टेलिभिजन प्रशारण सेवा दिंदै आएका दुई कम्पनी डिशहोम र प्रभु टिभी एक आपसनमा गाभिने तयारी गरेका छन्।
दुई सेवाप्रदायका लगानीकर्ताबीचमा मर्जरका लागि छलफल भइरहेको छ।
टेलिभिजन,इन्टरनेट तथा ओटिटी सेवा दिइरहेका यी दुई कम्पनी एक आपसमा गाभिएर एउटै सेवाप्रदायक हुनका लागि छलफल गरिहेका दुवै तर्फका लगानीकर्ताहरुले बताएका छन्।
डिशहोमका लगानीकर्तासमेत रहेका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले कम्पनी मर्जरका लागि छलफल भइरहेको बताए।
'छलफल त अहिले पनि चलिरहेको छ। यस्तो छलफल अलि समय अघिदेखि चलेको हो। हामी एउटा कुरामा भने सहमत छौं। अहिलेको अवस्थामा एकैप्रकारको सेवा दिनका लागि धेरै कम्पनी भएर हुँदैन भन्नेमा' आचार्यले सेतोपाटीसँग भने।
स्याटेलाइट प्रविधिबाट सहरदेखि गाउँसम्म टेलिभिजन सेवा दिंदै आएको डिशहोम र डिजिटल भिडिओ प्रशारण(डिभिबी-टी२) प्रविधिबाट सेवा दिइरहेको प्रभु टिभीले पछिल्लो समय अप्टिकल फाइबरबाट इन्टरनेट सेवा पनि दिइरहेका छन्।
पछिल्लो समय क्लिनफिड नीति नेपालमा लागू भएपछि टेलिभिजन सेवाको व्यापार खुम्चिएको र सिमित ग्राहकबा बीचमा धेरै सेवप्रदायक हुँदा घाटमात्र हुने दुबै कम्पनी निष्कर्षमा पुगेका छन्।
'एकिकृत भएर सेवा दिनुको बिकल्प छैन। हामी आफै सस्टेन हुनका लागि पनि एक हुनुपर्छ' आचार्यले सेतोपाटीसँग भने।
प्रभु टिभीको मुख्य प्रबर्द्धक प्रभु समूह हो भने डिशहोममा आइएमइ समूह, सिइओ आचार्य र प्रभु समूहको पनि लगानी रहेको छ। प्रबर्द्धक समेत एउटै भएकाले मर्जरका लागि छलफल अघि बढेको आचार्यको भनाइ छ।