फ्रान्सले जनवरी २४ मा पहिलो पटक आफ्नो मुलुकमा तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गर्यो।
तर, नयाँ खुलासा अनुसार फ्रान्सले भनेको भन्दा झण्डै एक महिना अगाडि नै त्यहाँ कोरोना भाइरसका संक्रमित रहेको पुष्टि भएको छ।
बिबिसीमा प्रकाशित समाचारका अनुसार पेरिस नजिक शहरमा डिसेम्बर २७ मा निमोनियाको परीक्षण गरिएका एक व्यक्ति कोरोना संक्रमित भएको खुलेपछि त्यहाँ कोरोना संक्रमण महिनादिन अगाडिबाट सुरु भएको खुलेको हो।
ती व्यक्तिका डाक्टरले यसको खुलासा फ्रान्सेली टिभी बीएफएमटीभीसँग गरेका हुन्।
पेरिसको नजिकै एभिसिन र जीन-वर्डियर अस्पतालका आपतकालीन चिकित्सा प्रमुख डाक्टर यवेस कोहेनले त्यस समयमा लिइएको स्वाबलाई हालसालै परीक्षण गर्दा कोरोना परीक्षण पोजेटिभ आएको फ्रान्सेली मिडियालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
समाचारका अनुसार डाक्टर यवेसले डिसेम्बर र जनवरीमा फ्लूका लक्षण देखिएका १४ बिरामीहरू स्वाबको पुनः परीक्षण गर्दा उनीहरू मध्ये एकमा कोरोना भाइरस सकारात्मक देखिएको हो।
सो परीक्षणको विस्तृत रिपोर्ट भने यसै साताको अन्तमा आउने जनाइएको छ। रिपोर्टलाई एन्टिमाइक्रोबियल एजेन्टहरूको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुनेछ।
५० को उमेरमा रहेका ती पुरुष अहिले पूर्णरूपमा स्वस्थ छन्।
तर उनले आफू कुनै पनि संक्रमित क्षेत्रमा नपुगेकाले कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा स्पष्ट नभएको बताएका छन्।
फ्रान्सले प्रमाणित गरेका पहिला तीन संक्रमितमा दुई जना भाइरसको महामारी सुरू भएको चीनको वुहानबाट फर्किएका थिए भने तेश्रा व्यक्ति उनीहरूकै परिवारका सदस्य हुन्।