पूर्व-सन्चारकर्मी, गायिका तथा नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभामा सांसद बनेकी कोमल वली यसपालीको तीजमा मनोरन्जनका लागि गीत गाउन क्यानडाको एडमन्टन सहरमा उपलब्ध भइन्।यसै सिलसिलामा सेतोपाटीका क्यानाडा प्रतिनिधि यम घिमिरेले उनीसँग गरेको कुराकानीकाे सम्पादित अंश।
शक्तिशाली सत्ताधारी राजनीतिक दलको सांसद्को रुपमा तपाईंको त पद, परिचय र जिम्मेवारी फेरिएको छ, तै पनि पहिलेकै कोमल वली जस्तो तीज गीत गाउन विदेस आउनु भयो त?
पहिलेकै कोमल वली त हो नि अहिले पनि। त्यही पहिलेको कोमल वलीको योगदान र क्षमताको कदरस्वरूप मलाई अहिलेको सांसद बन्ने अवसर मिलेको हो। म मेरो जन्मजात प्राप्त गाउने कलाको कारण देशभित्र देशबाहिर लोकप्रिय भएँ। त्यही लोकप्रियताको कारणले मलाई राजनीतिमा आउन पनि सजिलो भयो।
म समयको सदुपयोग गर्नु पर्छ भन्ने मान्छे हुँ। अहिले संसद नबसेको, सबै जना राजधानीबाहिर जिल्लामा व्यस्त भएको बेला मैले नेपाली दिदीबहिनीको तीज उत्सवमा सहभागी हुन नेपाली सामुदायको कार्यक्रममा आउनु कुन खराब कुरा हो र। म पनि महिला भएकोले महिलाहरुको पर्वमा साहभागी आउँदा र मैले जानेको कर्म गीत गाउने मनोरन्जन गराउने काम गर्दा के त्यस्तो प्रलय हुन्छ र? राजनीतिक व्यस्तताले गर्दा म विगत दुई वर्षदेखि कतै गएको थिइनँ यसपालि अलिकति फुर्सद मिलेकोले साथीभाइको आग्रहलाई नाइँ भन्न सकिन। गीत-संगीत मेरो नशा जस्तो भएको छ म यो छोड्न सक्दिनँ।
फेरि पनि संसदको माननीय सदस्यको काम छोडेर यसरी तीज गीत गाउन हिँडिदिँदा त ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ नै भयो नि?
तपाईंले भनेको कुरामा म अति नै संवेदनशील छु। मेरो मुख्य कामचाहिँ कानुन बनाउने नै हो। म संसद भएपछि पनि गीत-संगीतमा धेरै अनुरोध र निम्तो आउँछन् मैले मेरो राजनीतिक भूमिकामा असर नपर्ने गरी समय मिलाएर गरिराछु।
राष्ट्रिय सभाको माननीय सांसदको रुपमा तपाईंको ‘बिजनेस’ त विधायकको हो नि। कानुन बनाउने, जनताका अधिकार र सुरक्षाका कुरामा बहस गर्ने काम। एउटा सम्मानित काम, पद र प्रतिष्ठाको हैसियत हो। अनि यस्तो पद र प्रतिष्ठाको गरिमा र कर्तव्यलाई चटक्क बेवास्ता गरेर ‘ए माया गाजले म त मरेँ लाजले’ भन्दै हिँड्न तपाईंलाई अफ्ठ्यारो लाग्दैन त?
