोट नआए उनीहरूमाथि नै जाइलाग्ने प्रवृत्ति देखियो।
एकपटक गनिसकेर सबै प्रतिनिधिलाई देखाउँदै चाङमा राखेको मतपत्रसमेत ‘खै देखाउनुस् त’ भन्दै फेरि गणना गर्न लगाउँदा समय धेरै नष्ट भयो। आफूलाई भोट नपर्नासाथ प्रतिनिधिहरू त्यो भोट नक्कली नै हो कि जस्तो गर्ने प्रवृत्तिले आजित भइयो।
मतगणनाको सबैभन्दा ठूलो अप्ठेरो मतपत्र थियो। नाङ्लोजत्रै आकारको मतपत्रमा निलो रङका चिह्नहरू थिए। त्यसमा लगाइएको स्वस्तिक छाप पनि निलै मसीको भएकाले समस्या भएको सबैको गुनासो रह्यो। मसिना चिह्नहरूका बीचमा निलै मसीको सानो छाप पहिल्याउँदै सबै एजेन्टलाई देखाउँदा एउटा मत गन्नै दुई मिनेट हाराहारी लाग्थ्यो। कुनै मतमा विवाद भए त कुरै सकियो।
उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरू आफैं नै मतगणना ढिला हुनुका मुख्य कारक हुन्। प्रतिस्पर्धी मत आइरहेका बेला थोरै मतले आफू तल पर्नासाथ अनेक बखेडा झिकेर भाँड्न खोज्ने प्रवृत्ति सबै पार्टीका प्रतिनिधिमा देखियो। वडास्तरका उम्मेदवार त आफ्नो एकएक भोटको गम्भीर हिसाब गर्दै एउटा पनि बदर हुन नदिने ढिपीमा विवाद गरिरहे।
त्यसै पनि ३४ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी बदर मतको संख्या काठमाडौंमा हुनुलाई अचम्मै मानिएको छ। निर्वाचन आयोगले करोडौं खर्च गरेको मतदाता शिक्षाको लगानी बालुवामा पानीझैं भएको देखियो। सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
यसबाहेक मतपत्रका अन्तिम दुई कोलममा रहेका खुला वडा सदस्यका दुई पदमा एउटै कोलमका दुई जनालाई मत दिन मिल्छ भन्ने त सायदै कसैले थाहा पाएका रहेछन्। यसले मतपत्रबारे मतदातालाई जानकारी नै नभएको देखियो।
काठमाडौंको सन्दर्भमा त प्रमुख दलबाट प्रतिनिधि बसेका कार्यकर्ता र उम्मेदवारहरू स्वतन्त्र चुनाव लडेका विवेकशील नेपाली र साझा पार्टीका चिह्नमा आएका भोट सुन्नै नपरे हुन्थ्योझैं गर्थे। कतिपय पार्टीका प्रतिनिधिहरू आफूआफूमै झगडा गर्थे।
साझा पार्टीका उम्मेदवार किशोर थापा गणनास्थलमा पुग्दा निर्वाचनका कर्मचारीहरूले पनि नमस्कार गर्दै उनलाई सम्मान देखाएको पाइन्थ्यो। उम्मेदवार भएका थापा पनि कर्मचारीको हालखबर र सुखदुःख सोधिरहेका हुन्थे। पुरानो पेसाको सम्बन्धले सायद उनीहरूलाई भावनात्मक रूपमा जोडेको थियो।
कतिपय उम्मेदवारको शैली झनै अनौठो थियो। मेयरका स्वतन्त्र उम्मेदवार रेस्लर भरत बिसुराल र आफूलाई ‘चण्डीमाता’ बताउने ज्ञानुमाया तामाङको छटपटाहट र भोटको गति ठीक विपरित थियो। बिसुराल त गणनास्थलमा खासै आएनन्, तामाङ भने हरेक दिन पुगिन् र आफ्नो भोट नआएकोमा गुनासो गरिरहिन्।
‘केटाकेटी’ चुनाव चिह्न लिएकी ज्ञानुमायाको भोट एक साताको गणनामा एक दर्जन पनि पुगेको थिएन। उनी हरेक वडाको गणनास्थलमा पुग्थिन् र आफ्नो भोट आएकै हुनुपर्छ भन्दै जिद्दी गर्थिन्। आफ्ना ग्राहक (ग्रहदशा हेराउने व्यक्ति) सबैले भोट दिए मात्रै पनि आफूले जित्ने उनको दाबी थियो। उता बिसुराल भने आफूलाई म्यादी प्रहरीले गणनास्थलमा छिर्न नदिएकोमा आक्रोशित भएका थिए। त्यसो त प्रहरीको स्वभाव निकै संयमित र अनुशासित देखिन्थ्यो, तर म्यादी प्रहरीको अराजक व्यवहार धेरैले भोगे।
