क्यानाडाले ११ श्रेणीका राइफल र अन्य हतियारहरूमा प्रतिबन्ध लगाउनले तयारी गरिरहेको रोयर्टसले जनाएको छ।
क्यानाडियन सुरक्षा श्रोतलाई उल्लेख गर्दै लेखेको समाचारमा प्रतिबन्ध लाग्ने सूचिमा गत साता २२ जनाको ज्यान जानेगरी भएको घटनामा प्रयोग भएको एसल्ट राइफललाई पनि समावेश गरिएको छ।
प्रधानमन्त्री जस्टिन ट्रूडो सरकारले बन्दुकले अपराधको वृद्धि भएको बताउँदै यसलाई बढावा दिन नहुने र हतियारहरू बन्द गर्ने वाचा निकै लामो समयदेखि गर्दै आइरहेको थियो।
अधिकारीहरूका अनुसार नयाँ निर्णय १ लाख २५ हजार बढी हतियारमा लागू हुनेछ। यस्ता हतियारमा प्रतिबन्ध लगाउन यस महिनाको शुरूमा क्यानडाको अट्लान्टिकमा भएको गोलीबारीका कारण प्रत्यक्ष रूपमा प्रेरित नभइ यसमा महिनौदेखि काम चलिरहेको क्यानेडियन अधिकारीहरूले बताएका छन्।
नयाँ प्रतिबन्धले बन्दुक प्रयोगमाथिको नियन्त्रणलाई संयुक्त राज्य अमेरिकाको भन्दा कडा बनाउनेछ। उक्त प्रतिबन्धको घोषणा शुक्रवारसम्म हुनसक्ने सम्भावना छ।
'हामीले लामो समयदेखि क्यानाडामा छोटो समयमा धेरै मानिसहरूको ज्यान लिन सक्ने हतियार र सैन्य शैलीमा हमला गर्ने हतियार नियन्त्रणलाई कडाइ गर्ने प्रतिबद्ध रहँदै आएका छौं',प्रधानम्नत्री ट्रिूडोले बिहीबार पत्रकारहरुलाई भने, 'क्यानडामा छोटो समयमै धेरै मानिसलाई मार्न डिजाइन गरिएको बन्दुकको आवश्यकता छैन।'
सन् २०१२ को संयुक्त राज्यमा भएको 'स्यान्डी हुक हत्याकाण्ड' मा प्रयोग गरिएको एआर १५ बन्दुक, एम ४, एम १४ र एम १६ राइफलहरूमा प्रतिबन्ध लगाइनेछ।
यी हतियारसँगै यो प्रतिबन्ध सूचीमा रुजर मिनी १४ राइफल, सिजेठ स्कर्पियन, बेरेट सिएक्स ४ र स्विस आर्म क्लासिक ग्रीन जस्ता कार्बाइनहरू समेत रहेका छन्।