बुवा खोई ?
–‘वालमार्ट जाको छ’
आमा नि ?
–‘होम्मै विजी छ’
तिमी के गर्दै ?
–‘गेम प्ले गर्दैछ।’
अभिभावक र आफ्नोबारे सोधिएका प्रश्न। सात बर्षका एक नेपाली बालकको जवाफ। ‘वालमार्ट’ त सपिङ सेन्टर भइहाल्यो। उनको भाषामा ‘जाको’ चाहिँ– गएको। अब बुझ्नुपर्यो– बुवा सामान किन्न जानुभएको रहेछ। अभिभावकलाई ‘जाको छ’ र ‘विजी छ’ भन्नुले बुझिन्छ– उनी आफूभन्दा ठूलालाई नेपाली आदरार्थी शब्द प्रयोग गर्न जान्दैनन्। हरेक वाक्यमा अंग्रेजी मिसिने त भइहाल्यो।
जन्मेको चार वर्षमा नेपालबाट अभिभावकसँग क्यानाडा आएका हुन् उनी। त्यसबेला अभिभावकलाई उनको मुखबाट निस्कने नेपाली शब्दहरुको उच्चारण मिठो लाग्थ्यो। तर, यहाँ तीन वर्ष बित्दा तोते बोलीसँगै नेपाली शब्द पनि हराउँदै गए। अहिले त रैथाने क्यानेडियन झैं उनी पटट अंग्रेजी बोल्छन्। कतै लट्पटिँदैनन्। नेपाली बोल्दा चाहिँ अक्मकिँदै।
अर्को प्रसंग,
बाबु ज्याकेट कस्तो छ ?
–‘धेरै रातो छ, थ्याङ्स’
तिमीलाई मन पर्यो नि?
–‘रातो छ, नाइस वान।’
हिउँ पर्ने मौसममा नयाँ ज्याकेट किनेर ल्याइदिएपछि बुवा–छोरावीचको संवाद। छोराको प्रतिक्रिया सुनेपछि बुवा भने चकित। निलो रङको ज्याकेट लगाएको छोरो एकोहोरो भन्दोरहेछ, ‘रातो छ, नाइस्।’ मुहारमा खुसी पनि झल्किएकै छ। तर, छोराले एउटा रङलाई भन्छ अर्कै। अलिबेरमा कुरो खुलेछ, छोराले ‘राम्रो’ भन्न नजानेर त्यसको ठाउँमा ‘रातो छ, रातो छ’ भनेको रहेछ। कुरा बुझेपछि अभिभावक हाँसेर चौपट्।
मातृभाषाप्रति क्यानाडा बस्ने नेपाली समुदायका बालबालिका कति कमजोर छन् भन्ने दर्शाउन यी प्रसंग काफी छन्। यहीं जन्मिएर नेपाली बोल्न नजान्नु एउटा कुरा। तर, नेपालमै पटट बोल्ने भएर यता आएकासमेत राम्रोलाई ‘रातो’ र गएकोलाई ‘जाको’ भन्ने अवस्थामा पुग्नु सुखद् होइन। सबैका हकमा ठ्याक्कै यस्तै नभए पनि धेरैजसो नेपाली बालबालिका मातृभाषामा कमजोर छन्। यो अभिभावक स्वयंले स्वीकारेको कुरा हो।
क्यानाडामा अंग्रेजी प्रभावले नेपाली भाषालाई कसरी थिच्छ त ? एकैछिन आयुस्का ढुंगानाको चर्चा गरौं। सन् २०११ मा पोखराबाट अभिभावकसँग टोरन्टो आउँदा उनी चार वर्षकी थिइन्। नेपालीमा बोल्याबोल्यै गर्नुपर्ने चुलबुले उमेर। आएको केही हप्तापछि मिसिसागास्थित एउटा विद्यालयमा जब भर्ना भइन्, नेपाली भाषा घरमा सीमित हुनपुग्यो। आमा बुवासँग नेपालीमा बोल्ने उनी हप्ता, महिना र बर्ष बित्दै गर्दा अंग्रेजीमा रमाएर कुरा गर्ने भइन्। नेपालीमा चाहिँ अक्मकिएर।
