मुर्खम् छन्दानु बृत्या च: तत्वार्थेन च: पण्डितम्
अर्थात्
मुर्खको अगाडि विद्वान् हात जोडेर बस्नु उचित हुन्छ।
कक्षा ४ मा पढेको संस्कृतको यो श्लोक वर्षौंपछि एक दिन उल्टिएर आफैंमा लागू हुन्छ, सोचिएको थिएन। पृथ्वी गोलो हुन्छ कै अनुभव केही समय पहिले आदरणीय ‘मुर्ख’ (उहाँकै शब्द सापटी लिँदै) महावीर पुनसितको छोटो भेटघाटले गराइगयो। फरक यति मात्र रह्यो, आफूलाई ‘मुर्ख’ साबित गर्न उद्धृत महावीर विद्वान् थिए र विद्वान् भनिएका ‘म’हरू ‘मुर्ख’ शैलीमा हात जोडेर बसेका थियौं।
गत सेप्टेम्बर महिनाको दोस्रो हप्तातिर टोरोन्टोमा एनआरएन क्यानडाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्मानित तर ‘मुर्ख’ पात्र महावीर पुनसित साक्षात्कार हुने मौका जुर्यो। हुन त चार वर्ष पहिला पनि टोरोन्टोमै भेटको अवसर जुटेको थियो। त्यसैबेलादेखि उहाँप्रति एक किसिमको छाप परेको थियो म मा। आविष्कार केन्द्रको खाका कोर्ने शिलशिलामा थियो त्यो भेटघाट अर्थात्। ‘मुर्ख’ नभैसक्नु भएको अवस्था, कोसिसमा हुनुहुन्थ्यो भन्नूपर्ला।
तीन मूलभूत उद्देश्यसहित क्यानडा र अमेरिकाको विभिन्न सहरहरूको दौडाहा भमणमा निस्कनुभएका महावीर सरको कुरा बडो स्पष्ट र प्रभावित पार्ने खालको थियो। सुनिरहूँ लाग्ने। बोल्ने क्रममै उहाँले आफूलाई बारम्बार ‘मुर्ख’को उपाधि दिइरहँदा म भने आफूलाई ‘विद्वान्’ ‘शुत्तुरमुर्ग’ देख्दै थिएँ।
प्रबुद्ध पाठक वर्गलाई शुत्तुरमुर्ग भनेको के हो भनिरहनु नपर्ला। (अंग्रेजीमा अस्ट्रिच) यद्यपि, यसको एउटा बानी बडो विचित्रको हुन्छ भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ। आफूलाई अलिकति असजिलो स्थिति आउँदैछ भन्ने भान हुनेवित्तिकै यो प्राणी जमिनमुनि टाउको लुकाउँछ र आफू सुरक्षित रहेको ठान्छ। महावीर सरको यो उत्तर अमेरिकी भ्रमणले यहाँका हामी एनआरएनहरू त्यही शुत्तुरमुर्ग ताल गरेको महसुस भयो। बोलायो, कुरा सुन्यो र चुरो कुरोमा असजिलो हुन्छ ठानेर मौन रह्यो।
झन्डै दुई महिनाको क्यानाडा, अमेरिका भ्रमणका मूल उदेश्यबारे केही चर्चा:
१. ज्ञान दान
२. समय दान
३. अर्थ दान
१. ज्ञान दान
रा.आ.के. (राष्ट्रिय अविष्कार केन्द्रको संक्षिप्त रुप)लाई देश बाहिरका नेपालीहरूले सिकेका, जानेका र देखेका ज्ञानमार्फत नेपालमा रहेका नयाँ पुस्तालाई शिक्षित गराउन र समग्र रुपमा देशसित जोडिने पुलको खोजी वा जुनसुकै तवरले मद्दतको आह्वान गर्दाको उहाँको हावभाव बडो आनन्दित तुल्याउने खालको थियो। त्यस ‘मुर्खता’ पूर्ण कार्यलाई पूर्णता दिन उहाँ २४ घण्टा पूरै मन र मस्तिष्कबाट चलायमान हुनुहुन्छ। कतै उपयोगी/सहयोगी मन भेटिइहाल्छ कि भनेरै फेसबुके विद्वानहरूको हरेक बाङ्गाटिङ्गा प्रश्नहरूको जवाफ दिइनैरहनु भएको छ। मेसेन्जर होस वा इमेल, म जस्ता बबुरोको प्रश्नको उत्तर राति १२ बजे वा बिहान ५ बजे तु का तु फर्काउनुहुन्छ। कहिले फोन दान गर्न आह्वान गर्नुहुन्छ त कहिले आइडिया सेयर गर्न। यस्तै उरनठ्याउलो, उरनठ्याउलो कार्यमा आफूलाई व्यस्त र देशलाई छातीमा राखी पूर्ण रुपमा ‘मुर्ख’मा प्रमाणित गर्न प्रयासरत हुनुहुन्छ महावीर सर।
२. समयदान
