‘दाइ मोटर पुग्यो भने हाम्रो गाउँ कस्तो होला है?’
बस चढ्ने पैसाले पाउरोटी खाँदै त्यतिबेला ग्राभेल बाटोमा दाङको घोराहीबाट दिदीको घर हेमन्तपुर हिँडिरहँदा त्यही बसले छरेको धूलो झार्दै केशव दाइतिर फर्किएर सोधेको यो प्रश्न मेरो दिमागमा अझै ताजै छ।
यो ०३८/३९ साल तिरको कुरा हो।
बस नचढेर त्यो पैसाले पाउरोटी खाँदै दुई घण्टा हिँड्ने निधो भएको थियो दाजुभाइको।
पाउरोटी पहिलोचोटि दाङ आएपछि देखेका यी मनुवाहरूलाई यसको स्वाद बिछट्टै मन परेको थियो। दुई दिन पूरै २४, २५ घण्टा उकालो ओह्रालो गरेर रुकुमबाट दाङ आएका दुई भाइलाई पाउरोटीको त्यो नविन स्वादको अघि दुई घण्टाको हिँडाइ के पो मतलब हुन्थ्यो र!
आफूलाई नचढेको झोंकमा बाटो वरिपरि हिँड्ने पैदल यात्रुहरूलाई धूलो छर्दै हिँडिरहेका बसहरूले फालेको धूलो झार्दै र पाउरोटी खाँदै हिँड्दाको त्यो क्षण भने अझै सम्झिँदा रोमाञ्चित बनाउने गरी स्मृति पटलमा लुकेको छ।
बाटो पुगे विकास हुन्थ्यो, यी लामा र अग्ला अग्ला पहाडहरू हिँड्नु पर्दैनथ्यो भन्ने लाग्थ्यो मलाई त्यो बेला।
पाउरोटी पनि उतै पाइन्थ्यो र दाङ आउँदाको दुई दिनको सास्ती पनि हुँदैनथ्यो भन्ने थियो।
दाङबाट घर रुकुमको चौरजहारी जाँदा ५ किलो चिनी र ५ लिटर मट्टितेल कम्तीमा बोकेर जानै पर्थ्यो। नत्र कति महिनाको पढाइ ठन्डाराम!
प्रत्येक पटक लगिने उही पुरानो प्लास्टिकको जर्किन र राम्ररी नलाग्ने बिर्कोको कारण मट्टितेलले ढाड नभिजेको यात्रा नै हुँदैनथ्यो। घर पुग्दासम्म सयौंचोटि कहिले प्लास्टिक त कहिले कागजले बिर्को लाउने प्रयत्न जारी रहन्थ्यो, चुहिन भने छोड्दैनथ्यो।
मट्टितेल चुहिएर पसिनासँगै ढाड र जाङ्गे (हाफ पाइन्ट) हुँदै चप्पलसम्म पुग्दा पूरै जिउ नै मट्टितेलमय हुन्थ्यो। ठाडो उकालो, गर्मी र मट्टितेलको चहर्याई कम्ती पीडादायक हुँदैनथ्यो।
यस्तो पीडा कहिलेकाहीँको थियो। सधैंको पीडा भने अग्ला काला पहाडहरू थिए, जसले बस आउने बाटो रोकेका थिए।
पाउरोटी आउने बाकस रोकेका थिए। बिहानै तिनै पहाडहरू देखिन्थे। कही कहीँबाट च्याए जस्तो लाग्ने पृष्ठभूमिका केही हिम चुचुराहरू बाहेक मेरो गाउँ वरिपरि यस्तै काला पहाडहरूले घेरिएको थियो।
मामा घर जाँदा यिनै पहाड, दिदी भेट्न जाँदा यिनै पहाड, मन्दिर, सदरमुकाम जता हिँडे पनि अगाडि ठिङ्ग उभिने यी अग्ला, होचा, लामा छोटा पहाडहरू मात्रै देखिन्थे।
सधैं ठोक्किन तम्तयार देखिने यी पहाडहरू मेरा सबै रहरहरूका बाधक झैं लाग्थे मलाई।
पढ्न गएपछि यिनै पहाडहरूले रोकेर राख्थे घरबाट आएको चिठी, महिनौ लाग्थ्यो घरको खबर थाहा पाउन। बा,आमा तिनै पहाडहरू हेरेर पर्खिनुहुन्थ्यो, कुन बेला नाघेर आउला छोराले ती पहाडहरू भनेर।
