ग्लोबल पोलिसी फोरम यु.के., द एसोसिएसन अफ नेपालीस इन द अमेरिकाज र क्यानडा फाउन्डेसन फर नेपालका साथै नेपाली राजदूतावास अटवा, क्यानडा र एन आर एन ए, एन. सी. सी. क्यानाडाको संयुक्त आयोजनामा 'नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका' सम्बन्धी सम्मेलन ७ जुलाई, २०१८ का दिन टोरन्टो विश्वविद्यालयको वाइक्लिफ कलेज, क्यानडामा सम्पन्न हुने भएको छ |
सम्मेलन आयोजक समितिका तर्फ बाट जारी गरिएको एक प्रेस विज्ञप्तिमा टोरंटो सम्मेलनमा क्यानडा, संयुक्त राज्य अमेरिका र युरोपबाट आएका विभिन्न विषयका धेरै विज्ञहरूले नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको के कस्तो भूमिका रहन सक्छ भन्ने बारे आ-आफ्नो विशेषज्ञता को क्षेत्रमा कार्यपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ।
सम्मेलन समितिका अध्यक्ष डाक्टर अम्बिका अधिकारीले दिएको जानकारी अनुसार सम्मेलनमा विभिन्न कार्यपत्रहरूको प्रस्तुतिसँगै इच्छुक नेपाली डायस्पोराका विज्ञहरूलाई कसरी नेपालको उच्च शिक्षामा बढी भन्दा बढी सहयोग पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्न र उपयुक्त रणनीतिको तर्जुमा गर्न सहयोग पुर्याउने सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।
नेपालमा उच्च शिक्षा कार्यक्रमको स्तर-उन्नति गर्नको लागि तर्जुमा गरिएको रणनीति लागु गर्दा आवश्यक पर्ने अनुसन्धान, पाठ्यक्रम विकास, व्यवस्थापन, र दूर शिक्षा सम्बन्धी क्षेत्रमा नेपालमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरू र विदेशमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरू बिच के कसरी सहयोगको आदान-प्रदान हुन सक्छ भन्ने बारे पनि गहन छलफल गरिने डाक्टर अधिकारीले बताए।
सम्मेलनमा क्यानाडाका लागि नेपाली राजदूत महामहिम काली प्रसाद पोखरेल, क्यानाडाका फेडरल सांसद डा. गेंग ट्यान, यु.के.को लीड्स युनिभर्सिटीका प्रोफेसर सूर्य सुवेदी, न्यू ब्रन्सविक युनिभर्सिटी क्यानाडाका प्रोफेसर वासु शर्मा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रोफेसर जीत जोशी, अरिजोना स्टेट युनिभर्सिटीका डा. अम्बिका प्रसाद अधिकारी, रेजाइना युनिभर्सिटी क्यानाडाका प्रोफेसर द्रोण रसाइली, फ्लोरिडा युनिभर्सिटी अमेरिकाका प्रोफेसर शिव गौतम र अमेरिकाको कनेक्टिकट युनिभर्सिटीका प्रोफेसर विद्या रंजित लगायतले आफ्नो मन्तव्य तथा कार्यपत्र प्रस्तुत गर्ने छन्।
डा. अम्बिका प्रसाद अधिकारी अध्यक्ष रहेको सम्मेलनको आयोजक समितिमा डा. तुलसी धरेल, डा. गोविन्द दाहाल, श्री नवराज गुरुङ र श्री गोपीकृष्ण काफ्ले सदस्य रहेका छन्।