कहाँ त्यस्तो हुन्छ? राजनीति देशको नीति बनाउने कुरामा सेवा गर्ने हो भने गीत-संगीतको सेवा भनेको मान्छेको आत्माको सेवा गर्ने कुरा हो। मैले गीत गाउँदा मेरो संसद पदको मर्यादा बिग्रिँदैन र मलाई गीत गाउँदा आत्मग्लानी पनि हुँदैन। मलाई गीत संगीतले नै यो पहिचान दिएको हो। यस्तो कला सबैलाई प्राप्त हुने कुरा पनि होइन। हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ अब। आज अमेरिकाका पूर्व राष्ट्रपति ओबामा स्कुल कलेजका युवायुवतीलाई प्रेरणा दिन बिभिन्न सभासेमिनारमा गएर भाषण गरिरहेका छन्। उनलाई के नपुगेको थियो र त्यो गरेका? एउटा मान्छेभित्रका अनेक क्षमताको र बहुमुखी प्रतिभाको सामाजले फाइदा लिने कुरा हो यो। अनि फेरि मैले यो उमेरसम्म गर्दै आएको कुरा चटक्कै छोडेर किन बसूँ त? कोमल वलीलाई नेपाली दाजुभाइ दिदीबहिनीहरुले बुझिदिनु भएको छ। त्यो नै मेरो सम्पति हो।
म संसद्को रुपमा कानुन बनाउने, पास गर्ने, बजेटका कुरामा, नीति तथा कार्यक्रमका कुरामा कति अब्बल छु भनेर त्यहाँ हेर्ने हो मलाई। म राजनीतिलाई कमाइ खाने भाँडो मात्रै बनाउन गएकी होइन। म गीत गाउन आएका बेला मेरो गीत र कला पक्षलाई हेर्नुस् न। गाउने मेरो जागिर होइन अब। यो अब सेवा हो मेरो र यो गर्नुमा मलार्इ कुनै पछुतो छैन।
तपाईंले राजनीतिलाई कमाई खाने भाँडो बनाउन गएकी होइन भन्नुभयाे। तर राष्ट्रिय सभामा सांसद्को पद सुरक्षित राखेर यसरी गीत गाउन विदेश चाहार्न थालेपछि त त्यो पद त कमाई खाने भाँडो नै भयो त?
अब पहिलेजस्तो छैन। सांसद विकास कोष पनि अहिले मनोमानी गर्न नपाइने गरी व्यवस्थित बनेको छ। गाउँबाट आएर काठमाडाैंमा डेरा गरेर बस्नु पर्छ माननीयहरुले अनि उनीहरुले चाहिँ खर्चपर्च बिनै चलाउनु पर्छ दैनिक जीवन भन्ने पनि कुनै तर्क हो र? मेरो हकमा भन्नुहुन्छ भने मैले क्यानाडा आएर गीत गाएर जे जति पैसा पाउँछु त्यो मैले मेरो गाउँ दाङमा एम्बुलेन्स किन्न ‘च्यारिटी’मा दिने भनिसकेकी छु। ल भन्नुस् खोइ मेरो कमाइको भाँडो?
मैले गीत गाउनुपर्छ भन्ने दिदीबहिनीहरु देश, क्यानाडा, मध्यपूर्व, अष्ट्रेलियामा, युरोप, अमेरिकामा लाखौं हुनुहुन्छ। बरु राजनीति छोडिदिनु तर गाउन नछोड्नु भन्ने प्रेमी मनहरु छन् कतिकति। मैले उहाँहरुको भावनाको कदर गर्ने कि नगर्ने तपाईं भन्नुस् मलाई?
राजनीतिमा के त्यस्तो आकर्षण रहेछ र दल फेरी फेरी त्यहाँ नगई तपाईं जतिको अन्यत्रै सफल व्यक्तिलाई सुखै भएन?
मैले हेरेँ राजनीति नै सबै नीतिहरुको मूल नीति रहेछ। मैले यत्रो वर्ष रेडियो नेपालमा काम गरेँ, कला क्षेत्रमा सेवा गरेर साफलता पाएँ तर खोइ त मैले नीति बनाएर अरुलाई लाभान्वित गराउन सकिनँ। भर्खरै आएकी छु राजनीतिमा। काम गरेर देखाउने दिन आउँछ मैले।
तपाईं नेपालमा एकबेला राजतन्त्रको खुलेआम पक्षपाती हुनुहुन्थ्यो। मासिएको राजतन्त्रप्रति तपाईंको एकदमै चोखो प्रीति थियो। राजा तपाईंका लागि सर्वाेच्च पूज्य व्यक्ति र आस्थाका धरोहर थिए। तिनै पूज्य राजालाई मासेर गणतन्त्र ल्याउन लागिपर्ने 'उग्र गणतन्त्रवादी'हरुसँग तपाईंको अहिले कसरी उठबस र संगती मिलिरहेको छ त?