‘बच्चाले जुन भाषा बढी बोल्यो, त्यही छिटो जान्ने हुँदोरहेछ’ कानुनी सेवामा आवद्ध आयुस्काका बुवा नवराज ढुंगानाको अनुभव छ, ‘हामीसँग हुँदा नेपालीमै बोल्न खोजे पनि अंग्रेजी प्रभाव चाहिँ धेरै छ, तर नेपाली नजान्ने नै भने होइन।’ सन्तानलाई मातृभाषा जान्ने बनाउनु दायित्व अभिभावकको हो भन्ने विचार राख्ने ढुंगाना सकेसम्म धेरै समय छोरीलाई दिइरहेको बताउँछन्।। अंग्रेजी शब्दलाई नेपाली अर्थ लगाएर छोरीको ज्ञान फराकिलो पार्न सघाउँछन् उनी।
सन्तानले भविश्यमा उच्च शिक्षा लिएर नेपालमै पनि राम्रो काम गर्नसक्ने सम्भावना औंल्याउँदै ढुंगाना नेपालीमात्र नभई धेरैभन्दा धेरै भाषा जान्दा राम्रो हुने सुझाउछन्। ‘तर, बिडम्बना कस्तो भइदियो भने समुदायका कार्यक्रमहरुमा नेपाली भाषा, कला, संस्कृतिको उत्थान हुनुपर्छ भन्ने अगुवाहरु नै आफ्ना सन्तानलाई त्यस्ता कार्यक्रममा सरिक गराउँदैनन्’ उनको अनुभव छ, ‘घरमा हुने संवादले मात्र भाषिक ज्ञान पूरा नहुनसक्छ, कार्यक्रमहरुमा छोराछोरीलाई सहभागी गराए राम्रो हुन्छ।’
अब, १० बर्षीय सम्यत् गौतमलाई नियालौं। अहिले टोरन्टोको ब्राम्पटनस्थित एउटा स्कुलमा ग्रेड चार अध्ययरत छन् उनी। नेपालमा चाहिँ सुनसरीको झुम्का हो घर। बुवा आमासँग ६ वर्षअघि क्यानाडा आएका। त्यस बेला उनको उमेर पनि चार वर्ष। ‘आउँदा फरर नेपाली बोल्थ्यो, हामीलाई पनि सुनौं सुनौं लाग्थ्यो’ छोरा सम्यत्बारे आमा सम्पदाले सुनाइन्, ‘जब यहाँ स्कुल भर्ना भयो, नेपाली कम अंग्रेजी हावी हुँदै गयो।’
दैनिक ६/७ घन्टा स्कुलमै बित्ने, पाठ्य सामग्री अंग्रेजीमै हुने, साथीसंगी अंग्रेजीमै बोल्ने मात्र होइन घर फर्केपछि कम्प्युटरमा खेल्ने खेल र टिभीमा हेर्ने कार्यक्रम पनि अंग्रेजीवालै हुन्छ। ‘अंग्रेजीमा त्यति नगर्दा स्कुलमा साथीभाइसँग प्रतिस्पर्धा गर्न नसक्ने हुन्छ’ सम्पदाको अनुभव छ, ‘तर, बच्चामै जानेको नेपाली भाषा चै चौतर्फी अंग्रेजी प्रभावले सकिँदै जाँदोरहेछ।’ चार वर्षपछि दुई महिने छुट्टीमा नेपाल जाँदा छोरो दुई हप्तासम्म नेपाली संवादहीन बनेको उनी सम्झिन्छिन्।
पारिवारिक भ्रमणमा अहिले सम्यत्का हजुरबुवा–हजुरआमा क्यानाडा आएका छन्। सुनसरीमा लामो समय शिक्षण पेशामा आवद्ध नेत्रप्रसादले नातिमा व्याप्त अंग्रेजी–नेपाली भाषाको द्वन्द्व नजिकबाट नियाल्दैछन्। सँगै भएका बेला बोल्न मात्र नभई नातिलाई नेपाली लेख्न पनि सिकाइरहेका छन्। क्यानाडामा आयुसा र सम्यत्जस्ता नेपाली बालबालिका धेरै छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाका अनुसार यहाँ नेपालीको संख्या झण्डै ४० हजार छ।
