फ्रान्समा मंगलबारसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको रिपोर्ट छ।
संक्रमणका कारण मृतकसंख्या धेरै भएका इटाली, स्पेन र अमेरिकापछि फ्रान्स चौथो देश हो।
रोयटर्समा प्रकाशित समाचारका अनुसार त्यहाँ कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या पुन बढ्न थालेको छ।
तर पछिल्लो २४ घण्टामा सघन उपचार कक्षमा भर्ना हुने बिरामीको संख्या भने ६,८२१ बाट ६, ७३० मा झरेको छ। यसरी त्यहाँ लगातार बिरामी घटेको छैटौं पटक हो।
फ्रान्स मार्च १७ देखि लकडाउनमा छ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले सोमबारबाट लकडाउनको अवधि पुनः मे ११ सम्मलाई बढाएका छन्।
उनले कोरोना प्रकोप केही शान्त भएता पनि यसले खडा गरेको चुनौती सामाना गर्न प्रारम्भिक तयारीमा नभएका कारण लकडाउन थप गरिएको बताए।
सार्वजनिक स्वास्थ्य प्राधिकरणका प्रमुख जेरोम स्यालोमोनले पत्रकार सम्मेलनमा कोरोनाका कारण मृत्यु संख्या तुलनात्मक हिसाबमा मंगलबार ५ प्रतिशतले वृद्धि भएको बताएका छन्।
आइतबार र सोमबार वृद्धिदर ४ प्रतिशत थियो। यो सँगै फ्रान्समा मृतक संख्या १५,७२९ पुगेको छ।
उनले संक्रमितको संख्या पनि बढेको बताए।
आइतबार १.७ प्रतिशतले बढेका संक्रमित सोमबार २.८ प्रतिशतले बढेको थियो भने मंगलबार ५.३ प्रतिशतले। यो
सँगै फ्रान्समा कोरोना संक्रमित १,०३,५७३ पुगेको छ।
यी बाहेकका नर्सिङ होममा २६,६८० जना कोरोना संक्रमित हुनसक्ने आशंका गरिएको छ।
स्यालोमोनले फ्रान्सका ५ देखि १० प्रतिशत नागरिकमा कोरोना संक्रमण हुनसक्ने बताएका छन्।