दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनकोे असर सिमावर्ती झापाको पर्यटन तथा होटल व्यवसायमा पनि परेको छ ।
छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै एक साता अघिदेखि जारी आन्दोलनका कारण सीमा नाकाका होटल तथा ट्राभलमा भारतीय ग्राहक र पर्यटकको आगमन ह्वात्तै घटेको छ । सीमामा रहेका करिब ६५ वटा ट्राभल व्यवसायी आवद्घ रहेको जिल्ला ट्राभल संघ, झापाका अनुसार अहिले जिल्लाभरिकै ट्राभल व्यवसायीहरुको आर्थिक कारोबार दयनीय छ ।
गोर्खाल्यान्ड आन्दोलनको असर ट्राभल व्यवसायमा प्रत्यक्ष देखिएको व्यवसायीहरु बताउँछन् । अहिले भारतीय पर्यटक नेपाल आउने र नेपाली पर्यटक भारत जाने भन्दा पनि अग्रिम टिकट रद्द गर्ने नै बढि हुने गरेको नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल, पूर्वाञ्चल क्षेत्रीय समितिका महासचिव उदयकुमार श्रेष्ठले बताए।
जिल्लाका अधिकांश ट्राभल व्यवसायी भारतीय पर्यटकका भरमा चलेका छन् । सीमावर्ती भारतीय नक्सलवाडी, सिलिगुडी, दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मिरिक, सिक्किम, कलकत्ता, गुजरात, बम्बईलगायतका ठाउँबाट पर्यटक नेपाल आउने गरेका थिए । तर, आन्दोलन दिन दिनै झन् आक्रमक बन्दैं गएपछि पर्यटकको आवतजावत कम हुँदै गएको व्यवसायीको भनाई छ । गोर्खाल्यान्ड आन्दोलनले नेपाली होटल व्यवसायीको कारोबार समेत चौपट्ट बनेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका महासचिव रामबहादुर तामाङले बताए।
गोरखाल्याण्ड आन्दोलनकै कारण व्यवसायमा ५० देखि ६५ प्रतिशतले गिरावट आएको अधिकाँश व्यवसायीको भनाई छ । ट्राभल र होटलमा हुने व्यापारको कूल कारोबारमध्ये ७० प्रतिशत कारोवार भारतीय ग्राहकसँग हुने बताईएको छ ।