फ्रान्सको सबै भन्दा ठुलो चिडियाखाना ( Zoo de Beauval ) मा राखिएको पाण्डाले बच्चा जन्माएको खबरले यो हप्ताभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चा पायो। यो घटना प्रत्यक्ष हेर्नकै लागि मात्र फ्रान्स तथा अन्य देशबाट चिडियाखानासम्म हजारौं पर्यटकहरु आए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुले निकै महत्त्वका साथ यस सम्बन्धी समाचारहरु प्रशारण गरे। फ्रान्सले यो घटनालाई फ्रान्सको प्रतिष्ठाको रुपमा लिइरहेको छ किनकि फ्रान्समा पाण्डा जन्मिएको यो पहिलो पटक हो। सबै तह र तप्काका फ्रेन्चहरु आफ्नो देशमा पाण्डा जन्मिएकोमा गर्व गरिरहेका छन्। यो घटनाले संसारमा लोपोन्मुख (दुर्लभ) मानिएका प्राणीहरुको कति ठूलो महत्त्व हुँदोरहेछ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ। यो घटनाको पृष्ठभूमि, बच्चा जन्माउन गरिएका प्रयास अनि वास्तविकता र यसको आर्थिक पक्षका बारेमा यहाँ संक्षिप्त चर्चा गरिएको छ :
अ) पृष्ठभूमि: सन् २०१२ मा चीनले फ्रान्सलाई एक जोडी पाण्डा बाहालमा प्रदान गरेको थियो। प्रतिवर्ष आठ लाख बहत्तर हजार युरो (करिब १० करोड पचास लाख रुपैयाँ) तिर्ने गरी फ्रान्सले प्राप्त गरेको यो जोडी पाण्डालाइ फ्रान्सकै सबैभन्दा ठूलो चिडियाखाना बोभालमा राखिएको छ। पोथी पाण्डाको नाम हुआन हुआन ( Huan Huan) हो भने भाले पाण्डाको नाम युआन जी ( Yuan Zi ) हो। संसारकै दुर्लभ यो जनवारको मुख्य भूमि चीन हो भने संसारका केवल २२ वटा चिडियाखानाहरुमा पाण्डाहरु राखिएका छन्। यो पाण्डाको उपस्थितिसँगै बोभाल चिडियाखानामा पर्यटकको सङ्ख्या वार्षिक ६०% ले बृद्धि भएको थियो।
आ ) गर्भधारण र त्यसपछिका पाँच महिना: पाण्डाहरुको प्रजनन धेरै जटिल छ। वर्षमा एक पटक केवल ४८ घण्टाको अवधिभित्र मात्र पोथी पाण्डा गर्भधारणको लागि तयार हुने भएकोले सोही अवधिमा प्राविधिकहरुद्वारा कृतिम गर्भधारण गराइएको थियो। मार्च महिनामा गराइएको कृतिम गर्भधानपछि ६ जना बिशेषज्ञद्वारा नियमित रेखदेख गरिंदै आएको थियो। बच्चाहरु जन्मनुभन्दा केही दिन अगाडि चीनबाट दुई जना अनुभवी सुसारेहरु ल्याइएको छ। उनीहरु अहिले शिशु र आमाको स्याहार सुसारमा व्यस्त छन्। ०४ / ०८ / २०१७ राति ११ बजेतिर करिब ३० मिनेटको अन्तरमा दुईवटा बच्चाहरु जन्मिएकोमा एक मात्र जीवित रहन पुग्यो। हाल आमा र जीवित बच्चाको स्वास्थ्य स्थिति सामान्य छ।
इ ) आर्थिक पक्ष : प्रतिवर्ष ८ लाख ७२ हजार युरोका दरले १० वर्षमा ८७ लाख २० हजार युरो ( १ अरब ५ करोड रुपैयाँ) फ्रान्सले चीनलाई एक जोडी पाण्डाको बाहाल रकम तिर्नु पर्ने छ। हाल जन्मेको नयाँ बच्चामा पनि चीनकै स्वामित्व हुनेछ। परम्पराअनुसार पाण्डाको नयाँ शिशुको नामाकरण चीनकी प्रथम महिलाद्वारा गरिने छ। चीनकी प्रथम महिलाले अधिकार प्रत्यायोजन गरेको खण्डमा फ्रान्सकी प्रथम महिलाले उक्त शिशुको नामाकरण गर्ने छन्। तीन वर्षपछि त्यो बच्चा चीनलाइ फिर्ता दिइने छ। तर, तीन वर्षसम्म पाण्डाको बच्चा फ्रान्समा रहने भएकोले यसवापत पनि फ्रान्सले चीनलाई थप रकम तिर्नुपर्ने छ। थप रकम सम्बन्धी चीन सरकार र बोभाल चिडियाखानाबीच छिट्टै वार्ता हुनेछ। यसरी पाण्डाको जोडी र त्यसको बच्चा चिडियाखानामा राखेवापत फ्रान्सले चीनलाई अरबौ रकम तिर्नु पर्ने छ। यसरी फ्रान्सले आफ्नो चिडियाखानामा पाण्डालाई राख्दा अरबौ कमाइरहेको कुरा सजिलै अनुमान गर्न सकिन्छ। नयाँ शिशुको जन्मसँगै उक्त शिशुको बृद्धि-विकासको अवस्थालाई चौबिसै घण्टा प्रत्यक्ष देखाउने व्यवस्था गरिएको छ। यसका लागि पाँच वटा भिडिओ क्यामरा, एउटा माइकको सहयोगद्वारा चिडियाखाना भित्र रहेको एउटा ठूलो पर्दामा यी पान्डाहरुको अवस्था र गतिविधि देख्न सकिने व्यवस्था मिलाइएको छ। नयाँ शिशुको जन्मसँगै चिडियाखानामा पर्यटकहरुको सङ्ख्या बढ्ने कुरा निश्चित छ।
भनिन्छ, नेपालमा पनि धेरै लोपोन्मुख पशुपंक्षी तथा जनावरहरु छन्। तिनीहरुको महत्त्व नबुझ्दा हामीले यस्ता पशुपंक्षी तथा जनावरहरु सित्तैमा गुमाएका हुन सक्छौं। यस घटनाबाट नेपालले लोपोन्मुख पशुपंक्षी तथा जनवारहरुको संरक्षण र व्यवसायीकरण सम्बन्धमा धेरै सिक्नुपर्ने देखिन्छ ।