व्यावसायिक घराना चौधरी समूहले सम्राट सिमेन्टमा लगानी गर्ने भएको छ।
सम्राट सिमेन्टका लगानीकर्ता मुकुन्दप्रसाद तिमिल्सिना आफ्नो सेयर बिक्री गरेर बाहिरिने भएपछि चौधरी समूहले उक्त सेयर खरिद गर्ने भएको हो।
सम्राटको सेयर खरिद गर्ने सहमति भएपनि कानूनी प्रक्रिया भने बाँकी रहेको समूहका प्रवक्ता मधुसुदन पौडेलले जानकारी दिए।
दिनमा पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यबाट सुरु भएको सम्राट सिमेन्टको अहिलेको क्षमता प्रतिदिन ४५ सय टन रहेको छ।
मुकुन्दप्रसाद तिमिल्सिना, वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा र सुधिर तिमिल्सिनाको समूहले स्थापना गरेको सम्राटबाट अध्यक्षसमेत रहेका तिमिल्सिना बाहिरिएका छन्।
कूल ५० प्रतिशत सेयर होल्ड गरेको समूह बाहिरिएपछि चौधरी समूहसहितको समूह सोही सेयर लिएर प्रवेश गर्ने छ। कूल १६ अर्ब लगानी रहेको सम्राटमा चौधरी समूहको प्रवेशसँगै क्षमता विस्तार हुने विश्वास गरिएको छ।
हाल सिजी ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने छुट्टै कम्पनीसमेत सञ्चालन गरिरहेको चौधरी समूहले सम्राटलाई देशकै ठूलो सिमेन्ट उद्योग बनाउने महात्वाकांक्षी लक्ष्य बोकेर प्रवेश गर्ने भएको छ।