‘चोखो प्रीति’ शब्दप्रति लामो र घतलाग्दो हाँसो... यो सब समयको कुरा हो। मान्छे र विचार समयक्रममा बदलिन्छ नि। हिजो हामी ढुंगे युगमा थियौं, अहिले विकासको चमत्कार देख्ने युगमा छौं। एकबेला नेपालमा राजा नमान्ने खोजी मर्दा कोही भेटिँदैन थियो। समय बदलियो। कोमल वली पनि मान्छे नै हो। उसको पनि मन बदलियो त कुन ठुलो कुरा भयो। देशको हितको खातिर मैले नि विचार र बाटो फेरेँ। म राप्रपामा नै थिएँ। गाउँमा गएर हेरेँ। जनाधार भन्नु शुन्य छ। स-साना झुण्डहरु राजाको नाम भजाएर नेता हुने खेलमा लागेको र कहिले नि कतै नपुगिने बाटोमा लागेको देखेँ मैले। मलाई त देश र जनताको सेवा गर्नलाई राजनीतिमा लाग्नु थियो। एउटा उल्लेख्य पद नपाइकन मेरो लक्ष पुरा हुनेवाला थिएन। केपी ओलीको नेतृत्व, देशप्रतिको जिम्मेवारी, राष्ट्रियताप्रतिको स्पष्ट अडान र देश बनाउने उहाँको भिजनले मलाई भित्रभित्रै छोइरहेको थियो। त्यसैले मैले त्यो बेलाको एमालेमा लाग्ने निधो गरेँ।
पहिले तपाईंको आस्थाको केन्द्र र सर्वाेच्च आभिभावक राजा थिए। अहिले तिनै राजालाई फाल्ने दुई नेता केपी ओली र प्रचण्डलाई तपाईं आफ्ना नेता, ‘रोल मोडल’, सर्वाेच्च व्यक्तित्व मान्नुहुन्छ। कहिलेकाहिँ आफैँदेखि उदेक लाग्दैन? के भिन्नता महसुस हुन्छ?
म केपी ओली र प्रचण्ड दुवैसँग एकदमै ‘कम्फर्टेबल’ अनुभव गर्छु। दुवै मेरा नेता हुनुहुन्छ र आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँहरुप्रति म गर्व गर्छु। मलाई मेरो पार्टीको जुनसुकै तह र तप्कामा काम गर्न कुनै हिनतावाेध हुँदैन, गौरव अनुभूति हुन्छ।
अब त राजा आउलान देश बचाउलान् भन्ने त सोच्न नि सक्नु हुन्न होला?
समयको खेल हो हेर्नुस्। ‘एब्सुल्युट’ यसै हुन्छ वा हुँदैन भन्न त कसरी सकिएला र। परिवर्तनको चक्र उल्टो घुमेका अनेक घटना छन् विश्वमा। जनताले चाहे भने निर्णय गरे भने नहुने भन्ने कुरा नहोला तर राजा आउने सम्भावना दिनदिन गर्दै टरेर गइरहेको छ। विस्तारै मान्छेले बिर्सिन थालिसक्यो अब।
यो तीज कोमल वलीको लागिचाहिँ कस्तो चाड हो?