तीमध्ये थोरै अभिभावक ‘अंग्रेजी फस्ट’ मान्यता राख्दै ‘छोराछोरीले नेपाली नजाने नि फरक नपर्ने’ मान्यता राख्छन्। उनीहरु आफ्ना सन्तानले फरर अंग्रेजी बोलेकैमा खुसी हुन्छन्। बहुसंख्यकको चिन्ता चाहिँ आफ्ना सन्तानले अंग्रेजीसँगै नेपाली भाषामा पनि बोल्न र लेख्न जानुन् भन्ने छ। संघका अध्यक्ष गोपीकृष्ण काफ्ले भन्छन्, ‘ग्लोवलाइजेसनको युगमा अंग्रेजी अनिवार्य भइहाल्यो, तर नेपालीको महत्व सदैव हुन्छ, यसको पनि ज्ञान चाहिन्छ।’
सदैव कामको चापले सन्तानलाई पर्याप्त दिन नसक्दा नयाँ पुस्तामा मातृभाषाको ज्ञान नभएको हो। कतिपय अभिभावक सन्तानलाई ‘डे–केयर’ मा राखेर काममा जान्छन्। कतिपय चाहीँ स्कुल पुर्याएर। भेट हुने समयमा पनि सन्तानलाई नेपाली बोल्न, लेख्न र पढ्न सिकाउने अभिभावक कमै हुन्छन्। टिभीमा नेपाली च्यानल लगाएर, कथा सुनाएर र गीतका माध्यमले मातृभाषातर्फ सन्तानलाई आकर्षित गर्ने अभिभावकको चाहना पनि व्यस्तताले पूरा हु“दैन।
यस्ता समस्या मध्यनजर गर्दै क्यानाडामा हुर्किरहेका नेपाली बालबालिकालाई मातृभाषाप्रति ज्ञान दिलाउन समुदायस्तरबाट थालिएको प्रयास अनुकरणीय बन्दैछ। नेपाली कम्युनिटी नेटवर्क अफ् क्यानाडा (एनसिएनसी) ले सन् २०१३ देखि ‘ब्राम्पटन सेन्टेनियल स्कुल’मा नेपाली कक्षा चलाइरहेको छ। १० महिनामा ३२ कक्षा हुने गरी त्यहाँ बालबालिकालाई नेपाली पढाइन्छ। मिसिसागा–ब्राम्पटन क्षेत्रका दुई दर्जन नेपाली बालबालिकाले यो बर्ष कक्षा लिएका थिए।
‘यो शैक्षिक सत्र यसै शुक्रवारदेखि सकिएको छ र अर्को शैक्षिक सत्रलाई विद्यार्थीको नाम दर्ता प्रक्रिया सुरु भएको छ’ एनसिएनसीका तर्फबाट नेपाली कक्षाको संयोजन गरिरहेका दिनेश खतिवडा भन्छन्, ‘नेपाली समुदायको पहलमा सुरु भएको मातृभाषा कक्षाको प्रभाव राम्रो छ, हामी यसलाई अझ व्यवस्थित र विस्तार गर्ने योजनामा छौं।’ सुरुमा नेपालीका घर घर धाएर अभिभावकलाई सहमत गराई बालबालिकालाई नेपाली कक्षामा सहभागी गराएको खतिवडाको अनुभव छ।
सात बर्षदेखि क्यानाडा बस्दै आएका खतिवडाका दुई छोरा छन्। जेठा निर्देश र कान्छा नियम। दुबै यहीं जन्मेका। निर्देश नेपाली कक्षाका नियमित विद्यार्थी हुन्। ‘हामी घरमा पनि कथा र गीतहरुका माध्यमले उनीहरुलाई नेपाली भाषाको ज्ञान दिलाउन प्रयास गरिरहेकै हुन्छौं’ खतिवडाले सुनाए, ‘अझ नेपाली कक्षामा भर्ना गरेपछि उसको नेपाली सुध्रिँदैछ।’ अभिभावकले चाह“दा व्यस्ततावीच पनि अनेक उपाय हुने उल्लेख गर्दै सन्तानलाई मातृभाषाको ज्ञान दिनु कर्तव्य भएको बताए।