चुनाव प्रचार क्रममा पार्टी, कार्यकर्ता र साथीभाइ बटुल्दै हिँड्ने उम्मेदवारहरूले भोट गणना बेला भने उनीहरूलाई नै विश्वास नगरेको भान हुन्थ्यो। धेरै उम्मेदवारले आफ्नै परिवार र नातागोतालाई गणना प्रतिनिधि बनाएका थिए।
यसपालि स्वतन्त्र चुनाव लडेका दुई नयाँ पार्टीका नयाँ उम्मेदवारको चर्चा र चासो मतगणनास्थलमा धेरै थियो। पत्रकारहरूलाई उनीहरूले ल्याउने भोटको चासो थियो भने ठूला दलका कार्यकर्ता उनीहरूको चर्चाले ‘इरिटेटेड’ बनाएको प्रस्ट देखिन्थ्यो। उनीहरू प्रस्ट रूपमा आलोचना गर्न नसके पनि विवेकशील र साझा पार्टीले पाएको भोट कुन पार्टीको भोट थियो भन्ने विवरण टिपिरहेका देखिन्थे।
कांग्रेसको धेरै भोट काट्ने मुख्य उम्मेदवार विवेकशीलकै देखियो। उनले पाएका अधिकांश भोटमा अन्य पदमा रुख चिह्नमा छाप लगाएको पाइयो। क्यामरा चिह्नमा आएको भोट पनि आधाजसो त कांग्रेसकै थियो। क्यामरा र सेलरोटी चिह्नमा भोट हालेर अन्य पदमा खाली राखेको मतपत्र पनि धेरै देखियो। साझाले पाएको भोटमा अन्य पद रुख र सूर्यलाई छ्यासमिस भएको देखिन्थ्यो।
काठमाडौं र ललितपुरमा नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टीको गठबन्धन थियो। मतदानमा भने यसको खासै छनक देखिएन। एमाले समर्थक मतदाताले सातै छाप सूर्यमा भोट हालेका थिए। एमालेले समर्थन गरेको उपमेयर उम्मेदवारको भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा धेरै भोट आउनुले यही देखाउँछ। काठमाडौंको चुनावमा पनि राप्रपालाई आएको भोट मेयरमा सूर्यमा आएको थियो भने सूर्यमा आएको भोट उपमेयरमा राप्रपाले पाएको देखिएन।
मतगणनामा उपस्थित उम्मेदवार र प्रतिनिधिमध्ये सबैभन्दा निराश नयाँशक्ति र फोरमका उम्मेदवार देखिए। उनीहरूले सोचेभन्दा निकै कम भोट आएको थियो। माओवादी उम्मेदवारको भोट पनि सुरुसुरुमा आएन। उनीहरू फुस्रो अनुहार बनाएर बसे, तर पछिल्ला दिनमा केही भोट आए पनि तेस्रो स्थानमा पुग्ने उनीहरूको अपेक्षा पूरा भएन। माओवादीकै वैद्य समूहका उम्मेदवारको त कुनै अपेक्षा नै थिएन, सायद। यसर्थ उनीहरू शान्त देखिए।
गणनामा भेटिएका कतिपय उम्मेदवार आफ्नो परिचयपत्र खल्तीमा लुकाएर चुपचाप बसेका देखिन्थे। थोरै भोट आएको र कसैले चिनेर चर्चा गर्लान् कि भन्ने त्रास उनीहरूमा थियो। उपमेयरमा उठेकी जनिशा भट्टराईको शैली भने निकै भलाद्मी पाइयो। थोरै भोट आए पनि उनी शान्त स्वभावले धैर्यसाथ बसिरहेकी थिइन्। राप्रपाका उम्मेदवार र प्रतिनिधि थोरै भोट आउँदा पनि शान्त र गणक कर्मचारीलाई एकदम सहयोग र समन्वय गरिरहेका थिए। कांग्रेसका उपमेयर उम्मेदवार हरिप्रभा खड्गी नियमित आउँदै हसिलो अनुहार बनाएर भलाकुसारी गरिरहेको भेटिइन्।
सबैभन्दा खट्केको विषय मिडियालाई सूचना प्रवाह हो। निर्वाचन आयोगले मिडिया सेन्टरको राम्रो व्यवस्थापन गर्न नसक्दा छिनछिनमा अपडेट गराउने चाहना बोकेका सञ्चारकर्मी पीडित देखिन्थे। उनीहरू दलका एजेन्ट र हामीजस्ता पर्यवेक्षकलाई छिनछिनमा फोन गर्थे। गणनास्थलमा फोन उठाउन निषेध भएकाले झन् समस्या थपिएको थियो। बेलाबेला माइकबाट नतिजा भन्ने व्यवस्था गरिएको निकै परम्परागत लाग्थ्यो। बरु निर्वाचन आयोगकै वेबसाइट वा एउटा एप्स बनाएर अपडेट गर्ने जिम्मेवारी कुनै स्वतन्त्र संस्थालाई दिएको भए सञ्चारकर्मीले यति दुःख पाउँथेनन्।