(लामो हाँसो...) साह्रै मीठो प्रश्न गर्नु भो तपाईंले। यस्तो प्रश्न त मलाई आजसम्म कसैले गरेको थिएन। तपाईं नै पहिलो हो यस्तो सोध्ने त। यो चाड मेरो लागि त यसो विचार गर्ने हो भने साँच्ची नै अर्थहीन नै हो। न मेरो श्रीमान् नै छ, न मैले 'सौभाग्य' भनेर सिन्दुर, रातो चुरा पोते नै लाउनु पर्या छ। यसरी व्यक्तिगतरुपले हेर्दाचाहिँ मेरा लागि यो चाडको कुनै अर्थ छैन। तर म आध्यात्मिक स्वाभाव भएको मान्छे भएर र समाजको साँस्कृतिक धार्मिक कुरामा मेरो गहिरो लगाव भएकोले म तीजलाई यो पक्षबाट आफूलाई जोड्छु। मैले सानैदेखि तीजको रौनक, गीत, नाचगान, पहिरन, गहना, आवतजावत, खानपान, पूजा, व्रत त देख्दै आएको छु नि। मेरी आमाले नै गाउनु भएको हो यस्तो गीत उहिले।
‘मेरा बाबा हुँदा हुन् त चोली दाइजो दिँदा हुन्
लेऊ न भाउजु मलाई जोडी परेवा
सिरानीमा राखूँला कामलीले छोपूँला
परेवाको घुर्की सुनी बिहानै उठुँला’
त्यो बेला घडी हुँदैन थियो आज जस्तो। अनि माइतबाट जोडी परेवा पाउन पाए तिनलाई हुर्काएर परेवाको घुरघुरलाई आजको भाषामा ‘अलार्म’को रुपमा प्रयोग गरेर सबेरै उठी घरको धन्दापात छिन्न पाउँथे भन्ने भाव हेर्नुस् त कति मिठो छ।
अनि यही समाजमा हुर्केर म कसरी यो सबबाट अलग हुन सक्छु?
तीजले विकृति ल्यायो, तीजका गीतले गर्दा लाखका साडी लाउने र गहनाले छपक्कै पुरिने प्रतिस्पर्धामा गयो तीज, वुद्धि, विवेक, ज्ञान बढाउने, अध्ययन गर्ने, अधिकार, समाज सुधार र स्वतन्त्रताका कुरामा चिन्तन विवेचना गर्नुको साटो दरको तरमा लठ्ठिने बढे भनेर महिलाले नै अालाेचना गरिरहेका छन् नि?
पहिलो कुरा तपाईंले भनेजस्तो गीत नै छैनन्। समय परिवर्तन हुँदै जाँदा तीज अहिले महिलाको सशक्तीकरण, सामाजिक सद्भाव आदानप्रदान गर्ने र लोग्ने-स्वास्नीबीचको प्रेममा गाढापन ल्याउने एउटा शक्तिशाली पर्व हो यो। यसलाई महिलाले नै नकारात्मक ग्रन्थीले हेर्न केही आवश्यक छैन। महिलाको आफ्नो जीवन भन्नु नै कति छ र? काम, घर धन्दा, छोराछोरीको स्कुल, खाजा, लुगाफाटो... एकैछिन फुर्सद छ महिलालाई? अनि वर्षदिनमा एकपल्ट एकदुई दिन नाच्न, गाउन, मन बहलाउन निस्किँदा दुनियाँका ‘थ्योरी’ र वाद तेर्स्याएर अक्कलविलास किन गर्नु पर्यो महिलाले नै? मान्छेलाई कामबाट दैनिक जीवनको धपेडीबाट ‘ब्रेक’ चाहिन्छ कि चाहिँदैन? हामीसँग त यस्तो राम्रो साँस्कृतिक बहाना छ नाच्न, गाउन, मन लाग्या लाउन, खानलाई। एकदिन रमाइलो गर्नु छ तीजको, कुन चिन्तकले के भन्यो भनेर दु:खी भएर हुन्छ? हाम्रो सामाजिक, पारिवारिक मूल्य मर्यादालाई जोगाउँदै महिला दिदीबहिनीहरुले विनासर्त रमाइलो गर्नुपर्छ कामधन्दाबाट समय निकालेर। पुरुषहरुले चाहिँ शुक्रबारैपिच्छे दन्काउन हुने महिलाले वर्षमा एकपल्ट तीज खाएकोमा महिलाले नै विरोध गर्ने?
फलानाकी छोरी तीजमा गएर बिग्री, चरित्रहीन भर्इ, तीजको दर खाएर नालीमा लडेको भेटियो भनेर कतै सुन्नु भएको छ?
जति गहना लाएपनि सुनकै साडी लाए पनि फरक परेन त्यसाेभए?
