बुद्ध एयरले देशभित्रका एक सहरबाट अर्को सहरमा उडान सुरु गर्ने भएको छ।
हाल अधिकांस उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको हो।
पोखरा-भैरहवा, पोखरा-सिमरा, पोखरा-नेपालगञ्ज र भरतपुर-भैरहवा उडान गर्ने बुद्ध एयरले योजना बनाएको छ।
अहिलेसम्म काठमाडौंबाट हुने उडानमा मात्र धेरै ट्राफिक देखिएकाले आन्तरिक उडान गर्ने एयरलाइन्सले नयाँ उडान यही रुटमा थपिरहेका छन्।
९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।
बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।