दसैंको बेला घर जाँदा चढेको पत्तै हुँदैनथ्यो ती अग्ला र ठाडा पहाडहरू । घर छोडेर जाँदा फेरि उस्तै अग्ला र ठाडा हुन्थे डाँडाहरू – फेरि ठिङ्ग उभिएको डरलाग्दो राक्षस जस्तो।
१२, १३ वर्ष थिएँ होला सायद म त्यो बेला।
दाङ दिदीको घर आएको बेला एक जना मेरै उमेरका दिदीका छिमेकीले ‘पहाडको भिरालोमा तिमीहरू कसरी घर बनाएर बस्छौ?’ भनेर सोधे।
मैले उत्तर त दिएँ र उनको प्रश्नमा हाँसेँ पनि मनमनै। तर बिझायो मलाई पहाडमा घर भएको कुराले। हुन पनि यिनै पहाडले हाम्रो स्कुल सुगम ठाउँमा जस्तो राम्रो थिएन। यिनै पहाडले सहरका मान्छेहरूले हेप्थे हामीलाई। यिनै पहाड छलेर उच्च शिक्षा पढ्न जाने हैसियत थिएन हाम्रो। यस्तै यस्तै अनेक पीरहरू जोडिएका थिए यी काला पहाडहरूसँग।
अब अहिले समय फेरिएको छ। सात समुन्द्र पारि पुगेको छु म, यता मुश्किलले देखिन्छन् डाँडाहरू।
बिदाको दिन अलि ठूला ढिस्काहरू चढ्दा पनि गाउँ पुगे जस्तै लाग्छ। बिदा मनाउन टाढा जानु परे पनि पहाड भएको ठाउँतिर जान मन लाग्छ। देख्दा मात्रै अग्ला पहाडहरू मन पग्लिएर आउँछ।
***
१४ वर्षपछि बल्ल बल्ल साइत जुर्यो क्यानडाबाट नेपाल जाने।
गाउँ नगएको त अझै २० वर्ष जति नै भयो होला सायद। यति धेरै “मिस” भइरहेको थियो कि फर्किएर आउँदा १४ वर्ष लगातार विदेश बस्दा बनेको गाउँको सुन्दर चित्र कतै कच्याक कुचुक होला या कतै दाग लाग्ला कि भन्ने लागेर जान डर लागिरहेको थियो। कल्पना सधैं यथार्थभन्दा बढी सुन्दर हुन्छ भनेर मन घच्घच्याउँथ्यो बेला बेलामा।
पोका पन्तुरो बाँध्नु, किनमेलको धपेडी, कौतूहल सबैलाई उस्तै हो – हामीलाई पनि भयो।
‘फलानोलाई त किन्न नै बिर्सिएछ नि’, बुढीको उड्नु अघिसम्मै नाम सम्झिने क्रम जारी नै थियो उपहारको लागि।
प्लेनले भुइँ छोड्यो र यात्रा सुरू भयो। मस्तिष्कमा ठेलमठेल गर्न थाले मेरा गाँउका सम्झनाका पत्र पत्र भएर बसेका ठेलीहरू !
अझ सही यात्रा सुरू भयो कोहलपुरबाट रुकुम चौरजहारीको लागि हर्रेको उकालो लाग्दा। यो पटक भने पैदल नभएर मोटर यात्रा गरिरहेको थिएँ म गाउँसम्मकै।
नागबेली भएर बगेका नदी, खोलाहरूबाट माथि माथि पुग्न आतुर शिर उचालिरहेका डाँडाहरूको जब सुरू भयो घम्साघम्सी र मेरा आँखाभरि जब आयो पहाडहरूको जुलुस - सुरू भयो असली यात्रा।
एक से एक सुन्दर पहाडहरू मलाई नै छुन खोजे झैं मतिरै आइरहे जस्तो लागिरह्यो मलाई।
घुमी घुमी चारैतिर हेर्न थाले म पहाडहरूको जुलुस।
आहा ! हरिया, काला र पर परबाट आफैंतिर आउन सोझिएका सेता पहाडहरू घरी क्यामरामा र घरी मनमा राख्न प्रयत्न गरिरहेँ मैले – कहिल्यै नसकिने पहाडका मनोरम लामहरू !
