तपाईं व्यवसायिक रूपमा चल्ला उत्पादन गर्ने सोंचमा हुनुहुन्छ? व्यवसाय गर्न गुणस्तरीय मेसिन कहाँ पाइन्छ भनेर सोच्दै हुनुहुन्छ? त्यसो हो भने भरतपुरका दुई साथी मिलेर चल्ला कोरल्ने मेसिन बनाउँदै आएका छन्।
दुई युवा सुरेन्द्र कमली र बिधान कोइरालाले आधुनिक कृषि तथा पोल्ट्री क्षेत्रमा प्रयोग हुने यन्त्र/उपकरण बनाउने उद्देश्यले ‘आयोटा एग्रो ईलेक्ट्रो मेसिनरी हब’ कम्पनी स्थापना गरेका हुन्।
तीन वर्षदेखि उनीहरुले इन्कुबेटर (अण्डाबाट चल्ला कोरल्ने मेसिन) उत्पादन गर्दै आइरहेका छन्।
नेपाली जनशक्तिबाट तयार पारिएको यस ‘आयोटा इन्कुबेटर’को गुणस्तर आयातित मेसिनभन्दा उच्च गुणस्तरीय रहेको छ। साथै सस्तो मूल्यमा तयार पारिएको कम्पनीले बताएको छ।
त्यहाँ दुर्गम तथा साना किसानको लागि पाँच सयदेखि १५ सयसम्म चल्ला निकाल्न मिल्ने र ठूला व्यवसायिक फर्मका लागि १० हजारदेखि एक लाख बढी चल्ला निकाल्न मिल्ने मेसिन तयार गरिन्छ।
मोबाइल तथा कम्प्युटरबाट किसानले जुनसुकै ठाउँबाट यो मेसिन सञ्चालन गर्न सक्छन्। किसानले मेसिन कसरी संचालन गरेको छ। काम गरेको छ वा छैन कम्पनीले सजिलै सर्भरबाट हेर्न मिल्छ।
कम्पनीमा प्रत्यक्ष रूपमा २० जनालाई रोजगारी दिइएको छ। हालसम्म देशको ६० बढी जिल्लामा दुई सय बढी मेसिन बिक्री वितरण गरिसकेको कम्पनीको भनाइ छ।
यो मेसिनबाट अहिले सबै ठाउँ गरेर प्रति हप्ता ५ लाख माथि चल्ला निस्किन्छ। यसअघि धेरैजसो ठूला फार्महरूमा बढी क्षमताका मेसिन भारतबाट आयात हुँदै आएको थियो।
नेपालमै मेसिन बनेपछि भने अन्डा र मासुको लागत घटाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ।