बजारमा खाने तेलको मूल्य फेरि बढेको छ। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार खाने तेलको मूल्य लिटरमै १० देखि १५ रुपैयाँ बढेको हो।
केही दिनअघि प्रतिलिटर २३५ देखि २४० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जानकारी दिएको छ।
यसअघि लिटरको २१५ देखि २२० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३० सम्म पुगेको छ।
संघका अनुसार तोरीको तेलमा पनि ब्राण्डअनुसार १० देखि १५ रुपैयाँ बढेको छ।
तेल प्रसोधन उद्योगीहरुले कच्चा पदार्थको मूल्यवृद्धि भएकै कारण तेलको वृद्धि भएको बताएको छ।
खुद्रा व्यापारीहरु भने भारतमा तेल मंहगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताउँछन्।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकासिएको बताउँछन्।
‘यतिबेला भातरमा खानेतेलको मूल्य आकासिएको छ। यहाँका प्रशोधन उद्योगीहरुले नेपाली बजारमा खटाई खटाई तेल पठाउने तर ठूलो मात्रामा भारत पठाउने प्रवृति बढेको छ। यसले पनि तेल महंगो भएको अनुमान हामीले गरेका छौँ,’ उनले भने।
खाने तेलको मूल्य वृद्धिबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभाग भने बेखबर छ। विभागलाई पछिल्लो समयको मूल्य वृद्धिबारे जानकारी नभएको विभागका प्रवक्ता शिवराज सेडाईले बताए।
‘हामीलाई पछिल्लो मूल्य वृद्धिबारे जानकारी छैन। हामी अनुगमन गर्छौं,’ प्रवक्ता सेडाईंले सेतोपाटीसँग भने।
केही समय अघिदेखि खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि हुँदै आएको छ। यस अघि तेलको अस्वभाविक मूल्य वृद्धिबारे उपभोक्ताहित संरक्षण विभागले अनुगमन गरेको थियो।
विभागले तेलको अस्वभाविक मूल्य वृद्धि गर्ने केही व्यापारी तथा उद्योगीलाई जरिवाना समेत गरेको थियो। त्यसपछि केही समय बजारमा तेलको मूल्य घटेको थियो। केही समयअघि लिटरमा २० रुपैयाँसम्म घटेको तेलको मूल्य फेरि आकासिएको हो।