नेपाल राष्ट्र बैंकले हालै गरेको एक अध्ययनले नेपालको सिमेन्ट उद्योगमा थप विदेशी लगानी आवश्यक भएको निष्कर्ष निकालेको छ।
उत्पादकत्व धेरै तथा लागत न्यून भएकालेव निर्यातका लागि पनि प्रतिस्पर्धी हुनसक्ने भन्दै विदेशी लगानी आवश्यक रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ।
नेपालमा भएका सरकारी तथा निजी लगानीका उद्योगको तुलनामा विदेशी लगानीका उद्योगको नाफा धेरै भएको र यस्ता उद्योगको उत्पादन विदेशी बजारमा जानसक्ने सम्भावना प्रसस्त रहेको अध्ययनको निष्कर्ष छ।
नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी:आर्थिक सामाजिक प्रभावको अध्ययन नामको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
केन्द्रीय बैंकको सो अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार कूल ५५ उद्योग रहेका छन्। यी उद्योगसँग १ करोड ५० लाख टन उत्पादन क्षमता रहेको छ। यो भनेको नेपाली बजारको माग भन्दा धेरै क्षमता हो। बजारको माग ९० हजार ५० हजार टनको मात्र माग रहेको छ।
रोजगारी तथा आर्थिक गतिविध सिर्जना, आयात कटौति तथा प्रतिस्पर्धी उत्पादनका लागि पनि सिमेन्टमा विदेशी लगानी आवश्यक भएको अध्ययनको निष्कर्ष छ। यस्ता उद्योगबाट वातावरणीय समस्या थपिंदै गएपनि त्यस्ता असरलाई न्यूनीकरण गर्दै उत्पादन गर्नुपर्ने चुनौति रहेको अध्ययनको निष्कर्ष छ।
नेपालका सिमेन्ट उत्पादकहरुले भने बजारको मागभन्दा धेरै क्षमताका उद्योग अहिले नै स्थापना भएको सन्दर्भमा अब थप विदेशी लगानी आवश्यक नभएको बताउँदै आएका छन्।
अहिले नेपालमा होङ्सी शिवम् सिमेन्टमा बहुमत विदेशी लगानी छ भने मारुती र अर्घाखाँची सिमेन्टमा आंशिक लगानी छ। त्यस्तै निर्माणाधिन हुवासिन सिमेन्टमा भने पूर्ण विदेशी लगानी रहेको छ।