उहाँको मुखैले नभने तापनि ध्यान दिएर दोस्रो दान ‘समय दान’लाई हेर्ने हो भने अर्थ दानको महत्व त्यहीँभित्र लुकाएर प्रस्तुत गरिएको छ भनी बुझ्न गाह्रो नपर्ला। त्यो भन्नुको सोझो अर्थ हो रा.आ.के. बारे थोरै समय दिएर भए पनि २/४ जना अरुलाई बुझाउनुस्, तीन करोड नेपालीमध्ये एक प्रतिशतले मात्र पनि बुझिदियो भने पनि अर्थको कुनै समस्यै नरहने महावीर सर बताउन बिर्सनु हुँदैन र जब केन्द्र आर्थिक रुपमा सबल हुन्छ, देशका कर्णधार युवाहरूलाई देशमै बसेर नयाँ-नयाँ अनुसन्धान गर्ने वातावरण बन्नेछ। जसको कालान्तरमा प्रत्यक्ष फाइदा देशलाई हुनेछ। विकसित नेपालको अर्को पुस्ता निर्वाध यस पुस्तालाई साधुवाद दिइरहनेछ।
३. अर्थ दान
उहाँका तीन प्रमुख उदेश्यमध्ये हामी विदेशिएका नेपालीहरूले तत्काल गर्न सकिने उद्देश्य तीन नै हो र बुझ्नुपर्ने कुरो पनि यही हो। म जस्तो सामान्य तर थुप्रैथुप्रै संख्यामा रहेका एनआरएनहरू मिलेर अरु केही गर्न नसके पनि एउटा गहकिलो अर्थ दान भने गर्न सकिन्थ्यो। तर, फेरि कुरो उही शुत्तुरमुर्गकै हुन आउँछ। अर्थ संकलनको झ्याउ टन्टा र असजिलो स्थितिको सामना गर्नुभन्दा शुत्तुरमुर्ग पाराले टाउको लुसुक्क लुकायो, भई त हाल्यो विद्वान शुत्तुरमुर्ग।
एउटा अन्तरक्रियामा उहाँलाई सुनी दिएर कति सजिलै आफ्नो कर्तव्य पूरा भएको ठान्यौं। मान्छु अर्थ उठानीबारे उहाँले कतै छनक दिनु भएन, मुखै खोल्नु भएन त्यतिमात्र कहाँ हो र? भ्रमणभरि प्रतिपादै गरिराख्नु भयो, जुन उहाँको नेकपना थियो। हामीले त त्यति नेकपना समेत देखाउन सकेनौं। अन्य अर्थ नलागोस्, हामीले आफूलाई पूर्ण रुपमा ‘विद्वान् शुत्तुरमुर्ग’ प्रमाणित गर्यौं भन्दा गलत नहोला। फेरि यस्तो कुरो आफैं भन्दै हिँड्न पनि त भएन, हामीले बुझ्नुपर्ने थियो।
जो व्यक्ति देशको उज्यालो भविष्यको निम्ति आफ्नो विश्वविख्यात तक्मा समेत बेचिरहेको छ, के उसले नभन्दैमा आर्थिक मद्दत नचाहिएकै भनी जानाजान अबुझ बन्न मिल्थ्यो? अमेरिकामा उनको भ्रमण तालिका कसले मिलायो थाहा भएन तर क्यानडामा एनआरएन लगायत हामी सबै नेपालीहरु यस कुरामा चुकेकै हो। ए!
केन्द्रले खोल्ने एकलब्य दृष्टि लिएर हिँडेका यी ‘मुर्ख’मा देशको लागि केही गरौं भन्ने छटपटी कतिसम्म देखियो भनेरै साध्य छैन। लाग्यो, २/४ जना यस्तै ‘मुर्ख’हरु मेरो देशले खोजिरहेको छ। केन्द्रकै लागि भनेर के गर्न बाँकी राखेका छन् र? आफ्नो सहस्र सम्पत्ति देशलाई सुम्पेका छन्। त्यतिले भएन भनेर आफ्नो अमूल्य तक्माहरु बिक्रीमा राखेको कुरा माथि नै भनिसकेँ। यो ‘तक्मा’ बिक्रीको कुरा सुन्दा म जस्तोको मन त भत्भती पोल्यो, उहाँको अन्तर अवस्था कस्तो होला, सजिलै अनुमान गर्न सकिन्छ। व्यक्तिगत रुपमा यो भन्दा ठूलो बिडम्बना र राष्ट्रिय रुपमा यो भन्दा ठूलो अपमान/दुर्भाग्य अरु के हुनसक्छ?
यसो सोच्ने हो भने उहाँलाई धेरैले कि मुर्खै नभए पागल अवश्य भनेकै होलान्। अमेरिकी विश्व विद्यालयको पढाइपछि चाहेको भए लाखौंलाख अन्यले जस्तै आरामको विदेशी जीवन जिउन नसक्ने कहाँ थियो र? चिल्लो बाटोमा सरर गाडी हुइँक्याएर पारिवारिक सुखमा रमाउन के ले छेकेको थियो र? तर होइन, उहाँले ती सबै ब्यक्तिगत लालसा परै राखी विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई देशकै माटोमा समर्पित गर्ने अठोट गर्नुभयो, यो चानचुने कुरा होइन। मान्नुपर्छ उहाँको बहादुरीलाई।
अन्त्यमा, आउनुहोस्, ‘मुर्ख’ महावीर सरको अभियानमा आर्थिक पाटो एउटा प्रमुख कुरा हो भन्ने कुरा बुझौं। मुखले नबोले पनि केन्द्रको महत्व र उहाँको जुझारुपनलाई थोरै भए पनि भरथेग गरौं।