वर्षौदेखि परिवारसहित लन्डनमा बस्दै आएका नेपालमा गुल्मी घर हुने एक नेपाली बेलायत मिडल्याण्डमा घर किनेर यसै वर्ष बसाई सरे। आफू र श्रीमतीको जागिर केटाकेटीको स्कुल सबै कुराको मिलेको सेटिङ छाडेर लन्डनदेखि झन्डै १ सय ४० माईल उत्त्तर तर्फको मध्य बेलायतमा बसाई सरेका उनले लण्डन महँगो शहर बन्दै गएकोले विकल्पको खोजीमा बसाई सरेको बताए ।
‘लन्डनमा घर मुल्य अनुसारले मोर्गेज (बैंक ऋण ) पाउन गाह्रो, डिपोजिट जुटाउन सकस अनी किस्ता तिर्नै हम्मे-हम्मे त्यसैले घर किन्न यता आएको हुँ' उनले कुराको जरो यसरी खोले। 'त्यसमाथि यताको कमाई उत्ति नै हो ट्राभेल लगायतको खर्च पनि कम हुने नेपाली समुदाय पनि बढदो छ किन लन्डनमै टासिनुपर्यो र, हाउस वार्मिंङमा गफिदै उनले आफ्नो तर्क प्रस्तुत गरे। ‘बेलैमा किन्नेहरूले पो किने त लन्डनमा अब बाहिर नजर नलगाएर के गर्नु आर्थिक भार थेग्नै सकिदैन’, उनैले थपे ।
लन्डनमा घरको भाउ आकाशिदै जाँदा पछिल्लो समय यहाँका नेपालीले लन्डन बाहिरका अन्य शहरमा घर किनेर बसाई सर्ने क्रम बढ्दै जान थालेको छ । आफ्नो बचत रकमले घर किन्ने योजनामा रहेका नेपालीले बेलायतको बर्मिन्घम, लेस्टर, नोटिंगहम, पिटरबरो, लिभरपुल, वेल्स तथा स्कटल्याण्ड समेतका बिभिन्न ठाउँलाई आफ्नो घरजमको निसाना बनाउन थालेका छन्।
तथ्यांक हरुका अनुसार गत वर्ष मात्रै लन्डनमा घरको मुल्य ७ प्रतिशतले बढेको छ भने यहाँको औसत घरको मुल्य ५ लाख भन्दा माथि छ।
बेलायतको मिडल्याण्ड तथा लन्डन आसपास केन्ट लगायतका स्थानमा तुलनात्मक रुपमा लन्डनमाभन्दा घरको मुल्यमा ठूलै अन्तर हुनु यसको प्रमुख कारण हो भने आफ्ना सम्बन्धका मान्छे भए तर्फ तानिनु पनि यसको कारक रहेको छ।
काम अथवा ब्यवसाय गर्दाको आम्दानीको अनुपात उस्तै उस्तै रहने तर कम खर्चिलो दैनिकी हुने बुझाई पनि यसको एउटा प्रेरणा बनेको देखिन्छ।
सामान्यतया घर खरिद गर्दा लिइने बैंक किस्ताको लागि प्रयाप्त आम्दानी देखाउन नसक्दा बैकबाट ऋण स्वीकृतीको समस्या पर्ने भएकोले पनि राम्रै बचत गरेका मान्छेसमेत बाहिरी शहरमा आकर्षित बन्न थालेका हुन्।
खास गरेर सेटलमेन्ट लिईसकेपछिको परिप्रेक्षमा किस्तावन्दी मै सही आफ्नै घर किनेर बस्ने अनी भाडाको प्रतिस्थापन बैंक किस्ताको भुक्तानी मार्फत गर्दा पनि कालान्तरमा घर आफ्नै बनाउने फाईदाको चाहनामा अधिकांश हुन्छन्।
मुख्यतयाः आम्दानी र बचतको लेखाजोखा गर्दा पुँजीले धान्न नसक्ने अवस्थामा छोराछोरीको भविष्यको अवसर राजधानीमै बढी हुने सम्भावना र आफ्नै जागिरको लागि कम छनोटको सम्भावनालाई समेत वेवास्ता गरेर बसाई सराई गर्नु एउटा बाध्यता जस्तै बनेको छ।
तर लन्डनमै घरजम गर्न चाहनेहरुको लागि पनि थुप्रै विकल्पहरु रहेको बताउछन् ए स्टार फईनान्सियल सोलुशनका एक जना निर्देशक मिन दर्लामी। विशेष गरेर नेपाली समुदायमै इन्डीपेन्डेन्ट मोर्गेज एड्भाइजरको रुपमा कार्यरत दर्लामीका अनुसार बैंकले ऋण दिने भनेको आफ्नो कमाई र खर्चको अनुपातलाई हेरेर नै हो। ‘बैक मोर्गेज त सम्बन्धित व्यक्तिको वित्तीय अवस्थामै भर पर्छ तर आवस्यकता अनुसार ठुलो भन्दा पनि एक दुई बेड रुमको घर किन्नु र परिवारका अन्य सदस्यको समेत जोडेर संयुक्त रुपमा मोर्गेज आवेदन गर्न सकिने हुन्छ', दर्लामी भन्छन्।
अर्कोतर्फ आफ्नो समुदाय अथवा भाईसाथीको माध्यमबाट पनि बसाईको भौगोलिक छनोट हुने गरेको पाईन्छ। बेलायतमा नेपालीको संख्या अनाधिकारिक रूपमा १ लाख ५० हजारभन्दा बढी भएको बताइँदै गर्दा नेपालीहरुको बसाई भने सामुदायिक बाहुल्याताकै आधारमा यत्र तत्र छरिएर तर झुप्प झुप्प अवस्थामा रहेको छ।
लन्डन बाहिर रहेका नेपालीहरु पनि सामुदायिक तथा सामाजिक रुपमा भने एकीकृत र उत्तिकै सकृय रहने गरेका छन् ।
राजधानी लन्डनको आसपास नै रहन चाहने हरुले भने शहरको बाहिरी परिधी , एम २५ र केन्ट पेरिफेरीमा आँखा लगाउने गरेका छन्।