क्यानाडा बहुसांस्कृतिक मुलुक हो। यहा“ संसारका सबैजसो मुलुकका नागरिक आप्रवासीका रुपमा बसोबास गर्छन्। क्यानाडा सरकारले उनीहरुका लागि आफ्नो मातृभाषामा शिक्षा लिन पर्याप्त बजेट छुट्याउँछ। त्यसक्रममा ‘पिल डिस्ट्रिक्ट स्कुल बोर्ड’ले ‘ब्राम्पटन सेन्टेनियल स्कुल’मा अरु भाषालाई जस्तै नेपालीका लागि एक शिक्षकको व्यवस्था गरेको छ। नेपाली भाषाका पाठ्य सामग्री पर्याप्त नभए पनि बोर्डले नेपाली शिक्षकको पारिश्रमिक उपलव्ध गराउ“छ।
‘कतिपय पाठ्य सामग्री आफैं तयार पार्छु, कहिले नेपालबाट मगाउँछु’ डेढ बर्षदेखि नेपाली कक्षामा शिक्षण गर्दै आएका टिकाराम पौडेल भन्छन्, ‘सीमित स्रोतका भरमा पनि नेपाली बालबालिकालाई बोल्न, लेख्न र पढ्न अभ्यास गराइरहेको छु।’ अंग्रेजी मात्रै बोल्ने बालबालिकालाई नियमित कक्षामा अभ्यास गराउ“दै नेपाली शब्द मिसाएर बोल्नसक्ने बनाउनु उपलव्धि भएको उनी बताउँछन्। अभिभावकले पालो मिलाएर कक्षाका विद्यार्थीलाई खाजा खुवाउने व्यवस्था छ।
हरेक शनिवार अढाई घण्टा चल्ने नेपाली कक्षामा विद्यार्थीलाई दसैं, तिहारजस्ता चाडपर्व, नदीनाला, हिमाल, प्रमुख शहर आदिबारे बताइन्छ। ‘कहिले गीत, कहिले नृत्य त कहिले चुट्किलाका माध्यमले पढाउने गरेको छु’ शिक्षक पौडेल भन्छन्, ‘सुरु सुरुमा केही नेपाली नजान्ने बच्चाहरु बिस्तारै जान्ने हुँदैछन्, यो खुसीलाग्दो कुरा हो।’ विद्यार्थीको संख्या बढे आगामी शैक्षिक सत्रमा दुईटा सेक्सन चलाउन सकिनेछ। उक्त विद्यालयमा नेपालीसहित एक दर्जनभन्दा बढी भाषाका कक्षा हुन्छन्।
क्यानाडामा नेपाली धेरै भएको टोरन्टोकै स्कारबोरोमा पनि नेपाली कक्षा भइरहेको छ। एनआरएनए अध्यक्ष काफ्लेका अनुसार, भ्यान्कुभर, क्याल्गेरी, एडमन्टन, मानिटोवा जस्ता शहरमा पनि नेपाली फैलिनेक्रमसँगै बालबालिकालाई मातृभाषाको ज्ञान दिन संघ संस्थाहरु प्रयासरत छन्। नेपाली समुदायले प्रकाशन गर्ने ‘दियालो’ पत्रिकामा बालबालिका सम्बन्धि पनि सामग्री समेट्ने गरिएको छ।
नेपालीको संख्या बढ्दै गर्दा आर्थिक, सामाजिक र शैक्षिक हैसियत उँचो पार्ने अभिभावक पनि थपि“दैछन्। उनीहरुले प्राप्त गर्ने सफलता सन्तानको क्षमता विकासमा कत्तिको खर्च गरियो भन्ने महत्वपूर्ण हुने नेपाली कक्षा संयोजक खतिवडा बताउँछन्। ‘टन्न धन सम्पति कमाउनुमात्र सफलता होइन, सन्तानलाई आफ्नो भाषा, संस्कार र संस्कृति सिकाउनु ठूलो कुरा हो’ उनको मान्यता छ, ‘क्यानाडा बस्ने बालबालिकाले अंग्रेजी जानिहाल्छ, नेपालीमा चाहीँ गएकोलाई जायो र राम्रोलाई रातो भनेर हँसाउनुभएन।’