- नेपालको संविधान-२०७२ ले तीन वर्ष पूरा गरेको उपलक्ष्यमा नेपाली राजदूतावास ओटवाले भव्य कार्यक्रम आयोजना गरी मनाएको छ। नेपाल र क्यानडाको राष्ट्रिय धुन बजाई सुरू गरिएको कार्यक्रममा अतिथिहरूको स्वागत गर्दै क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले संविधान जारी भएसँगै नेपाल आर्थिक विकासको दिशामा अघि बढेको बताए।
सेप्टेम्बर २४ मा अायोजित कार्यक्रममा पोखरेलले नेपालको संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्व, मानवअधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रतालगायत मान्यतालाई आत्मसात गरेको बताएका थिए।
उनले मुलुक संघीय संरचनामा गई प्रान्तीय सरकारहरू बनिसकेको अवस्थामा लोकतान्त्रिक शासन व्यवस्था थप मजबुत भइरहेको दाबी गरे।
उनले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र क्यानडाबीचको सम्बन्ध सुमधुर रहँदै आएको बताए। पोखरेलले क्यानडामा नेपाली मूलका करिब ४० हजार नागरिकको उपस्थिति रहेको र नेपाल भ्रमण गर्ने क्यानेडियन नागरिकको संख्या पनि उल्लेख्य रहेकाले दुई देशबीचको सम्बन्ध थप मतबुत बन्न सहयोग पुग्ने भनाइ पनि राखेका थिए।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभाका क्रममा प्रधानमन्त्री केपी ओली र क्यानडाका प्रधानमन्त्रीबीच द्विपक्षीय छलफल र कुराकानी भएको समेत बताए।
बैठकका अवसरमा नेपाल तथा क्यानडाबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र फराकिलो बनाउने उदेश्यले दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको उनले जानकारी दिए। सोको पहिलो बैठक आयोजना मिति तय भएको पोखरेलले बताए। बैठक अक्टोबर पहिलो साता ओटावामा हुने तय भएको छ।
संविधान दिवस कार्यक्रमको अवसरमा क्यानडाको परराष्ट्र मन्त्रालयको साउथ एसिया महाशाखाका महानिर्देशक डेभिड हर्टमानले नेपाल र क्यानडाबीच ओटावामा हुने पहिलो बैठकमा द्विपक्षीय सम्बन्धन तथा सहयोगका विविध आयामहरूमा छलफल हुने बताए।
स्थानीय ओटवा सीटी हलमा आयोजना गरिएको उक्त कार्यक्रममा क्यानडाको संसदका सदस्यहरु, सिनेटर, क्यानडाको विदेश मन्त्रालयका महानिर्देशकलगायत दक्षिण तथा दक्षिणपूर्व एशिया महाशाखा हेर्ने वरिष्ठ अधिकारीहरु, ओटवास्थित विभिन्न देशका महामहिम राजदूत एवं प्रतिनिधिहरु, पूर्वराजदूत तथा कूटनीतिज्ञहरु, ट्रेड फेसिलिटेसनका प्रतिनिधिहरू, अाइडिअरसी, विश्वविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षकहरु, बैंकका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली समुदायका संघ-संगठनका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता थियो।