ए बाबा कमाउनेले सक्नेले लाउछन् त। बिदेसमा बस्ने दिदीबहिनीले अलिक बढी गहना लाएको देख्या छु, कमाउछन् लाउछन्। संसारकै म यति नम्बरको धनी भनेर म्यागेजिनमा फोटो र नाम निकाल्न र धनको तुजुक देखाउन मरिहत्ते गर्नुचाहिं हुने अनि सांस्कृतिक पर्वमा मेरा गहना यति छन् भनेर देखाए नै भने नि के बिगारे त? किन महिलानै महिनाको खुसीका बिरुद्दमा खनिनु पर्ने? महिलालाई जोडेको छ तीजले। महिलाबीचको एकता देखेर महिला नै जलेका हुन् अरु केही होइन यम यो।
अब कहिलेदेखि गीत गाउन छोडेर पूर्णकालीन राजनीतिमा आउने त ?
मेरो युट्युब च्यानल छ। त्यसमा मैले संसदको रुपमा बोलेका कुराहरु, मेरा भाषणहरु, नियम कानुनका बारेमा मैले दिएका विचारहरु हेर्नुस्। सबै छन्। केही कमीकमजोरी गरेको छु केही बिगारेको छु भनेर कसैले ल्याउछ भने म राजिनामा दिन तयार छु। म अरु जस्तो काम नगरी कुरा मात्रै गर्ने सांसद होइन। कोमल वली लागेपछि जुनसुकै क्षेत्रमा पनि सतप्रतिशत ‘डेलिभरी’मा जान्छे। मेरो सबै समय राजनीतिक काममै बितेको छ। फुर्सद मिलेकोले क्यानाडा र अष्ट्रेलिया निस्किने मौका पाएको मात्रै हो।
युरोपबाट निम्तो आउला, जापानबाट आइदिनु पर्यो भन्लान नि त फेरि ?
(हाँसो) म जाँदिन। मैले राष्ट्रिय सभाको सांसदको रुपमा गर्नु पर्ने काम कर्तब्य छोडेर म गीत गाउन जाँदिन। बिचमा फुर्सद मिल्यो भने मप्रति देखाइने नेपाली माया र हार्दिकतालाई टारेर बस्न सक्दिन जान्छु।
तपाईंलाई दुईटा प्रश्नले सधैं खेद्यो। अब मसँग पनि तिनै दुईटा प्रश्न बाँकी छन्। ‘पोइल जान पाम् पाम्...’ गाएर कोमल वलीले नारीको अपमान गरी रे त? यो गीत नगाएको भा हुने रहेछ भन्ने लाग्दैन कहिलेकाहीं ?
लाग्दैन, किन लाग्छ ? यो गीत नबुझ्नेले यसको बिरोध गरेका हुन्। यसले नारीको सशक्तीकरणमा सघाएको छ। हाम्रो समाजमा अनेक जातजातिका कुरा गरेर चोखो प्रेमलाई निषेध गर्ने गरिएको छ। यस्तो स्थितिमा यो गीतमार्फत एउटी महिलाले भन्छे मैले रोजेको, मैले माया गरेको र मैले आफ्नो जीवन र खुसी देखेको मान्छेसँग घरजम गर्न पाऊँ। यो गीतले प्रेमको पुजा गरेको छ।
अब अन्तिममा एउटा सदाबहार प्रश्न। हेर्नुस् त, उत्तम संजेल, मिथिला शर्मा, राजेश हमाल सबैले बिहे गरे त? अन्तिममा बिहे नगरी त सुखै छैन कि क्या हो?
(लामो हाँसो) उहाँहरु उहाँ नै हो म कोमल वली नै हो। तुलना त गर्नु पर्दैन होला। अबको मेरो जीवन देस र जनतालाई नै हो जस्तो छ। तपाईं त क्यानाडामा बस्नु हुन्छ, अंग्रेजीभाषीहरु भन्छन् नि, ‘ह्युमन माइन्ड चेन्जेज् ओभेर द कोर्स अफ टाइम।’ अब बिचार बदलिएछ भने, कुनै दिन जीवन साथी भेटिएछ भने नि सामान्य कुरा भयो, एउटी महिलाले एउटा पुरुषसँग बिहे गर्ने कुरा भन्दा बढी केही हुन्न होला त्यो घडी आएछ नै भने पनि। मरो त्यस्तो योजना र सोच भने छैन।