नजिकै आएर छोएर जाने हुस्सु, हुस्सुभित्र बडो चञ्चल बनेर लुकामारी खेलिरहेका पहाडहरू, पहाडसँगै लुक्दै बग्दै अनन्त यात्रामा निस्किएका खोला र नदीहरू म हेरिरहें निकै बेर।
खोला र नदीहरूको नियति मिल्दोजुल्दो लाग्यो आफूसँग। मूलबाट बग्दै जानुको पनि आफ्नै पीडा हुँदो रहेछ!
नेपालको यो यात्रा सकी फर्किएर आएको पनि लगभग एक वर्ष नै हुन लाग्यो, लेख्ने भन्दा भन्दै सकिएन। नसकिएको भन्दा पनि डर लाग्यो – अनुभूति र लेखाइ बीचको अन्तरले उब्जाउने प्रश्नहरूको। अहिले न सम्झिँदा आउँछ त्यो सुन्दर दृश्य पूरै, न सय भागको दस भाग नै उतार्न सक्छु म यहाँ शब्दमा त्यो अनुभूति।
जीवनमा घटित सुन्दर क्षणहरूको महत्व सायद त्यसैले धेरै हुने होला।
***
पहाड चढ्दा र झर्दाको अनुभूति फरक हुने रहेछ। चढ्दा नजिकिने पहाडहरू एक एक गरेर हराउँदै जाने रहेछन् झर्दा– जीवनबाट सुन्दर क्षणहरू हराए झैं। हर्रेको लेकबाट छिन्चुतिर ओह्रालो झर्दा यस्तै लागिरह्यो मलाई।
मेरा परिचित पहाडहरू, मैले खेलेर हुर्किएको भेरी नदीको किनार र मेरो गाउँ पुग्न अझै बाँकी नै थियो। आफू हिँडेको बाटो, चढेको रूख, खेलेका चउरहरू, पानी पिउने गरेको पँधेरो सबै सबै एक एक गरेर नाच्न थाले दिमागमा। साथी भाइ, आफन्तहरू कस्ता भए होलान् भन्ने खुलदुली त्यत्तिकै थियो मनमा।
मोटर बाटो पुगेदेखि गाउँ गएको थिइनँ, बाटो पुगेको मेरो गाउँ हेर्ने उत्सुकता त्यत्तिकै।
भेरीको किनारै किनार छिन्चुबाट चौरजहारीसम्म अनगिन्ती पहाडहरूले स्वागत गर्दै र छोड्दै गए। हेरेर न अघाउने भएछ मन अहिले त। हर्रेदेखि सुरू भएको मेरो भेगतिरका पहाडहरू छिचोल्दै गाउँसम्मै पुग्दा पनि मन भरिएन। किन तिनै पहाडतिर लुकेर बसिन भन्ने भइरह्यो घरी घरी।
विकासका बाधक होइन रहेछन् पहाड, मेरा रहरहरू छेक्ने तगारो होइन रहेछन्। मेरा चिठी पत्र लुकाउने, मलाई अपहेलित बनाउने होइन रहेछन् पहाड। मेरो गाउँमा मलाई मनपर्ने पाउरोटी पुग्न नदिएको होइन रहेछ पहाडले, हिँड्नु, उकालो चढ्नु दु:ख होइन रहेछ।
जब अहिले छैनन् मेरा समीप ती सुन्दर पहाडहरू, मैले पहाड चिन्न थालेको छु। मेरा रहर छेक्ने पहाडहरू नै अब मेरा रहर भएका छन्। मेरो सपना, गन्तव्य भएका छन्।
ती दुख्ने पहाडहरू पीडा हैन सुख पो रहेछन्- भोग्न जान्दा। हरेक दिन झ्यालबाट हेर्छु र म कल्पना गर्छु ती पहाडहरूको। मेरो आत्मा बसेको छ त्यतै। हावा चल्दा कमसेकम त्यतैबाट आए झैं लाग्छ यो दूर देशमा मेरो प्राण वायु।