नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ।
गएको पुसमा नेपाल एयरलाइन्सको 'एन नाइन–एएलजेड' नेपाली दर्ता नम्बर भएको एयरबस–३३० मकालु जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि निर्माता कम्पनीले प्रतिस्थापन गर्नुपर्ने ठहर गरेको थियो।
सोही जहाजको गियर प्रतिस्थापन लगायतका अन्य पार्टस राख्नका लागि २२ करोड खर्च हुने महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।
एयरबसको सिफारिस लगत्तै गियर प्रतिस्थापनका लागि आवश्यक खर्चका लागि अध्ययन गर्न आन्तरिक एसिसमेन्टबाट ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। गियरसँगै अन्य कामका लागि थप रकम आवश्यक हुने एयरलाइन्सको आन्तरिक एसिसमेन्ट थियो।
तर खुला प्रतिस्पर्धाबाट कम्पनी छनौट गर्दा अब कूल २२ करोड खर्च हुने देखिएको पौडेलले जानकारी दिए।
सन् २०२१ को ८ जनवरीमा कतारको दोहाबाट आएको उक्त जहाज काठमाडौंमा अवतरण गर्दा हेभी ल्यान्डिङ गरिएको थियो। हेभी ल्यान्डिङको विषयलाई जानकारी गराएर तत्काल सिचेकमा पठाउनुपर्ने भएपनि उक्त उडानका क्याप्टेनले जानकारी लुकाएका थिए।
उक्त घटनापछि पनि निरन्तर उडान गरिएको थियो। तर पछि जहाज निर्माता कम्पनीले आफ्नो सूचना प्रणालीबाट हेभी ल्यान्डिको जानकारी एयरलाइन्सलाई गराएको थियो। उक्त जहाज अहिलेसम्म पनि ग्राउन्डेड छ।
उक्त उडान दलका दुई पाइलटलाई कारबाही गरिएको पौडेलले जानकारी दिए। निश्चित उडान प्रतिबन्धदेखि तलब सुविधा बृद्धिमा रोक लगाइएको उनले जानकारी दिए।